काठमाडौं — नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रवि लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै विभिन्न नीतिगत सुझाव प्रस्तुत गरेका छन्।
गुल्मी क्षेत्र नम्बर १ का पूर्व सांसद समेत रहेका भण्डारीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै देश र जनताका समस्या साझा भएकाले सत्ता समस्या समाधानको माध्यम बन्नुपर्ने धारणा राखेका छन्।
उनले लेखेका छन्, “नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह तथा सारथी रवि लामिछाने लगायत उहाँको मन्त्रिमण्डललाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना।” समाज र संस्कृति मानव विकासको पहिचान भएको उल्लेख गर्दै शपथग्रहण समारोहमा यसको सम्मान गरिएकोप्रति खुशी व्यक्त गरेका छन्।
भण्डारीले सरकारका लागि विभिन्न सुझाव पनि अघि सारेका छन्। उनका अनुसार सत्ता भागवण्डाको साधन नभई समस्या समाधानको माध्यम बन्नुपर्छ भने संसदलाई सत्ता संघर्षको थलो होइन, जनताको आवाज उठाउने प्रभावकारी मञ्च बनाउनुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, प्राकृतिक स्रोत–साधनलाई जनसमृद्धिको आधार बनाउन, शिक्षालाई प्रमाणपत्रमा सीमित नराखी अनुसन्धान, सीप र रोजगारीसँग जोड्न, तथा दीर्घकालीन योजना कार्यान्वयनमा समयसीमा र जवाफदेहिता कडाइका साथ लागू गर्नुपर्ने उनले बताएका छन्।
युवाले देशमै भविष्य देख्ने वातावरण निर्माण, किसानलाई अनुदान, मल, बीउ, बजार र मूल्यको सुनिश्चितता, तथा सुशासनलाई व्यवहारमै उतार्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन्।
भण्डारीले गलत र असक्षम व्यक्तिलाई जिम्मेवारी दिनु नै भ्रष्टाचार भएको उल्लेख गर्दै पारदर्शिता र उत्तरदायित्वलाई संस्थागत गर्नुपर्ने बताएका छन्। साथै सीमित राजस्वको प्रभावकारी उपयोगका लागि खर्च कटौती, प्राथमिकता निर्धारण र उत्तरदायी बजेट आवश्यक रहेको धारणा राखेका छन्।
उनले “म भन्दा हामी” को भावनालाई बलियो बनाउन आग्रह गर्दै विगतमा देश, लोकतन्त्र र अस्तित्वका लागि भएका त्यागप्रति सम्मान कायम राख्नुपर्ने बताएका छन्।
अन्त्यमा उनले देश, जनता र प्रजातन्त्रका पक्षमा वर्तमान नेतृत्व स्मरणीय बन्ने विश्वास व्यक्त गरेका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










