सिंहदरबारको दरबार फेरि गुलजार छ –
भत्ता आयो रे! भत्ता त हरपल आउँछ,
तर भरोसा त चुनावसँगै हराउँछ!
यहाँ त बानी भइसकेछ –
भोट माग्न गोडा टेक्न गाउँ आउने,
र जितेपछि चप्पल सफा गर्दै काठमाण्डौ उड्ने।
जनता भन्दैछन् –
एमाले, माओवादी, कांग्रेस – सबै सकिए,
यी त केवल अनुहार फेरिएका नामहरू मात्र हुन्।
पटक–पटक तिनै पुराना नारा,
त्यो पनि नयाँ पार्टीको ट्यागमा।
पुराना दलको झोलामा नयाँ नामको स्टिकर टाँसेर झुक्याउने प्रयास,
अब देखिन थालिएको छ।
हो –
जनता थाकिसके।
त्यति नै थकित छन्,
जति तपाईं सिंहदरबारमा फुर्सदिला हुनुहुन्छ।
बुझ्नुस्,
जनताले अब कुनै पार्टीमा भर गर्दैनन्,
किनकि पार्टीले कुनै वाचा पूरा गरेका छैनन्।
पुराना दलहरूले देशलाई पुरानै दलदलमा फसाए,
र नयाँ भनिएकाहरूले पनि आशा खन्याउने काम गरे।
रकम आयो रे!
तर यो रकम देशको लागि हो कि दलको लागि?
जनताको सपना समेट्न हो कि नेताको योजना छोप्न?
अब जनताले भाषण होइन, परिणाम खोजिरहेका छन्।
हावा कुरा होइन, हिसाब मागिरहेका छन्।
एमाले होस् वा कांग्रेस, माओवादी होस् वा नयाँ ठेली –
सबैको एउटै चाल, एउटै चालबाजी!”
“हामी त सिंहदरबारलाई देखेरै थाकिसकेका छौं,
तर तपाईंहरू त त्यसैमा रमाइसकेका!”
अब त नारा पनि हास्यास्पद लाग्न थालेको छ –
“सशक्त बनाउँछौं” भन्नेहरू त आफैं झनै शक्तिशाली भएका छन्,
जनतालाई त झन् कमजोर बनाएका छन्।
अब समय आयो –
जनताले प्रश्न गर्नुपर्छ,
नेताले जवाफ दिनुपर्छ।
रकम आयो? ठीकै छ।
तर विकास आयो कि छैन – त्यो भन्नुहोस्।
जनताको भरोसा जित्न सक्नुभयो कि गुमाउनुभयो – त्यो सुनाउनुहोस्।
हामी अब झूटका भाषण होइन,
साँचो उत्तर खोजिरहेका छौं।
र यदि त्यो उत्तर तपाईं दिन सक्नुहुन्न भने –
अबको चुनाव तपाईंका लागि होइन, जनताको न्यायका लागि हुनेछ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |