– प्रदीप भुसाल
बाबु….!
ए छोरा…!
आऊ न बाबा मलाई लिन…
म आश्रमको साँघुरो कोठामा
तिमीलाई पर्खेर बसिरहेको छु !
मैले त तिमीलाई कहिल्यै भुइँमा राखिनँ !
कहिले रगतमा धारण गरेँ…..!
कहिले हत्केलामा स्वीकार गरेँ….!
कहिले छातीमा विश्राम दिएँ….!
कहिले काँधमा सवार गराएँ….!
आज तिमी हवाइजहाज चढेर उड्न सक्ने भयौ
भुल्यौ छोरा यो वृद्ध बाबुलाई….!!!
भुल्यौ छोरा….!
मेरो भुल्लो कोट ओढेर
शिवरात्रीको मेला हेरेको…!
मेरो काखमा सुतेर….
स्वस्थानीको कथा सुनेको….!
मेरो काँध चढेर…..
विद्यालयको आँगनमा ओर्लिएको !
कसरी भुल्यौ छोरा….
मेरो चोर औला समाएर
वर्षायामको भँगालो तरेको ….!
कसरी भुल्यौ बाबा
तिम्रो फिस तिर्न भनेर
गोठैभरिका गाई गोरू बेचेको !
अनि तिमीलाई भटभटे किन्न
घरैनिरको बारीको पाटो बेचेको….!
सबै त बेचे नि छोरा…
सम्पत्ति हुँदासम्म बेचेँ….!
सकिएपछि बोली बेचेँ…!
सापट माग्न आफन्तसँग स्वाभिमान बेचेँ….!
बेच्न बाँकि केही नरहेपछि…..
आफ्नै रगत पसिना र आँसु बेचेँ …..!
म रित्तिएँ बाबु….
म सकिएँ…..
आज यो विरानो ठाउँमा
मागेर खाने खोजेर सुत्ने भएको छु….!
बाबु… छोरा….घरभरि सन्तान भएर पनि
आज अनाथ भएको छु…!
रोएर बाँचेको छु….!
तिनीहरूलाई देख्न पाउँछु कि भनेर
धिकिर धिकिर पनि बाँचिरहेको छु !!!
बाबु…. छोरा….जेठा !
कहिले आउँछौ भन न…!
तिमीले पैसा माग्दा दिन सकिनँ…!
हान्यौ …. करङ टुक्रिए…..!
तर ऐले दुख्दैन बाबु…. जमिसक्यो !
बाबु…. छोरा ….माइला….!
तिमीले फलामे भालाले टाउकोमा हान्यौ…
म ढलेँ…… तर आज घाउ निको भइसक्यो!
बाबु…. कान्छा …!
तिमी पढेको मान्छे…
किन हान्यौ हतियार म बुढोमाथि
रक्ताम्य भएर पछारिएको थिएँ
किन यसो गर्यौ
जन्म दिने बाबु भन्दा सम्पत्ति ठुलो हुन्छ र….!
तर छोरा…घाउमा पाप्रा लागिसक्यो
अब दुख्दैन…. कत्ति दुख्दैन….
एकपटक तिमीलाई देख्न मन छ !!!
प्यारा छोरा…..!
तिमीहरूले गरेका हजार गल्ती
मैले आँखा चिम्लेर माफी दिएँ !
सारा उर्जा सारा सम्पति
तिम्रै नाउँमा सुम्पिदिएँ….!
आज म असक्त बनेका बेला…
गलेर मक्किएर ढल्न लागेका बेला…
मलाई थाम्ने सहारा चाहिएका बेला…
हातेमालो गरेर आऊ न…..!
जानेबेलामा तिमीहरूको दर्शन गर्ने मन छ !
मैले परमेश्वर मानेका मेरा छोरा….
तिमीहरूको हात समाएर भित्र बाहिर गर्ने मन छ !
अन्तिम पटक आफ्नै घरको तुलसी मठमुनि
एक तुर्की गङ्गा जल तिम्रै हातको पिउने मन छ !
मेरा छोरा….
तिमीहरूलाई जीवन सुम्पिनु गल्ति हो भने….!
तिमीहरूका लागि सर्वस्व चढाउनु गल्ती हो भने….!
तिमीहरूलाई परमेश्वर ठानेर विश्वास गर्नु गल्ती हो भने !
मलाई माफ गर मेरा छोरा….!
बुढो हुँदासम्म बाँच्नू….!
तर… तर बुढेसकालका लागि
अलिअलि आफ्ना लागि पनि साँच्नू…!
म मरेर गए भने मेरो निर्जीव शरीरमा
फूल माला नचढाउनू…..!
सदा खुसी रहनू…. जवान रहनू….!!!
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |