Place for ads

Awareness

चिच्याएर वर मागिने कुर्घा मालिका मेला, यस्तो छ ५ हजार बर्ष पुरानो इतिहास



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: ‘मुसिकोट नगरपालिका। मनको पुकार कसैले सुनेन्, बुझेनन् चिच्चाएर वर माग्न आउँला मालिका।’ यो चर्चित लोक दोहोरी गायक एवं सर्जक वसन्त थापाको गीत हो।

थापाले गीतमा भने जस्तै चिच्याएर वर माग्ने विशेषताले कुर्घा मालिका प्रसिद्ध छ। मुसिकोट नगरपालिका-६, कुर्घामा अवस्थित मालिका भगवतिको मन्दिर गुल्मी सहित पश्चिम बाग्लुङ, अर्घाखाँची, प्युठान र पाल्पाका नागरिकको धार्मिक आस्थाको केन्द्र हो।

Get Vaccinated

विशेष गरेर कार्तिक शुक्ल चर्तुदशीका (बैकुण्ठ चर्तुदशीं) दिन मेला लाग्ने गर्दछ। बर्षभर एकादशी, औँसी, सोह्र श्रद्धा, स्वस्थानी र साउनभर बाहेक नियमित पुजा हुने गरेको मालिका भगवति मन्दिर व्यवस्थापन समिति अध्यक्ष झविराम शर्माले जानकारी दिए। उनले पछिल्लो समय बैकुण्ठ चर्तुदशीका अवसरमा विभिन्न प्रतियोगीता सहित तीन दिन मेला हुने बताए।

पहिले बर्षमा एक पटक कार्तिक शुक्ल चर्तुदशीका दिन रातमा मात्रै मेला हुने गर्दथ्यो। रातको समयमा । हजारौँ दर्शनार्थी। लडाँई झगडा बढि हुन्थ्यो। केहि बर्षदेखि नियमित पुजा सुरु गरेर भिड र घटना कम हुँदै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माको भनाई छ। मन्दिरमा बोकाको बलि र परेवा उडाउने प्रचलन रहेको छ।

मालिका मेलामा दर्शनार्थीको घुइँचो
मालिका मन्दिरको छेउँमै पहाडको ठुलो खोँच छ। जहाँ ढुङ्गाको कपेराका बिचबाट ठुलो पानी उम्रिएको छ। त्यहि खोँचकै कुनामा मालिका देवी छन् भन्ने जनविश्वास छ। जसका कारण सोहि ठाउँमा पुग्न र वर माग्न दर्शनार्थीको निकै ठुलो प्रतिस्पर्धा हुन्छ। इस्मा गाउँपालिका-४, दोहलीका कमल गुरुङ मालिका मेलामा परिवार सहित आएका थिए।

Awareness by SKF

गाडी रिर्जव गरेर राति आएका गुरुङले बिहान करिब ८ बजेतिर मात्रै पालो पाए। निकै ठुलो भिडकाबिच मालिकाको दर्शन गरे। केहिबेर पुजा गरेर वर मागे। ‘भिडमा वर माग्ने स्थानमा पुग्नै गाह्रो पर्छ। पुगेर बर मागेपछि मन निकै प्रफुल्ल हुन्छ,’ उनले भने, ‘ समय पाएसम्म प्रत्येक बर्ष आउने हो।’ विशेष गरेर लाहुरे बन्न युवकहरु, सन्तान माग्नेहरु र रोगबाट मुक्तिका लागि वर माग्नेहरु मालिका पुग्छन्ए। रेसुङ्गा नगरपालिका-१४, पराल्मीकी छली घर्ती पनि बैकुण्ठ चर्तुदशीका दिन बिहानै मालिका पुगिन।

एकजोर परेवा उडाएर वर मागिन्। उनले पहिले दुखमा परेवा उडाउने संकल्प गरेकाले पुरा भएपछि उडाउन आएको प्रतिक्रिया दिइन्। मालिका व्यवस्थापन समितिका अनुसार मालिका मेला अवधिभर करिव तीन हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। तर, मालिका मेलाको व्यावस्थापन अझै राम्रो हुन नसकेको दर्शनार्थीको गुनासो छ।

महिला पुरुष, वृद्धवृद्धा र अपांगहरुको लाइन व्यवस्थापन र मन्दिरसम्म आवतजावत कठिनाइ रहेको छ। ‘स्थानीय र आयोजक मेला व्यवस्थापनका विषयमा अझै चनाखो बन्नुपर्यो। मन्दिर दर्शनमा भद्रगोल देखियो,‘ अर्घाखाँची छत्रदेव-७ का कमल पाण्डेयले भने, ‘नागरिकको सास्ती कम नगरे मेलाको महत्व हराउँछ।’

COVID-19

मालिका संरक्षणको आशा
पहिले साँघुरो सडक थियो। मन्दिर परिसर अव्यवस्थित भएकाले दर्शनार्थी सजिलो गरेर उभिन पाउँदैनथ्ये। मेलाको व्यवस्थापन राम्रो नभएकाले कैयौ लडाँई र झगडा भए। सडक पुगेपछि पनि सजिलो थिएन। मालिका परिसरमा पार्किङ थिएन। स्थानीय तहपछि मालिका संरक्षण र विकासको आशा जागेको छ।

मुसिकोट नगरपालिकाले मालिकाको संरक्षण र विकासको लागि ११ करोडको डिपिआर बनाएको छ। भुवाचिदी-मालिका-स्वाँरा सडकको स्तरोन्नती गरिरहेको छ। डिपिआर अनुसार अहिलेसम्म करिब तीन करोडको काम गरिएको मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्काले जानकारी दिए। पार्किङ स्थल, घेराबार, वाल र खेल मैदान निर्माणको काम गरिएको खड्काले बताए। उनले मन्दिर जिर्णोद्धारसहितका अझै थुप्रै काम बाँकी भएको बताए।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले मालिका, मुसिकोट दरबार, सालिमेबसहितका प्रसिद्ध धार्मिक स्थल र कफिसंग जोडेर कृषि पर्यटनलाई विकास गरिरहेको बताए। मालिका नजिक जिल्लामै पहिलो स्वाँरा गुरुङ होमस्टे रहेको छ। मुसिकोट नगरपालिकाकी उपपमेयर कमला शर्माले मालिका मन्दिर र स्वाँरा होमस्टेको संगै विकास र प्रर्वद्धन भइरहेको बताइन्।

डिपिआरसहितको मालिकाको काम र भुवाचिदी-मालिका-स्वाँरा सडक व्यवस्थित भएपछि मालिका मन्दिरको दर्शन र होमस्टे आउने पर्यटकको संख्यामा वृद्धि हुने शर्माले बताइन्।

५ हजार बर्ष पुरानो इतिहास
मालिकाका बारेमा कतिपय पुराणहरुमा चर्चा गरिएको छ। स्थानीयका अनुसार मालिका मन्दिर द्वापर युगको अन्त्यतिर स्थापना भएको हो। मालिका भगवति प्रकट भएर माल्याश्री नामका ऋषिलाई वरदान दिएपछि मालिकाको उत्पति भएको पाइन्छ। अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्यश्री ऋषिको आश्रम रहेको थियो। आश्रममा अरु साधुसन्त र अध्ययन गर्ने विद्यार्थी पनि रहेका थिए।

दैनिक पुजा पाठ र घृतधारा तथा चोरु हुन्थ्यो। त्यो स्थानमा अचानक खडेरी ठुलो पर्यो। पानीका मुहानहरु सुके। ताल र खोलाहरु सुकेपछि वनजङ्गल मासियो। वन्यजन्तु लोप हुन थाले। ठूलो हाहाकार मच्चिएपछि स्थानीय ऋषिसंग बिन्ती बिसाउन पुगे। ऋषिले मालिका भगवतिको आराधाना गरे। देवी प्रसन्न भएपछि ऋषिले पानी मागे।

एक्कासी पहरोबाट पानी निस्कियो। सोहि दिनदेखि ऋषिले मन्दिर स्थापना गरेर मालिका भगवति देवीको पुजा गर्न सुरु गरेको किंवदन्ती रहेको मालिकाका जानकार त्रिभुवन माविका शिक्षक दधिराम शर्मा पंगेनीले बताए। पहाडको भित्र मालिका भगवति देवी भएकाले चिच्याएर वर माग्ने धार्मिक जनविश्वास रहेको छ।

आफुले मालिका जान्न थाले देखिनै चिच्चाएर वर माग्ने गरिएको पंगेनीले बताए। उनका अनुसार त्यहि चिच्याएर वर माग्ने नामले प्रसिद्ध मालिका मन्दिरमा बैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्राम बस्ने, भजनकिर्तन गर्ने, सुनिमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको छ। गुल्मीन्यूज डटकमबाट यो खबर साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया