निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नेपाली नागरिकता त्यागेर अमेरिकन नागयिरकता लिएको र अमेरिकन नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको पद गएको थियो ।
उपनिर्वाचन सम्बन्धी व्यवस्था प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६८ मा छ । जहाँ भनिएको छ, ‘…पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।’ यही व्यवस्था अनुसार निर्वाचन आयोगले चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







