Salime Malika Krishi Farm

Awareness Campaign

संस्मरण: ठूली एकादशी, रेसुङ्गा र हामी



विष्णु घर्ती ‘भनभनेली’
४ महिना अगाडि


Awareness

Place for ads

‘दिन आउनु पर्छ’ एक दिन मेरो लागि पनि एउटा दिन आयो । जुन, घर छोडेर तम्घास आउने मात्र नभएर तम्घासबाट नजिकैको पर्यटकीय स्थलमा घुम्न जाने थियो। हेर्न जाने थियो । अनि साथीहरूसँग रमाउने थियो। यसभन्दा पहिले देखि नै तम्घासमा आए पनि रेसुङ्गा टापुमा चुम्ने दिन बल्ल आज आएको थियो। लगन र साइत पनि जुरेको थियो। उक्त टापुमा, शिखरमा एकादशी मेला लाग्ने निहुँले। त्यस दिन यस वरपरकै भव्य मेला लाग्दो रहेछ।

धेरै टाढा टाढाबाट अनेक उत्साहका साथ केटाकेटी, ठिटाठिटी र बूढापाकाहरू पनि आउँदा रहेछन्। त्यस दिन बिहानैदेखि तम्घास नगरीमा रमाइलो र चहलपहल जताततै थियो। तम्घास बजारबाट करीब २ घण्टाको उकालो, धेरै मान्छेहरू सहजै चढ्दै थिए। समय परिस्थिति र ठाउँ अनुकूलले मान्छेलाई आस्तिक र नास्तिक बनाउँदो रैछ। हामीहरू त्यस दिन केही नास्तिक बनेरै भए पनि आस्तिक बन्नेहरूको हुलमा हुलियौं। अर्थात १०/११ बजेतिर टन्न एक एक पेट खाना खाएर गयौँ।

जुन त्यस दिनको लागि अर्थात हामी हिन्दूहरूको धर्म विपरितको कुरा थियो। कुरा जे भए पनि हामी जे गन्यौं त्यही म लेख्दै छु। हाम्रो एउटा मात्रै ध्येय के रह्यो भने त्यहाँ कस्तो होला ! के गर्लान् र के रहेछ भन्ने मात्र। त्यसको सट्टा हाम्रो साथमा फूलपाति, अक्षता तथा अध्यात्मिक चिन्तन रहन सकेन। मनको झोलामा यिनै कुराहरू मात्र थिए। यतिबेलासम्म हामीहरू एक अर्काका कोठामा गएर, जम्मा भएर गन्तव्य स्थानतर्फको लागि ११ नम्बरका एक एक वटा बाइकहरू रेसुङ्गाको उकालोमा विस्तारै विस्तारै गफ गाफ गर्दै, सुसेल्दै, म्यालका गेडा खादै, कतिखेर लोक भाकाका थेगोहरू गाउँदै, पारी पारीका डाँडाहरू हेर्दै, वर्णन गर्दै २/२ नम्बरको रेसियोमा हिडिरहेका थियौं।

सिंचाई
Forest
Ad.

तम्घास नगरीबाट चचुरोमा पुग्ने मुख्य गरी २ वटा बाटाहरू रहेछन्। एउटा जसमा प्रायः मान्छे हिडिरहन्छन्। बाखेछेडा-गर्जुरा-पोखरी हुँदै निस्कने र अर्को चाहिं अलि अप्ठारो, खानीगाउ – उपल्लो तमघास टावर क्षेत्रको नाकेडाडो हुँदै जाने। हामीहरू पहिलो, जुन मुख्य बाटो हुँदै गइरहेका थियौं। त्यत्तिखेर कोही भक्तालुहरू मेला भरेर झर्दै थिए भने कोही हाम्रो साथमा पनि थिए।

रेसुङ्गाको यात्रा उद्देश्यमाथिको उप उद्देश्य थियो। उपकथा थियो। जसका पात्रहरूमा हामी पाँच जना थियौं। हाम्रो अभिनय जारी नै थियो। ऋषिराम पोखरेल, सूर्य सेन, केशव पन्थी, दीपेन्द्र पन्थी र म थियौं। खासै नेतृत्व कसैको पनि थिएन। समान थियो। हाम्रो टोली ऐतिहासिक रेसुङ्गा पोखरीमा पुगिसकेको थियो। जुन मेला लाग्ने भव्य स्थल रहेछ। पोखरीमा पानी कम थियो वर्षातको समयमा टन्न थिएन। सबै मान्छेहरू पूजा, आराधना गरेर भजन कीर्तन गरिरहेका थिए। साना साना पसलमा मान्छेहरू किनमेल गरिरहेका थिए।

अर्कातिर मन मिल्ने साथीका ताँत पनि उस्तै थिए। जीवनका जोडीहरू (हुनेवाला वा भैसकेका) वरपर प्रत्येक रुखमुनि शितल ताप्दै गफ गर्दै परपरका दृश्यहरू अवलोकन गर्दै एक आपसमा हराइरहेका दृष्य पनि कम लोभ लाग्दा थिएनन्। ती दृष्यहरूलाई रिल विनाका प्राकृतिक क्यामरामा कैद गर्न हामीहरू बाध्य भएका थियौं। विशाल पोखरीको वरिपरि पिंधैदेखि ढुङ्गाको सिढी चिनिएको थियो। त्यो पनि एउटा कलात्मक नमुना नै थियो। करिब १२/१५ फिट जति गहिरो हुँदो हो। यो पोखरी समुन्द्री सतहबाट करिब २००० मिटरको उचाइँमा पर्दोरहेछ।

त्यहाँबाट केही माथि मुख्य मन्दिर यज्ञशालातर्फ लाग्यौं। त्यहाँको दृश्यको स्वादले हाम्रो टोलीलाई मिछ्याइसकेको नभए पनि १५/२० मिनेटमै मुख्य मन्दिर परिसरमा यो टोली पुग्न सफल भयो। टोलीका हरेक सदस्यले हातमा एक एक वटा घाँस, फूलका पातहरू लिएर मन्दिरलाई दाहिने पार्दै जुत्ता खोलेर भित्र पसी फूल चढाउँदै भित्री दृष्यावलोकन (अग्नीकुण्ड, जुद्धशमसेरका पालामा आरम्भ गरिएको होमकुण्ड) गर्दै बाहिरियौं। बाहिरी भाग निरीक्षण गर्यो टोलीले। तामाको छाना, सुनको गजुर अगाडि नरिवलका जोडी बोट, वरिपरि सफा प्राङ्गण र कुनातिर स्तूप समेत देख पाइयो। छेउतिरको सानो मन्दिरमा टुटे फुटेका मूर्तिहरू थिए। चुचुरोमै पुग्न अझै केही मिनेट बाँकी रहेछ। त्यहाँ पनि पुगियो।

Awareness by SKF

जहाँ आमने सामने बनाएर दुईवटा स्तुप शैलीमा, कुदिएका ढुङ्गामा अत्यन्तै आकर्षक शैलीमा ति मन्दिरहरूजस्ता बनाइएका रहेछन्। जुन सन्त स्वामी शशिधरका अस्तु स्थल हुन् भन्ने पनि सुनियो। त्यहाँबाट जताततै राम्ररी आँखा अघाउन्जेलसम्म हेरिसकेपछि गएको बाटो नझरेर अर्को बाटो। दूरसञ्चारको टावरभन्दा अलि माथिको एक ठाँउमा केही अप्ठेरो रहेछ। कहीं कहीं खर्मुर्सका बुटाहरूले यतै बसौं है भन्ने सङ्केत पनि गर्दथे। तर हामीले मानेनौं। ढुङ्गा, रूखका जरा आदि समाउँदै टावर क्षेत्रमा हामी आइपुगेका थियौं। त्यही बेला टावरको पनि निरीक्षण वा अवलोकन गरेर जाने सबैको मत मिल्यो। त्यहाँ गयौं। यताउता हेरिसकेपछि त्यस टावर (एक सल्ला जति अग्लो हुँदो हो) मा हामी पनि एक एक गरेर चढ्यौं। टुप्पोमा केही भाग फराकिलो रहेछ। २/४ जना उभिन मिल्ने खालको थियो। त्यही स्थानमा पूर्व, उत्तर र दक्षिणतिर फर्काएर उल्टा वा उत्ताना पारेका छाता थिए। त्यहाँ चढ्दा अर्कै अनुभूति भएको थियो। सानोमा कुनै खेल खेल्दा सबैलाई उछिनेर राजा भएको अनुवभ जस्तो हुन्थ्यो। त्यहाँबाट पनि रेसुङ्गाको चुचुरोमा आफ्ना आफ्ना प्रकृतिले दिएका क्यामराहरू एकछिन भएपनि खुलै छोड्यौं। मन्त्रमुग्ध भएर आनन्दित बन्यौं र झरिसकेपछि आफ्नो बाटो तमघासतिर ततायौं।

हाम्रो यात्राको उत्तरार्ध भैसकेको थियो। ८० प्रतिशत समय सकिन थालेको थियो। हाम्रा कुराकानीहरू दिनभरि भएका गरेका क्रियाकलापको समीक्षातिर मोडिएका थिए। हामी सबैले निचोडमा यो यात्रा फलदायी, महत्त्वपूर्ण, स्मरणीय र उल्लेखनीय भएको कुरा स्वीकार गयौं। आजको यात्रालाई एउटा शीर्षक दिनुपर्छ भन्ने मत जाहेर भयो। कसैले एउटै मात्र दिने भने कसैले सबैको दृष्टि एउटै हुँदैन त्यसैले आ-आफ्नो तिरकाले दिनुपर्छ भने। जस अनुसार एक जनाले ‘मेरो पहिलो रेसुङ्गाको यात्रा’ भने। अर्कोले ‘भोकभोकैको रमाइलो यात्रा’ को संज्ञा दिए। तेस्रोले ‘वनपाखासँगको पुनर्मिलन’ नामकरण गरे।

चौथोले ‘केटा साथीको मात्र हिडाई’ भनिदिए। अनि ‘यात्रा एकः अनुभव अनेक’ भन्ने शीर्षक मैले दिएँ। यस्तो खालको क्षण वा संयोगको चिनो के राखे भन्ने कुरामा हाम्रो सल्लाह मिल्यो एउटा संयुक्त फोटो खिचाउने। त्यसै बमोजिम एउटा स्टुडियोमा गई पाँचैजना एकैपटक एउटै रिलमा पस्यौं। बिहान गरेको ज्यूनारले पेट सानो हुन पुगेको थियो। आखाँ र मन त अघाएकै थियो तर मानेन पेट। सबैजना आफ्ना कोठामा आइकन स्टोभका मधूर धूनले कोठा गुञ्जायमान तुल्यायौं। बस, यत्तिमै हाम्रो ०५३ कार्तिकको ठूली एकादशीको दिन बित्यो।

रचना काल: २०५३ कार्तिक तथा प्रकाशन: २०६५ (भनभनेलीका तरङ्गहरू) ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो