लघुकथा: आवाज
“दुई छोरी जन्मिए पछि तेस्रो चाहिँ पक्का पनि छोरा नै हुन्छ” भन्ने जोतिषीको भविष्यवाणी कदापी फरक पर्दैन भन्ने विश्वास घरमुली ससुराबाजेलाई छोरा बुहारीको तेस्रो गर्भ प्रति विश्वास थियो। अन्धविश्वासी पुरातनवादी उनको सपना पूर्ण भएन। बुहारीको तेस्रो सन्तान पनि छोरी नै भयो।
उनको परिवार संयुक्त थियो। कान्छो छोराको लगातार दुई छोराहरु जन्मिए। प्राथमिक कक्षा गाउँकै पाठशालामा सकेर उनीहरु ठूलो शहरको ठुलै अंग्रेजी स्कुलमा पढ्छन्। उनीहरुको लागि शहरमा फ्ल्याट भाडामा लिइएको छ। पकाईतुल्याई सरसफाई गर्न गाउँकै चाकर लगेको छ। सहरमा नातिहरु जसोतसो खालान् बिरामी पर्लान् भनेर शुद्ध आफ्नै गाउँको खेतीको अन्नपात, तरकारी पठाउँ छन्।
जेठो छोराकी जेठी छोरी सीता ती नातिहरु भन्दा जेठी भएर पनि उनी गाउँकै स्कुल जान्छिन्। ‘छोरी अर्काको घरजाने जात हो, त्यसैले तिनीहरुलाई पढाउन पनि नपर्ने हो’ तर गाउँको स्कुल निःशुल्क भएकोले उनले सीता र उनकी माइली बैनीलाई पढ्न छुट दिएका थिए। बिहे नगरेकी नातिनीले भान्छा छुन हुन्न थियो। महिनावारी भएको बेला पुरुषहरुको अगाडि देखा पर्न हुन्न थियो। गाईको दूध, दही, मही, घ्यु केही खान दिइदैन थियो। सितालाई पहिलोपल्ट महिनावारी हुँदा छाउ गोठमा बस्नु पर्यो।
छाउगोठ घर भन्दा दुई बारीपाटा तल बासँले छेका घेरेर बनाएको कच्ची छाप्रो थियो। सीता पछि गाउँले काकाकी छोरीलाई पहिलो पटक महिनावारी हुँदा त्यंँही राखिएको थियो। राती कुन बेला चितुवाले लछारेर लगेछ फेला परिन। सीता पन्ध्र बर्षकी भैसकेकी थिई। उस्लाई कुनै पुरुष सङ्ग पनि कुरा गर्न छुट थिएन। स्कुल जाने बेला हजुरबा सधैँ “तैले कुनै केटा सङ्ग कुरा गरेको पत्ता लाग्यो भने भोलि पल्टदेखि पढ्न जान बन्द है” भनेर धम्क्याउँथे। एक दिन “आजदेखि तँ पढ्न जान पाउँदिनस। तलाई हेर्न आज हामीले खोजेको एउटा पंडितको छोरो परिवार सहित आउँदै छन्। तँ कुर्थासुर्था होईन, आमाको सारी लगाएर निहुरेर केटाको अगाडि आउनु। केही नबोल्नु चुप्प लाग्नु। तेरो बिहे त्यही केटो सङ्ग हुन्छ। तैले नाँई भन्न पाँउदिनस” भने।
सधैंभरि हजुरबुवाले जे भन्यो त्यही चुप्प लागेर सहने सितालाई स्कुलमा नयाँ अएकी गुरुमाको “नारी सशक्तीकरण, नारी अवला होइन सवला हो। विश्वमा महानकार्य गरेर नारी शक्तिको उदाहरण प्रस्तुत गरेका छन्” भन्ने पाठ पढाएकी थिइन्।त्यस्को प्रतिछाप सितामा परेको थियो। हजुरबुवाको आफुमाथिको त्यस्तो निच दबाव सुने पछि रातो पिरो अनुहार लगाउँदै भनी, “म हजुरलाई धेरै सम्मान गर्छु। अहिले सम्म कुनै कुरामा पनि म हजुरको इच्छा विपरित गएकी छैन। र आज बोल्न सम्म नबोलेको मान्छे सङ्ग म बिहे गर्दिन। पहिले उ संग बोल्छु। चिनाजान गर्छु। चित्त बुझ्यो भने बिहे गर्छु। अब मेरो आवाज रोकिदैन।”
– रञ्जुश्री पराजुली
हाल: अमेरिका
लघुकथा: भाग्यमानी छोरो
दशैंको टीका लगाइ दिदैँ तिमिहरुलाई आर्शिवाद छ भनेर भन्नुभयो हजुरआमाले। मनमनै खुशिले भरिपुर्ण भएँ। मेरो विवाहको पहिलो साल थियो यो। यसरी ठुलाबडाबाट आर्शिवाद पाउँदा म आफुलाई निक्कै भाग्यमानी जिकिर गर्थेँ। र मनमनै खुशी हुन्थेँ।
समयले आफ्नो गति दौडाइरहेको थियो। उ संगै हाम्रो दुई जीवन एकको संघर्षमा जोडिएर अगाडि बढेको पनि एक वर्ष पुग्न लागेछ। त्यस भित्र पलाएको आर्शिवादको पोको बढ्दै थियो। खुशिले सिमा नाघिसकेको थियो। कहिलेकाहीँ त पोखिन खोज्थ्यो। उनले सम्झाउथिन्, सम्हाल्थिन्, सुम्सुम्याउथिन् र मुसुक्क हाँस्थिन्। त्यो हँसाइमा तीन सुते मायाको डोरी झन् कसिलो बन्दै थियो। यो खुशिमा म पौडेर मनमुग्ध हुन्थेँ।
समय आयो। म बाहिर निस्कन्छु भन्ने खुशिले आमालाई दर्द दिन थाल्यो। खुशिको बिचमा मिसिएको दर्दलाई उनले सजिलै सहिन्। अन्तमा सकुशल बाहिर आयो। आज आएर आफ्नै बाआमाको सेवा गरिरहेको छ। यो देखेर विगतलाई सम्झिदैँ आमाले भनिन्, ‘मेरो भाग्यमानी छोरो’।
– अनुग्रह राना मगर ‘पुष्प’
अब देखि गद्य साहित्य चौतारी फेसबुक ग्रुपमा प्रेषित दुईवटा रचनाहरू हप्ताको दुईवटा यस वेबसाइटमा राखिने जानकारी गराउछौँ। तपाईं पनि आफ्ना रचनाहरु प्रकाशन गर्न चाहनुहुन्छ भने ‘गद्य साहित्य चौतारी’ नामको फेसबुक ग्रुपमा पठाउनु होला। -सम्पादक
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










