अस्पताल मन्दिर होइन तर भगवान सम्झन्छन्
आपत्ति पर्दा त आफ्नै घरको जहान सम्झन्छन्
जीवन भरको साथीलाई जीवन साथी भनिन्थ्यो
तर यहाँ शरीर बेचेर सबैलाई श्रीमान सम्झन्छन्
मेहनत के हो ?चट्टान फोड्नेलाई सोध्नुस् हजुर
धनाड्यले आफ्नै घर र आँगन मैदान सम्झन्छन्
इज्जत माथि नै दाग लगाउन पछि पर्दैनन् मान्छे
अरुको जिन्दगी लाई आफ्नै ओछ्यान सम्झन्छन्
आखिर के गरेर गयौ राम्रो काम जीवितै रहे सम्म
लाज लुकाउन आफैलाई फेरि अन्जान सम्झन्छन्
– गणेश विष्ट बर्सात
त्यो रातपछि त्यो दिन सँगै भयो।
प्रेमिल कहानी छिनछिन सँगै भयो।
भन्न नसकूँला प्रिय! प्रेमको अर्थ,
र पनि बिश्वास र अधिन सँगै भयो।
मेरो नजरबाट टाढिएनौ कहिल्यै,
प्रिय तिमीबाट म छुट्टिन सँगै भयो।
बस्यो न छुट्टिने प्रेमको ईतिहासमा,
तिमी छौं मनमा तड्पिन सँगै भयो।
अँधेरी रातमा खै कसले भर्यो रङ्ग?
दिनप्रतिदिन सपना रङ्गिन सँगै भयो।
संसार उज्यालो थियो म कहाँ थिएँ?
थाहा, छैन तर हरदम किन सँगै भयो।
कुनै दिन त छलेको थियो मलाई पनि,
एकपटक छल गर्दा कठिन सँगै भयो।
जहाँ सुरु गरियो अन्त्य त्यही हुनु पर्ने,
देखेँको सपना पनि विलिन सँगै भयो।
– गजल सहयात्री अल्का
कहिले खुसी त कहिले दुःखको भाव आइरहन्छ
जिन्दगी हो, यहाँ विभिन्न उतारचढाव आइरहन्छ
हिजो महलमा बस्ने आज रोडमा आईपुगेको छ
समय चक्र हो, यो असल सँगै खराब आइरहन्छ
अथाह लगानी फसाएर खच्चर किनेको थिएँ मैले
आज छिमेकीको ट्रयाक्टर देख्दा तनाव आइरहन्छ
तेरो कपाल फुलेछ गाला चाउरीएछ नभनन साथी
अझै मलाई सोह्र बर्षे ठिटी हरुको प्रस्ताव आइरहन्छ
– खगिन् रिदम लामा
खोटाङ ईन्द्रेणी पोखरी
हाम्रो समाजभित्र किन सधै दरार हुन्छ,
धार्मिक र जाती लडाईको आधार हुन्छ।
बिदेशीले नै सङ्गियताको जाल फाल्यो,
थाहा छ देशलाई यो खर्चको भार हुन्छ।
असमान सन्धि सम्झौता त नगरे हुन्थ्यो,
जुनसुकै सरकार आएपनि गुनेगार हुन्छ।
खारेज गरौँ यी असमान सन्धि सम्झौता,
हाम्रो एकता र अखण्डतामा प्यार हुन्छ।
निजीकरणले पनि सधै देश बर्वाद भयो,
राष्टियकरण भए नै देशमा निखार हुन्छ।
– सुरेशकुमार पाण्डे
घोराही उप महानगर पालिका १८ दाङ
अझै पनि ठग्ने बानी चलिरहेकै छ।
ठग्नेहरुको मनोमानी चलिरहेकै छ।
दम्भ हो या डर हो बुझ्नै कठिन भो,
झुटैझुटको कुराकानी चलिरहेकै छ।
पानी नचल्ने जात पनि नचल्ने तर..
लुकीछिपी जवानी चलिरहेकै छ।
आफु माथि बन्न जालझेल गरिगरि,
ढोंगीको झुठो कहानी चलिरहेकै छ।
देश नै विदेशको गुलामी भएपछि,
नानाथरीको राहदानी चलिरहेकै छ।
सक्कली र शुद्धको मन्त्र मात्रै जप्ने,
खाट्टी दुधमा पानी चलिरहेकै छ।
– भोज विवश मगर
गैंडाकोट -३ ढोडेनी नवलपरासी पुर्व
मेरा दुश्मनहरु पनि प्रियजन बनेर आउँछन् ।
मेरा प्रिय! आफ्नाहरु दुश्मन बनेर आउँछन् ।
म असफल हुनुमा आफ्नाहरुकै संगतले हो,
कोही बन्चरो बनेर कोही घन बनेर आउँछन् ।
यो कलियुग हो यहाँ जसको भलो सोचिन्छ,
उनै मान्छे भुकम्पको कम्पन बनेर आउँछन् ।
जसले कयौं मुनालाई अलपत्र पारेका छन्,
आज तिनै धोकेबाज मदन बनेर आउँछन् ।
‘म पानी हुँ’ मेरो छेउछाउमा पर्दा निभ्नुपर्छ,
यति जान्दाजान्दै नि ज्वलन बनेर आउँछन् ।
– विक्रम साउद सन्जोग
त्रिवेणी नगरपालिका-३ बाजुरा सुदुरपश्चिम
सार्है राम्रो लाग्छ तिम्रो आनीबानी मलाई।
ए!मेरो दिलको राजा बनाउँछौ कि रानी मलाई।
जस्तोसुकै बाधा अड्चन आए पनि जीवनमा,,
दु:ख सुख साट्ने बनाऊ जिन्दगानी मलाई।
छिमेकीले कुलर चलाउछ हिटर चलाउछ अरे,,
तर मेरै देशको प्यारो लाग्छ हावापानी मलाई।
आमा! हजुरको त्यो गुन कहिल्यै बिर्सिने छैन,,
आफू भोकभोकै बसी खुवायौ चौलानी मलाई।
मेरो लागी अलिकति पनि माया थिएन भने,,
त्यत्रो भिडमा किन रोज्यौ छानीछानी मलाई ?
– हिउँ खतिवडा
कमलबजार ७. अछाम,
गाएर मेरा गीत गजल मलाई चर्चित गर्दैछौ तिमी
भन किन मलाई यति धेरै सारगर्भित गर्दैछौ तिमी
मेरो शब्दभावहरु गुञ्जाई आफ्नो मिठो कोकिल आवाजमा
के थाहा तिमीलाई यो मनलाई कति हर्षित गर्दैछौ तिमी
तड्पी रहें मिलनको लागि सुन्दै सुनेनौ त्यो विन्ती पुकार
बुझ्नै सकिन के भुल भयो र भेट्न वर्जित गर्दैछौ तिमी
एक्लै हुन्छु एक्लै रुन्छु हर रात तिम्रै यादमा झर्छ आँसु
किन यो अभागीलाई भाग्यमानी भनि वर्णित गर्दैछौ तिमी
न जान सक्छु दुर कतै न भुल्नै सक्छु मैले तिम्रो आवाज
होशमा हुन्न यो मन कहिले किन मुर्छित गर्दैछौ तिमी ।
– दिपक पनेरु
सागरनाथ, सर्लाही
कोही भाइ काट्ने कोही गाई काट्ने,यो कस्तो क्रान्ति हो?
सत्ता प्राप्तिको लागि तलुवा चाट्ने, यो कस्तो क्रान्ति हो?
जनताको नाममा परिवर्तनको, गीत गाएर,
प्राप्ति पछि तेलमा पानी झैँ,फाट्ने यो कस्तो क्रान्ति हो?
कहिले पानी त कहिले खानी, धुर्तलाई सुम्पेर,
बदलामा कायर जिन्दगी साट्ने,यो कस्तो क्रान्ति हो?
भित्रभित्रै सु्स्ता, कालापानी, र लिम्पिया बुझाएर,
उल्टै मै हुँ राष्ट्रवादी भनेर ढाँट्ने, यो कस्तो क्रान्ति हो?
अरवौं लुटेको धनले पनि, नअघाएर अझै,
सुन तस्करी गर्ने व्यापार आँट्ने, यो कस्तो क्रान्ति हो?
– चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पर्देशी बसमा अाउँछ
खुसी बाकसमा अाउँछ ।
अाँखा बन्द हुनेकाे लागि
उपहार चश्मा अाउँछ ।
झाउँटाे चपाउनु मात्र
स्वाद त रसमा अाउँछ ।
ढाँट्न,छल्न छाेड्नेका लागि
भर – विश्वासमा अाउँछ ।
– सूर्य गिरी,पाेखरा
साईनो नै गाँसेकी रैछौ मेरै दुश्मनको हात सँग/
सारा रात काटेकी रैछौ पीडाहरुको प्रभात सँग//
मेरा यी दुखै दुखले मस्त भएको जीवन आखिर/
म खुसी खोज्न पुगेछु सञ्जोगले बज्रपात सँग//
गरिव परिवारमा जन्मी सोच ठुलो राखे छु मैले/
रमाउन सिक्नु पर्ने रहेछ आफ्नो औकात सँग//
भुल मेरै थियो उनको सामु प्रेम प्रस्ताव राख्नु/
घृणा लाग्दै छ सम्झी सम्झी आफ्नो बात सँग//
जन्म दिने बा आमाको मन दुखाएर आएको थेँ/
घात गरे मैले उनको अथाह मायाको मात सँग//
-श्यामकुमार क्षेत्री “एकल यात्री
नौबहिनी गा,पा ८ प्यूठान
म मस्त निदाउन सक्छु आफ्नै झुपडीमा बास रहेसम्म!
त्यहि एउटा झुपडीमा साँच्चै मेरो भन्ने खास रहेसम्म!
कतै भत्काउने हो कि भन्ने मनमा डर पनि भईरहन्छ अझै,
देशमा भयङ्कर सामन्ती सोंच अनि बदमास रहेसम्म !
सानो त्यो बासस्थानलाई म निरन्तर सजाई नै रहनेछु,
किनकि त्यो झुप्रो भित्र सच्चा देउताको आश रहेसम्म।
कति प्यारो लाग्दोरहेछ आफु बस्ने पिंढी र ती आगनहरु,
सानो भए पनि भित्र रंगिन खुशिका आभाष रहेसम्म ।
कदापि अन्याय हुन दिने छैन ,ढल्न दिने छैन खम्बाहरु,
हेक्का रहोस मेरो सिंगो शरीरमा एक मुठ्ठी सास रहेसम्म ।
तर त्यतिबेला सम्म माथि उठ्ने छैनन् झुपडीहरु बुझ्नुपर्छ,
तबसम्म निमुखाहरुको हातमा जुवा र तास रहेसम्म ।
– लालकुमारी पुन मगर
अन्नपूर्ण ८ म्याग्दी
सक्किएपछि तपाईंको बोलचाल सरकार बाट
कसले उठाँइदिन्छ अब यि सवाल सरकार बाट
सिटामोलको अभाव मेटिदैन सुदुर कर्णालीमा
बनाएर काठमाडौमा अस्पताल सरकार बाट
पहिरोले पनि यो बस्तीमा गरिबका घर भत्कायो
कहिले पुग्छन् होला अब त्रिपाल सरकार बाट
घरमा दुई छाक चुलो बाल्न ध्वौ-ध्वौ परेको बेला
कसरी भन्न सकिन्छ! छ मालामाल सरकार बाट
साच्चै हामी गाउका मान्छेले अझै देखेका छैनौं
तिमीले पठाएको राहत प्रत्येक साल सरकार बाट
– खेमराज अविरल
(सुदुरपश्चिम अछाम)
खै कहाँबाट कस्ले यादहरु पठाउछ ।
अनि यो दिललाई बारम्बार सताउछ ।
उता खुसियाली चल्छ यता आगनमा
यो ज्यान बिमार हुन्छ छिमेकी रमाउछ ।
यहाँ नजरबन्दमा राखेकोछ मलाई
थाहा छैन कति बेला घामजुन उदाउछ ।
म त गर्दै नगर भन्छु त्यो रुपले जादु
गर्याै भने हर रात जवानी चलाउछ ।
यो बगरको मनमा घर नबनाउ प्रीय
फेरी बर्सातमा बाढी आएर बगाउछ ।
– मगर मस्त
मुसिकोट नगरपालिका ०८ रुकुम पश्चिम
दिन्छन् धाेका गर्छन् छल आफ्नाहरूले
सधैं रुवाउँछन् पल-पल आफ्नाहरूले
मैले याे दुनियाँ कागजमा उतार्न खाेज्दा
घोषणा गरी दिए पागल,आफ्नाहरूले
जिन्दगी जिउँने मेराे आफ्नै साेच थियो
फेरि गर्छन् उथल पुथल आफ्नाहरूले
म रमाइरहेको थिए जून तारा देखेपछि
बिचमै देखाउँछन् बादल आफ्नाहरूले
त्यसैले मैले गाउँबाट बसाइँ सारेको हुँ
गाउँमै भए गर्छन् नक्कल आफ्नाहरूले
– उमेश विश्वकर्मा सागर
नरहरिनाथ गाउँपालिका कालिकोट
दिनमै मिठाे निद लागे रातकाे के अर्थ
समानताकाे समाजमा जातकाे के अर्थ ।।
आफ्नै गाउँमा फलेकाे ताजा अन्न खाएपछि ।
शहरीया चामल अनि भातकाे के अर्थ ।।
कति जनता जिउँदै मरे पृथ्वीकाे भार भएर ।
झमक जस्तै आँटीलाे भए हातकाे के अर्थ ।।
बसन्तकाे हरियाली नै विरूवाकाे सुन्दरता ।
नाङ्गो रूखकाे शाेभा भए पातकाे के अर्थ ।।
अर्थ न व्यर्थकाे गाेविन्द गाई भने जस्तै ।
जिब्रोले नै चपाउने भए दाँतकाे के अर्थ ।।
– सुर्य नारायण वि. क (शुभचिन्तक )
रूकुम पश्चिम
हाल वीरगञ्ज
आज म सोझीलाई जाली रहिछ भन्यौ
गोरीलाई पाएपछि काली रहिछ भन्यौ
मलाई छोडेर अर्कै धनी केटीलाई रोजेर
उसको त ओत नलाग्ने पाली रहिछ भन्यौ
आफ्नै दाजु बहिनीको नाता अपवित्र बनाएर
मन दुखाएर उसको अर्कै माली रहिछ भन्यौ
तिमी सहरिया खै के गन्थ्यौ गाउँलेलाई
हिँड्न नि उकाली ओराली रहिछ भन्यौ
खन्न जोत गर्न यसरी ट्याक्टरले गर्नु पर्छ
तिम्रो गर्नु पर्ने कुटो कोदाली रहिछ भन्यौ
– हिमा आर.सी
मेहेलकुना सुर्खेत
तिम्रो बाध्यता उसको रहर हुन सक्छ ।
खोली जस्तो माया बगर हुन सक्छ ।
आफैं राम्रो भएर हिड्न सिक्नु बरु,
दुनियाँले हेर्ने त दोषी नजर हुन सक्छ ।
तिम्रो दु:खमा तिमी सँगै उ रुँदैन भने,
बुझ्नु उसको मन पत्थर हुन सक्छ ।
हात दिँदा साथ दिँदैन भने तिमीलाई,
अरू कसैको उसलाई भर हुन सक्छ ।
नाम लेख्न मन भए मन मुटुमा लेख्नु,
हात खोपेर नलेख्नु क्यान्सर हुन सक्छ ।
उसले सधैं तिमीसँग पैसा माग्छ भने
यति बुझ्नु झुठो मायाको कर हुन सक्छ ।
– श्री आङ्बुहाङ लिम्बू
पाँचथर
दामन एफएम ९०.८ मेगाहर्ज, नयाँगाउँबाट, रेडियो रामेछाप ९५.८ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट, रेडियो भरोसा, हेटौडाबाट, बिट्स एफएम ९७.७ मेगाहर्ज,, सिन्धुलीबाट, रेडियो पालुङ्ग १०७.२ मेगाहर्ज, पालुङ्गबाट, रेडियो तिफदी ९९.१ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट र दुधौली एफएम ९७.२ मेगाहज, सिन्धुलीबाट एकै साथ प्रसारण हुनेछ । तपाईले यस कार्यक्रम हरेक हप्ताको शनिबार रातको ९ः१५ देखि १० बजेसम्म विभिन्न रेडियो स्टेशनबाट रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भाबनाहरु सुन्न सक्नु हुनेछ छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










