सारांश • पाल्पाको तिनाउमा ढुंगाले प्रहार गर्दा ४५ वर्षीय नन्दलाल बजगाईको मृत्यु।
• घटनापछि फरार रहेका ३५ वर्षीय नारायण लम्तरी पक्राउ।
• रैनादेवी छहरा–४ छहराबजारस्थित जलधारा होटलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
तानसेन । पाल्पामा ढुंगाले प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा फरार रहेका व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मिति २०८३ मंसिर ६ गते साँझ करिब ६ः०७ बजे तिनाउ गाउँपालिका–६, सिसुवा खहरेस्थित ए.ए. बस्ने ४५ वर्षीय नन्दलाल बजगाई र जन्तिलुङ घर भएका ३५ वर्षीय नारायण लम्तरी सँगै बसेका थिए।
सोही क्रममा उनीहरूबीच वादविवाद तथा झै–झगडा भएपछि नारायण लम्तरीले नन्दलाल बजगाईको टाउको तथा शरीरका विभिन्न भागमा ढुंगाले प्रहार गरी गम्भीर घाइते बनाएको र त्यसपछि फरार भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते बजगाईलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले परीक्षण गर्दा मृत घोषणा गरेका थिए।
घटनापछि कुटपिट गरी फरार रहेका नारायण लम्तरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।
उनको खोजतलास गर्ने क्रममा मंसिर ७ गते साँझ करिब ६ः४५ बजे रैनादेवी छहरा गाउँपालिका–४, छहराबजारस्थित जलधारा होटलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका लम्तरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भुसालले जानकारी दिएका छन्।
.….
पोस्ट मिति : २०८३ मंसिर ८ गते
समय : ०८:४५ बजे
…….
ओझेलका खबर — खबर भित्रको खबर
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









