सिर्जना ढकाल
सम्बादाता -साकुरा, चिबा (जापान)
नेपाल र जापानबीचको शैक्षिक, सांस्कृतिक तथा भ्रातृत्त्व सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ जापानको चिबास्थित गोर्खा पिक इन्टरनेसनल स्कुल (GPIS) मा “एडुब्रिज नेपाल – जापान: कनेक्टिङ हार्ट्स, कल्चर एन्ड क्लासरुम्स” नामक विशेष अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
जापानका समाजसेवी तथा सफल व्यवसायी डिलाराम खरेलको अध्यक्षता तथा फर्सुराम खरेल उपाध्यक्ष रहेको यस विद्यालयले पछिल्लो समय चिबा प्रिफेक्चर आसपासमा बसोबास गर्दै आइरहनुभएका नेपाली बालबालिकाहरूलाई गुणस्तरीय एवं बहुसांस्कृतिक शिक्षा प्रदान गर्दै आइरहेको छ।
विद्यालयका उप-प्रधानाध्यापक प्रकाश ढकालको सञ्चालन तथा आतिथ्यमा सम्पन्न उक्त औपचारिक कार्यक्रमको सुरुआत नेपाल र जापान दुवै देशको राष्ट्रिय गान बजाएर गरिएको थियो।
कार्यक्रममा नेपालका विभिन्न विद्यालयहरूबाट आएका प्रतिनिधि मण्डल तथा अतिथि शिक्षकहरूको विशेष उपस्थिति रहेको थियो। आमन्त्रित अतिथि शिक्षकहरू सुजन श्रेष्ठ, बिनय श्रेष्ठ, गोविन्द बहादुर धामी, नारायण भट्टराई र प्रशान्त दाहाललाई विद्यालय प्रशासनका तर्फबाट भव्य स्वागत गरिनुका साथै सम्मानपत्र (Certificate of Appreciation) र विद्यालयको मायाको चिनो (GPIS Souvenir Cup) प्रदान गरिएको थियो।
उक्त अवसरमा गोर्खा पिक इन्टरनेसनल स्कुलका तर्फबाट प्रसासक किशोर शाहीले विद्यालयको परिचय, शैक्षिक अवधारणा र दूरदृष्टिका बारेमा प्रस्तुति दिनुभएको थियो भने अतिथि प्रतिनिधिहरूले पनि आफ्ना अनुभव र विचार साटासाट गर्नुभएको थियो। साथै लेखा साखा प्रमुख श्याम सापकोटाले भुकम्पमा कसरी बालबालिकालाई सुरक्षीत राख्न सकिन्छ भन्ने बिसयमा प्रस्टयाउनु भएको थियो ।
सांस्कृतिक आदानप्रदानलाई जोड्दै विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा जापानी विद्यालय संस्कृतिको अभिन्न अङ्ग मानिने विद्यार्थी आफैँले आफ्नो कक्षाकोठा सरसफाइ गर्ने ‘सोजी’ (Soji) अभ्यासको प्रत्यक्ष अवलोकन र साना विद्यार्थीहरूद्वारा गरिने बगैंचा हेरचाह तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिको अवलोकन गराइएको थियो।
कार्यक्रमको अन्तिम चरणमा विद्यालय प्रशासन र नेपालबाट आएको प्रतिनिधिमण्डलबीच आगामी दिनहरूमा गर्ने सम्भावित सहकार्य, भर्चुअल एक्सचेन्ज प्रोग्राम (प्रविधिमार्फत सिकाइ), र शिक्षक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा महत्त्वपूर्ण साझेदारी संवाद (Partnership Dialogue) समेत भएको थियो।
कार्यक्रमको समापन गर्दै भाइस प्रिन्सिपल प्रकाश ढकालले नेपाल र जापानबीचको सम्बन्ध अनुशासन, सम्मान र उत्कृष्ट शिक्षाको धरातलमा अडिएको बताउँदै यो कार्यक्रमले दुई देशका विद्यालयहरूबीच दीर्घकालीन सहकार्यको ढोका खोलेको विश्वास व्यक्त गर्नुभयो।
अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सामूहिक फोटोकथन (Photo Session) र जलपान कार्यक्रमसँगै उक्त शैक्षिक आदानप्रदान कार्यक्रमको समापन गरिएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







