Smoking Causes Cancer

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा संकलित गजलकारहरुका गजलहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

आफ्नो-आफ्नो पहिचान आफ्नो चिनारी हो।
पुरुषको दाह्री, महिलाको चुरा, पोते सारी हो।

चिया पिउन बहुत समय लगायो भने चिन्नुस।
त्यो बेरोजगारी हो,कि सरकारी कर्मचारी हो।

छोराले मलाई केटी हेरेको आरोप लगाउँछ।
उमेर पुग्यो छोरा,मलाई चाहिएको बुहारी हो।

सिंचाई
Forest
Ad.

आज पनि रुपियाँ गन्दै थाकेर आएँ प्रिया।
बैंकको जागिर भन्नू चित्त बुझाउने चौतारी हो।

तिम्रो भागमा म छु भनेकि थियौ कुनै समय।
आज मेरो भाग परेको मलाई मात्रै सुपारी हो।
– बाबुराम पराजुली “अविरल”
सुर्खेत

 

अरुलाई प्रेम भयो मलाई त छल भयो
जिन्दगी जिन्दगी रहेन ऊथलपुथल भयो

Awareness by SKF

म बन्दकोठाभित्र सिरकले मुख छोपेर रोए
तिम्रो बनावटी रुवाई पो क्या भाइरल भयो

लेख्न त पिडा लेखेको हुँ रोदन लेखेको हुँ
खै कसरी हो लेख्दालेख्दै गजल भयो

मैले यो तलाउमा गुलाब रोपेको थिए
हिलोमा नफुल्दो रैछ बद्लिएर कमल भयो

हामी देश बनाउन सँघर्षसाथ लागिरहेथ्यौ
विचमा तिमीले षड्यन्त्र रच्यौ र खलबल भयो
– पवित्रा थापामगर
जोरायल, डोटी

अनाहक समयले बदला लिए पछि के लाग्छ र !
अगाडि आई ठिंग कालै उभिए पछि के लाग्छ र!

तन,मन,धन दिएकै हो लगातार घात पाएपनि
मान्छेलाई ईश्वर ठान्दै झुक्किए पछि के लाग्छ र!

अधिकार हुँदो हो त आएर काँध थाप्थ्यो नि
विडम्बना आफ्नैबाट ऊ बेचिए पछि के लाग्छ र!

हरेक ठाउँमा मुस्कराउने चाहना फूलको होला
फगत मठ मन्दिरमा सजिए पछि के लाग्छ र!

आशा र विकासको केन्द्र लगातार ठानेकै हो
उनै सुरा र शुन्दरीसँगै भेटिए पछि के लाग्छ र!

आँखामा राखेकैले हो पैतालामा झार्ने पनि
चोखो मायाँ नबुझेर मातिए पछि के लाग्छ र!
– लक्ष्मी स्मृति
विराटनगर-५

सधैँ मुस्कुराइ रहने ति आँखा हुन्छन ।
जुन आँखामा सधैँ हाम्रा बा आमा हुन्छन।।।।

-दिनभर एक्लै राज गरे पनि घामले ।
राति त आकाश भरि जुनतारा हुन्छन ।।।।

-जो सर्माउछ बोल्न हेपिरहन्छ गाँउलाई
उस्को भान्छामा गाँउले देको खाजा हुन्छन।।।

-दौडमा खुट्टा नहुनेले पनि भाग लियो ।
बुझ्नुस उस्का पनि जित्ने चहाना हुन्छन।।।

-तिमीसंग किन हुन्छ यति धेरै सरम ।
मुस्ताङ्गे स्याउ जस्तै यी गाला राता हुन्छन
विमला कार्की (सुसं)
मकवानपुर, हाल: चितवन
[email protected]

मनमा पिरहरुको खातैखात
आफ्नै भन्नेहरुबाट घातैघात

कहाँ गएर चित्त बुझाउनु खै,
भाग्यले हान्छ सधैँ लातैलात !

