Awareness

Get Vaccinated

जून तारा साहित्य समाजद्वारा आयोजित श्रीकृष्ण शर्मा र सपना कुँवर बिचको मुक्तक दोहोरी



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

रातो टीका अनि जमरा लाउने हैन र बाबू
रमाउदै उकाली ओराली धाउने हैन र बाबू
धेरै भयो तिमीले घर छोडेर गएको पनि
यो पालि टीका जमारा लगाउने हैन र बाबू
– सपना कुँवर

रातो टीका जमरा शिरमा लाउँन पाउँदिन कि
रमाउँदै उकालीओराली धाउँन पाउँदिन कि
साहु पनि छैन आमा घुम्न गएको बेला पर्‍यो
यसपालिको दसैँमा घर आउँन पाउँदिन कि
– श्रीकृष्ण शर्मा

आमाले पकाएक दुई छाक खानु यत्ति भए पुग्छ
एउटा तस्बिर बरु खिचेर लानु यत्ति भए पुग्छ
अर्को पालि म बाँच्छु कि बाँच्दिन के भर बाबू?
मेरो हातको टीका मात्र लगाएर जानू यत्ति भए पुग्छ
– सपना कुँवर

पाउँछु कि आउँन झिनो आस बाँकी छ आमा
हजुरका लागि एकै मुठी सास बाँकी छ आमा
नआत्तिनू आमा रात रहे अग्राख पलाउँछ भन्थे
अझै पनि अलिकति विश्वास बाँकी छ आमा ।
– श्रीकृष्ण शर्मा

बुढेसकालमा सधै आँसु झारी म के गरोै छोरा?
जिन्दगीलाई दोधारमा पारी म के गरोै छोरा?
कि तँ आइजा नत्र म मरि दिन्छु बरु आज नै
निस्केर जा भन्छे सधै बुहारी म के गरोै छोरा?
– सपना कुँवर

निधारको फूल र रातो टीका सम्झन्छु आमा
बिदाईमा खसेका आँसु ढिका सम्झन्छु आमा
जसोतसो धान्नु आमा आएपछि सबै मिलाउँछु
हजुरबिना त्यो स्वर्ग पनि फिका सम्झन्छु आमा
– श्रीकृष्ण शर्मा

गरे पनि जति बल पैसा पुग्दैन म के गरोैँ?
धेरै गर्‍यो भाग्यले छल पैसा पुग्दैन म के गरोैँ?
साहु पनि पैसा माग्न आएको थियो अस्ति त
किनेर खान चामल पैसा पुग्दैन म के गरोैँ?
– सपना कुँवर

Awareness by SKF

साग अनि सिस्नोसँग पिठो खाएर
जसोतसो छाक टारौँला गिठो खाएर
अब छिटै आउँछु आमा घरमै फर्की
सबै ठिक पारौँला बरु नमिठो खाएर ।
– श्रीकृष्ण शर्मा

आफ्नै गाउँमा उकाली ओराली गर्नुपर्छ अब
सँगै मिलेर कोशी अनि कर्णाली तर्नुपर्छ अब
सधै विदेशीको गुलमा बन्ने हैन बाबु भनेको छु
कुटो अनि कोदालो बाँझो बारीमा गर्नुपर्छ अब।
– सपना कुँवर

हजुरले सोचे जस्तो राम्रो यो सहर होइन आमा
यहीँ गुलाम बन्नुपर्छ मेरो नि ठहर होइन आमा
त्यहीँका वनपाखामा रमाउँन मन भएर के गर्नु
साथीले फँसायो जेलमा बस्ने रहर होइन आमा
– श्रीकृष्ण शर्मा

होस बरु मेरो नै लासको चिहान म के गरोैँ?
सधैं हुन्छ दुःखको मात्र भान म के गरोैँ?
म यता घरमा छोरो खाडी जेलमा परे भन्छ
बताई देऊ उपाय अब भगवान् म के गरोैँ?
– सपना कुँवर

सुख पाउन त छैठीमा लेख्नुपर्छ आमा
थाहा छैन कति दुःख झेल्नुपर्छ आमा
भगवान्को साथ र आमाको आशीर्वाद पाएँ भने
मृत्युले नि झुकेर घुँडा टेक्नुपर्छ आमा ।
– श्रीकृष्ण शर्मा

सधैंभरि अप्ठ्यारोमा पार्न खोज्छन् गाउँले
धर्तिबाट स्वर्ग बसाइँ सार्न खोज्छन् गाउँले
बिधुवा नारी भनी बोक्सीको आरोप लगाई मलाई
दिउँसै पनि सबै मिली मार्न खोज्छन् गाउँले।
– सपना कुँवर

मेरा लागि भए पनि औँला गनिदिनू
पुलिस चौकी गई बरु सबै भनिदिनू
यता मैले हारगुहार गरिराछु सकेजति
एकै वर्ष पर्खनु आमा धर्ती बनिदिनू ।
– श्रीकृष्ण शर्मा पोखरा

मुरलि र बाँसुरीको धुन पैसामा बिक्ने रहेछ
लगाएको मैले सबै गुन पैसामा बिक्ने रहेछ
कति गए न्याय माग्न वडा अनि चोैकिमा
नेपालमा मात्र कानुन पैसामा बिक्ने रहेछ।
– सपना कुँवर

नआत्तिई सबै हेला सहेर हेर्नु आमा
अलिकति आधुनिक बनेर हेर्नु आमा
त्यही काम तर तरिका नयाँ हुनुपर्छ
कतै नभए मिडियामा गएर हेर्नु आमा
– श्रीकृष्ण शर्मा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो