Awareness

स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मापन गर्दै मुसिकोट

खबर स्वास्थ्य खबर

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मापन गरेको छ। नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गरिरहेका सेवा तथा स्वास्थ्य संस्थाहरुमा हुनुपर्ने न्युनतम मापदण्डको अवस्थाका बारेमा मापन गर्न थालिएको हो।

न्युुनतम सेवा मापदण्ड अनुसार कार्य गर्न सकेमा स्वास्थ्य चौकीहरूको अवस्थामा सुधार हुने, सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सूचकाङ्कहरू माथि उकास्न सकिने हुनाले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मापन गर्न लागिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक पुष्कर गौतमले जानकारी दिनुभयो।

Get Vaccinated

स्वास्थ्य संस्थाको अहिलेको वस्तुगत अवस्थाको विवरण तैयार हुने र त्यसकै आधारमा कमजोर रहेका स्वास्थ्य संस्थाहरुको सुधार गर्न समेत यसले सहयोग पुग्ने उहाँको भनाई छ।

समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापन लगायतका विषय मापदण्ड मापनका आधार रहेका छन् । यसरी मापदण्ड मापन गरी उक्त स्वास्थ्य संस्थालाई अकं समेत प्रदान गरिने र आवश्यक सुझाव सल्लाहका साथै सुधार एवम् व्यवस्थापनको उपाय समेत खोजिने छ।

नगरपालिकाले गतवर्ष नगरभित्र रहेका ३ वटा स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड मापन गरेको थियो । जसमध्ये वडा नं ४ मा रहेको वडागाउँ स्वास्थ्य चौकी उत्कृष्ट ठहरिएको थियो।

चालु आर्थिक वर्षमा बाँकी ६ वटा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अर्थात स्वमूल्यांकन गरेको छ । जसमध्ये मु.न.पा ७ को वामीटक्सार स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । सुसासन र व्यवस्थापन, क्लिनिक सेवा व्यवस्थापन, स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापन, दरबन्दी विवरण, भौतिक अवस्था लगायतका सूचकलाई आधार मानि गरिएको मापनमा वामीटक्सार स्वास्थ्य चौकीले कुल अकको ६८ प्रतिशत अकंं प्राप्त गरेको छ।

Awareness by SKF

ती स्वास्थ्य संस्थाको न्यूनतम सेवा सुधारका निम्ति सुधारको योजना बनाईने नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले बताउनुभयो । ६ वटा स्वास्थ्य चौकी बाहेक गतवर्ष स्वमूल्यांकन गरिएका स्वास्थ्य संस्थाको भने प्रत्येक ६ महिनामा पुन त्यसको परिक्षण र प्रगतीबारे अनुमगन गरिने उहाँको भनाई छ।

मुसिकोट नगरपालिका भित्र १४ स्वास्थ्य संस्था रहेका छन् । ७ स्वास्थ्य चौकी,२ आधारभूत स्वास्थ्य सेवा केन्द्र,३ सहरी स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य ईकाई छन् ।