कस्ता भेटिन्छन् साथीहरु नि,
लागेको छ कतिमा मातैमात !

गन्तव्य खोज्दै हिँडेको यात्री,
न भेटिने भयो पुर्खौली थात !

आफ्नोपनको आस गरी बस्यो,
आस भन्दा बढि हुन्छ बातैबात !

भविष्य उज्यालो बनाउने सोचेँ,
झुल्किएन रवि सधैँ छ रातैरात !
– रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची
हाल: बुटवल, रुपन्देही, नेपाल

मेराे याे मन मुटु कसैलाई पनि दिन मिल्दैन
परदेशी युवाले बिचबाट घर फर्किन मिल्दैन

आयौ तिमी मित्र बनी खुट्टा भाँचेर गयौं
खुट्टा छैन् हिड्न मिल्दैन दौडिन मिल्दैन

म मुर्दा हुँ चिहानसम्म पुगेको जल्नै पर्छ
मेराे जल्ने पालो आएको छ पर्खिन मिल्दैन

याद भनेको एउटा अमूल्य उपहार न हो
कस्ले भन्याे छोडीजानेलाई सम्झिन मिल्दैन

बुझ्नुस फलामले हाे आगाेमा पुग्दा पग्लिने
म पत्थर हुँ आगाेमा पुग्दा पग्लिन मिल्दैन
– उमेश विश्वकर्मा सागर
नरहरिनाथ गा.पा.-२, कालिकोट

आउँदैन भन्दाभन्दै झार निस्केर आयो
बिचार माथी अर्को बिचार निस्केर आयो

गजबको बन्छ कि गजबले भत्किन्छ
भट्टी पसलबाट सरकार निस्केर आयो

डुलाउन सके कहाँ कहाँ पुग्न सक्दैन
दुखेको मन हाटबजार निस्केर आयो

म आउन सकिन्न तिमी आउन सकेनाैँ
अखबार न हो अखबार निस्केर आयो

मैले विश्वास गर्ने भनेकै एउटा मित्र हो
त्यै एउटा मित्रपनि गद्दार निस्केर आयो ।
– मिरा बराल

आमाको सम्झनामा
जानु थियो गए हुन्थ्यो आगो लगाई गयौ
घर भरी सवैको मन किन दुखाई गयौ

फूलै फूलको बगैंचामा कयौ फूल फुलाएर
माली छोडी भंवरालाई दिलमा सजाई गयौ

भन्नु छैन केही मैले यादमा सांचेको छु
जीवन भर नचिने झै आफै बनाई गयौ

के के थिए मनका चाह मनमै गुम्साएर
न ओकली पिडा जति आफै लुकाई गयौ

ॲाउछ याद घरी घरी मुटु झस्किई रहन्छ
सम्झनामा बांचुन्जेल दीपक जलाई गयौ
– दीपक मुडभरी “मित्र”
मेरिल्याण्ड,अमेरिका

सोधौं/नसोधौं दोधारमा छु, मनमा एउटा ठुलो सवाल छ।
किन गरिब गरिब रहे झोले चम्चेे मात्रै यहाँ मालामाल छ?

प्रजातन्त्रको चौथो स्तम्भ कुनै कथामा मात्रै सिमित किन?
हेर्दा निश्पक्ष तर असाध्यै पक्षपाती सामाजिक संजाल छ।

तिमीले सय रुपैंयाँ को सुन्तला किन्दा वहा वहिको ओईरो,
तर किन कहिले सोध्दैन तेहि सुन्तला बेच्नेको के हाल छ?

हिजो यति दिनमा यो गर्छौं त्यति दिनमा त्यो गर्छौं भन्थेउ,
सरकार! आज किन विकास क्रममा कछुवाको चाल छ?

शान्ति/विकासका सपना बोकेर तिम्लाई सत्तामा पुर्यायौं,
हाम्रो प्रश्न छ तिम्लाई किन आज शान्ति कै अनिकाल छ?
– सुर्जित खेङ्योङ्ग
पश्चिम सिक्किम, भारत

जसको हातमा जहिल्यै कोदालो,पिठ्युँमा नाम्लो हुन्छ!
अक्सर उसकै पेट खाली हुन्छ ,उहीँ भोको नाङ्गो हुन्छ!!

सधैं चिसा परेला देखेर होला सायद प्रश्न गर्छ छोराले,
भन्नुहोस् न बा” तपाईंको आँखा कहिले ओभानो हुन्छ!!

तपाईं आफ्नो दु:ख सुनाउँदै गाउँभरि नहिड्नुहोस् आमा,
कुरा काट्ने छिमेकीलाई झन कुरा काट्ने बाटो हुन्छ!!

तिमीले कति सजिलै भनिदियौ है अब सम्हाल आफूलाई,
तिमीलाई के थाहा टुक्रेको मन सम्हाल्न कति गाह्रो हुन्छ?

जानेबेला कमसेकम एउटा सल त छोडेर जाउ प्रिया,
बाँचुन्जेल त्यही सम्झना हुन्छ, मर्दा त्यही पासो हुन्छ!!
– छविकिरण अधिकारी
बागचौर नगरपालिका-१०, पिपलनेटा, सल्यान

तिम्रो त्यो मायालाई तिमीले नै समाल्नु पर्छ
जस्तो सुकै समय आए पनि अँगाल्नु पर्छ

जीन्दगीमा ठुलो दाग लगाएर भाग्न नखोज
तिम्ले लगाएको दाग तिम्ले नै पखाल्नु पर्छ

बाउका त्यि सबै पिडाहरु मईले बुझेको छु
बाउले एउटै टोपी कयौं पटक टाल्नु पर्छ

पढ्ने लेख्ने मलाई पनि त ठुलो रहर थियो
यहि गिठ्ठि फुटालेर मुखमा माण्ड हाल्नु पर्छ

हाम्रो जीन्दगी यहि धुलो माटोमै जाने भयो
गरिबले पुरै जीन्दगी यसरी नै धकाल्नु पर्छ
– दलबहादुर नेपाली (बिबस)
जुम्ला

धन दौलत पद पावर सबै छ केको डर अब
छोड्दे म सँग देश विकासका कुरा नगर अब

म दलाल हुँ कुनै दिन तिमिलाइ’नै बेच्नसक्छु
याद गरिराख बाबू तिमि नमान मेरो भर अब

टुल्ल नहेर जा अर्को कार्यकर्तालाई पनि भनिदे
मेरो नाम पारेर नेताज्युको पछि अँह नपर अब

जग्गा जमिन गाडीमोटर कार सबै किनिसके
बनाउन मात्रै बाकी रह्यो सात तले घर अब

चीन जापान अस्टे्रलिया अमेरिकात घुमिसके
हुनेछ रुस अर्जेन्टिना थाइल्यान्डको सफर अब

के ठान्छौ मलाइ देश खेलाइ सकेको नेता पो हुँ
हेर केही दिनमा मेरै नाममा हुनेछ यो सहर अब
– पारस भट्ट (प्यासी)
मेलौली-२, बैतडी, हाल: काठमाडौ (बालाजु)

सँधै धनीहरुको जित गरिबको हार किन?
पैसाकै लागि तानातान र मारामार किन?

हुनेखानेलाई मानमर्दन दुखिको वास्ता छैन,
यो समाजमा निमुखाहरु संधै लाचार किन?

धनदौलत नभए पनि ईमानदार हुन्छन उनिहरु,
तैपनि समाजमा देखिन्न भरपर्दो आधार किन?

गरिबहरुबाटै फाईदा उठाउँछन टाठाबाठाहरुले,
तर सुनौलो अवसरमा सानालाई छेकबार किन?

दोषीहरु छुटिन्छन निर्दोषीहरु भुटिन्छन अचम्म,
कमजोरलाई मात्र लाग्छ कानुन सरकार किन?
– लालकुमारी पुन मगर
अन्नपूर्ण-८, म्याग्दी

विचल्ली हुन्छु कि उसले गर्ने व्यवहारबाट,
कहिले दिक्दार लाग्छ आफ्नै निधारबाट ।

गन्तव्यसम्म पुग्न कठिन यात्रा तय गर्दैछु म,
पिडक भईन्छ कि धोकेबाजको बजारबाट ।

कतै अल्झिन पुगे भने पनि, यस्तै सोच्ने छु,
सिक्नुछ बिग्रिएको छिमेकीको घरबारबाट ।

सधै पीडै पीडा गाह्रो छ टिकाउन सम्बन्ध,
छुटकारा पाउँनु छ मायाँको कारागारबाट ।

हेर रुप अनि धनको घमण्ड किन गर्छौ नि,
सबैले एकदिन छोडेर जानु छ संसारबाट ।
– अमृत मगर बड्डा
तुलसीपुर, दाङ, हाल- वीरेन्द्रनगर, सुर्खेत

जब दु:खमा पर्छ अनि पीडामा पर्छ !
तब जिन्दगी निकै अप्ठ्यारामा पर्छ !

म खुसी खोज्दै हिडेको एक यात्रु हुँ!
थाहा छ, ठेस पक्कै पाइलामा पर्छ!

ए मन ! सायद त ढुङ्गा नबनेर नै हो!
आँसु झर्छ दोष चाहिँ आँखामा पर्छ!

कसैले मलाई खोट मात्र देखाईरहयो!
उदाहरण हेर्नुस सिधै चन्द्रमामा पर्छ !

त्यसैलेनै म अनुहार पुछ्न छोड्दैछु!
जुनदिन मेरो नजर कुनै ऐनामा पर्छ !
– निरोज बस्नेत”संकल्प”
झापा काकरभिट्टा

बिहानीको शीत संगै छुटिएका ति साथहरु !
एकान्तमा नै बाँच्ने आधार भएका ति बातहरु !!

पाइला चले बेहोसी मै अन्धो भइ हेर्न खोज्दा !
जिन्दगीले दिएका ति मदिरा जस्ता मातहरु !!

बहार सम्झी आशाहरु सुख्खामा नै रोपे पछी !
बसन्तको हरियालिमा ओइलिए झै पातहरु !!

चाहेर नी बिगतलाइ मेटाउन नसकेसी
इतिहासका पाना भित्र छोडिएका खातहरु !!

गोधुलीमा टुकी बालि जुनको बाटो तय गर्दा !
अँधेरीको छटपटी मा बितेका ती रातहरु !!

गन्तब्य नै हराई गयो लक्ष बिहिन भए पछी !
आफ्नै कभर खन्नलाई जुटेका यी हातहरु !!
– प्रवीण नेपाल
सिन्धुपाल्चोक

गरिबलाई साेध्नु अचकल्टाे रहर कस्तो हुन्छ
र अपुराे जीवन अनि मृत्युु दिने जहर कस्तो हुन्छ

चारैतिर अन्धकार र सुनसानले छाएको बेला
बताई दिउँला बिहानीकाे एक प्रहर कस्तो हुन्छ

हाम्रो झुपडीमा टुकि बत्ती सम्म बलेको छैन
कुरा गर्नु हुन्छ तपाई झिलिमिल शहर कस्तो हुन्छ

छट्पटीले दिन रात जिउँदो लास बनाउदा आज
नसाेध्नु मलाई यो पूर्णिमाकाे खबर कस्तो हुन्छ
– खियामा राई
खाेटाङ

काेही आउछन कति नजरमा पर्छन।
जन्म हुदै गाउँमा काेही सहरमा पर्छन।

मिठा सपनाहरु कस्ले नै पाे देख्दैनर
हन्डर खादै बाध्यताकाे सफरमा पर्छन।

गाह्रो हुन्छ सास धान्न गरिब भएपछि
अगाडि सर्न ठुलाबडाकाे डरमा पर्छन।

नारी पुरुष बराबर भन्दै अगाडि बढ्दा
कतिपय पुरुष नारीको भरमा पर्छन।

बुझकर भन्दै समाजमा कुद्नेहरु पनि
यकिन गर्न नसकि कडा उत्तरमा पर्छन।

चलाख बनी रक्षा गर्दा गर्दै नारी आफ्नाे
राक्षसकाे अनेकौ जबर्जस्ती करमा पर्छन।
– सावित्रा नेपाली सबु
बागलुङ

चाहेर हुन्न सोचे जस्तो त जिन्दगानी
पीडा दुखाइमा जाने भो सधैं जवानी

मागेर हुन्न बाँच्ने आधार चाहिएको
धौधौ छ प्राण धान्नै बाँकी अझै कहानी

सोधे हुनेछ राम्रो आमा बुवा भएमा
मान्दैन साथ तिम्रो छोडेर बाँच्न सानी

हान्याै नजरले गाेली बाेलेर बात मीठो
लाग्यो अपार माया तिम्रो सधैं नजानी

चाहिन्छ साथ आफ्नैको ठान्नु हुन्न अर्को
मानेर हुन्न झर्को राम्रो छ सोच बानी
– तारा घिमिरे ‘स्वेच्छा’
सङ्खुवासभा

पछुतो त गरिब भइ जन्मिदा लागेको छ
रुपियाँलाई भाग्यमा पर्खिदा लागेको छ

आमा त्याग्दा नि यति दु:ख लागेन महोदय
जति, दुख देश छोडेर प्रदेशीँदा लागेको छ

दोष त घाम ,जुन, गगन सबैलाई छ यहाँ
समयलाई पनि त दोष उ बदलिँदा लागेको छ

भुलीदियो सबथोक साथमा आमा पाएदेखी
एक बच्चोलाई पनि दुनियाँ फिदा लागेको छ

तिमिले सम्झिदा त ऐठन मात्र लाग्छ मलाई
बाडुल्की त दुश्मनहरुले सम्झिँदा लागेको छ
– विनोद थापा
झापा

यस्तै त हो कतै पिरो छ,कतै अमिलो छ
सोचे जति कस्को जिन्दगी स्वादिलो छ?

हिड्न सके साँघुरा छैनन् हिड्ने गल्लिहरु
हामीले सोचे भन्दा पक्कै फराकिलो छ

सगरमाथामा चड्नेलाइ थाहा छ चुनौती
सबै चढिसके सगरमाथा भन्न सजिलो छ

बर्षौ भयो जिन्दगी अक्करमा पिल्छिएको
तर हिड्नै पर्छ, हिड्ने पैतालामा पिलो छ

आहा क्या खुब मिठो कुरा गर्नुहुन्छ तपाई
तर दुनियाँले बुझ्छ स्वभाव कति पेचिलो छ
– गंगाराम बुढा मगर
मुसिकोट-१०, रुकुम पश्चिम

मेरो देश जवान पठाउँछ अनि आस पठाउँछ।
यो परदेश उपहारमा खाली लास पठाउँछ।।

प्रेमिकाले संसार छोड्दै छु भन्दै पत्र पठाउँछिन
प्रेमिले सहजै प्रतिउत्तरमा बकवास पठाउँछ।।

आफ्नाहरुलाई त राम्रोसँग चिनियो दुख पर्दा
छिमेकी पनि राँको दिन्छ अनि बतास पठाउँछ।।

बा घरदेखी पैसाबिनाको योजना सुनाउछ्न
छोरो पठाउँदैन पैसा हिम्मत साहास पठाउँछ ।।

छोराको खबर सुन्न पनि महिनौ कुर्नुपर्छ
न त घरमा गाँस पठाउछ नत कपास पठाउँछ।।
– राजाराम तिवारी
सिन्धुपाल्चोक

बलात्कार गरि हत्या हुँदा सरकार कहाँ छ/
हाम्रो त्यो झुपडीलाई टाल्ने दरबार कहाँ छ//

नुन किन्दा पनि देशमा छ सुन किने जस्तै/
हेर्नुस् जनता कहि नलुटिने बजार कहाँ छ//

मंहगीको भारमा जहिले परिवार धान्नु पर्ने/
छोरो बनोस् भन्ने ठुलो मान्छे आधार कहाँ छ//

किशानको मुल्य त पानी सरि बनायौ यहाँ /
त्यहीँ पानीलाई हिरा बनाउने व्यपार कहाँ छ//

वर्षौभरी जोतिदा पनि पोल्टो छ खाली सधैं /
भन्नुहोस् दुई छाक मिठो खान आहार कहाँ छ//

भइदियो धनकै पक्षमा देशको कानुन पनि/
गल्ती नहुनेलाई इन्साफ दिन हतार कहाँ छ//
– श्यामकुमार क्षेत्री “एकल यात्री”
नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल भारत

साथ खाेजेर आफैं हराएँ यहाँ
देह मर्‍यो झण्डै डराएँ यहाँ

हुन्छ राम्रो यि नेपालकाे शीरमा
देशकाे सान झण्डा फराए यहाँ।।

मिल्छ आहा! निलाे हेर त्रिकोणकाे
विस्वकाे लागि नाैलाे गराएँ यहाँ

काम गर्याे सधैं माम ठान्ने बानी
रामकाे नाम जप्दै कराएँ यहाँ
– एकल यात्री

मलाई म भनेर सम्झिनु गलत हुनेछ
मेरो अघिपछि देखिनु गलत हुनेछ

आक्रोशित भएर प्रतिस्पर्धा गर्नेहरू
लडाईको मैदानमा उत्रिनु गलत हुनेछ

आँसुको मुल्य थाहा नहुने हरूलाई
सिङ्गो जीवन नै सुम्पिनु गलत हुनेछ

बगैंचामा फूलहरू लाई अलपत्र बनाई
यि भँमरा हरूले टाढिनु गलत हुनेछ

पिँजडाको पंक्षीलाई पिँजडामै छोडि
एउटा खुसी पाएर मात्तिनु गलत हुनेछ

खुसीहरू अपाङ्ग भएको मान्छे सँग
घरि-घरि दुश्मनी लिनु गलत हुनेछ
– गजल मुक्तक सहयात्री राजेश क्षेत्री निर्दोष
सुदुरपश्चिम दार्चुला

नुहाइ धुवाई गर्छु चोखो बनी भगवान सम्झिन्छु।
हामी सबैको रक्षा गरून् भनी भगवान सम्झिन्छु॥

भाकल पुजा देवी देवता के गरिन यो जिन्दगीमा।
हरेक पटक ठेस लाग्छ, र पनि भगवान सम्झिन्छु॥

प्रगती रोकिएको बुझेस,.सकिएको छैन जिन्दगी।
पक्का केही हुन्छ, आशा छ्नी भगवान सम्झिन्छु॥

जति ठक्कर खादा पनि नटुट्ने कस्तो.. आस्था हो।
अनगिन्ती देवता छन गनिगनी भगवान सम्झिन्छु॥
– गोमा क्षेत्री

दियो झैँ उज्यालो छरी जिन्दगीमा
तिमी नै बिहानी बनी जिन्दगीमा

बुझेँ प्रेमको अर्थ तिम्रो स्वरूप
बिले राग सारा जली जिन्दगीमा

सरोकार केही छँदैछैन प्यारी!
तिमीले हटायौ कमी जिन्दगीमा

मुना हूँ म तिम्रो बसेँ डाल माथि
सहारा बनिछ्यौ यही जिन्दगीमा।

बिना रङ्ग कोरा म सादा अकाश
तिमी रङ्ग पोख्ने मसी जिन्दगीमा।।
– कुसुम गौतम
म्यान्मा

चुहिएकै छ खरको छानो जति छाउँदा पनि
भने जस्तो भएन दश-नङ्ग्रा खियाउँदा पनि

हरियाली संगै जब बसन्त को आगमन हुन्छ
हुदैन मन प्रफुल्ल नयाँ पालुवा पलाउँदा पनि

अझै तेहि अतितमा अल्झिरहेको छ यो मन
भरिन्छन यि नयन हरु केहि क्षण रमाउँदा पनि

बिरह चलेर मनभरि कुराको खात लाको बेला !
भकानिन्छ झन् यो छाति कोहिली गाउँदा पनि !!
– लाल सिंह सुनुवार
देवचली नगरपालिका, नवलपुर

दिनहुँ हुन्छन् खुलम खुल्ला भ्रष्टाचारहरू
भ्रष्टाचारीहरुकै गर्न थालेपछि उद्धारहरु

कसैलाई रहर थिएन आफ्नो पेशा छोड्न
बाध्यता थियो! राजनीति गर्न, पत्रकारहरु

कस्ले भन्छ युवाहरुले देश बनाउँदैन भनेर
नेपालीले बनाएका हुन् साउदी, कतारहरु

किन बाध्य हुन्थेँ खाडिहरुमा पसिना बेच्न
देश भित्रै दिइएको भए केही आधारहरू

मन्त्रीकै अगाडी पेट्रोल छर्केर ज्यान गुमिन्छ
राजनीतिज्ञहरुलाई मात्र भएपछि व्यापारहरु

यहाँ देशको हितमा सोच्नेको आभाव भएर हो
किन ढक्ढकाउन पर्थ्यो युवाले सिंहदरबारहरु
– प्रवेश कुमार संघर्ष
अछाम

हो छिटो अनुसन्धान हुनुपर्छ पहल हुनुपर्छ
सत्यतथ्य छानबिनमा सबै सफल हुनुपर्छ

दुख्यो भन्दापनी टेकेर गहि मेरो छातिमाथी
उसले सम्झी होला सायद चप्पल हुनुपर्छ

मेरो तस्वीर देख्न साथ तर्सेर भाग्न थालिन्
पक्कै कसै सँग मिल्ने मेरो सक्कल हुनुपर्छ

बहाना बनाएर पन्छिने त कायर् हुन्छन् प्रिया
आँधी तुफान पन्छाउन हामि अब्बल हुनुपर्छ

हाम्रो सम्बन्धलाई पनि मडार्न खोज्यो जसले
लाग्दैछ त्यो सुनामी हुनुपर्छ कि बादल हुनुपर्छ
– प्रेम जंग शाह सुर्खेती
कर्णाली प्रदेश सुर्खेत, भे.ग.न.पा.(४) हर्रे

भेटौला भनेर टारेको, थाहै हुँदैन
यारहरुलेमन मारेको, थाहै हुँदैन

आफैसङ्ग भएको समयलेपनि
आफैलाई पछारेको, थाहै हुँदैन

सहजै हृदयमा बसेको मान्छेले
अफ्ठ्यारोमा पारेको, थाहै हुँदैन

यसर्थ गौतम बुद्ध एक्लै बसे
सङ्गतले बिगारेको, थाहै हुँदैन

जिउनकोलागि दैडधुप गर्दागर्दै
जिन्दगीले हारेको, थाहै हुँदैन

निस्वार्थ सेवागर्ने सेवामुखीलाई
तिरस्कार स्वीकारेको, थाहै हुँदैन
– खुशीको पल
गोर्खा न पा १४ भट्टबेशी

यी गजलहरु शनिबार राति प्रसारण हुने कार्यक्रम मनभित्र गुम्सिएका भावनाहरुमा वाचन गरिनेछ। ओझेलका खबर डटकम यस कार्यक्रमको मिडिया पार्टनर रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो