दसैँ आयो। गाउँघरमा खुसी छायो। कसैका घरमा नयाँ लुगा भित्रिए, कसैका घरमा मासु र चामलको जोहो भयो। छोराछोरीका अनुहारमा खुसी देख्न पाउँदा आमाबुबाले आफ्ना दुःख बिर्सिए। तर सबैका लागि चाडपर्व खुसीको मौसम बनेर आउँदैन। कसैका लागि दसैँ ऋणको भारी हुन्छ, कसैका लागि अभावको पीडा र कसैका लागि घरभित्रै सुरु हुने झगडाको त्रास।
रामु एउटा मजदुर हो। बिहान घाम नउदाउँदै कामको खोजीमा निस्किन्छ, साँझ शरीरभरि पसिना र थकान बोकेर फर्किन्छ। उसले कमाएको पैसामा आफ्नो मात्रै होइन, श्रीमती र छोराछोरीको सपना पनि जोडिएको हुन्छ। कहिले काम पाइन्छ, कहिले पाइँदैन। कहिले ज्याला समयमा आउँछ, कहिले साहुको ढोकामा पुगेर हात जोड्नुपर्छ।
दसैँ नजिकिँदै थियो। छोराछोरीले नयाँ लुगा मागिरहेका थिए। श्रीमतीलाई घरखर्चको चिन्ता थियो। रामुलाई पनि थाहा थियो—चाडपर्वमा खाली हात घर फर्किनु भनेको आफ्नै परिवारको अगाडि आफूलाई असहाय महसुस गर्नु हो।
त्यसैले उसले अरू बेलाभन्दा बढी काम गर्यो। दिनभरि भारी बोक्यो, इँटा र बालुवा ओसार्यो, साँझसम्म शरीर गलायो। कतैबाट केही पैसा सापटी पनि माग्यो। उसको सपना ठूलो थिएन। छोराछोरीले नयाँ लुगा लगाऊन्, घरमा मीठोमसिनो पाकोस्, श्रीमतीको अनुहारमा खुसी देखियोस् र परिवारसँग बसेर एक छाक खाना खान पाइयोस्—उसका लागि दसैँ यत्ति नै थियो। तर मजदुरको कमाइले अभावसँग सधैँ जित्न कहाँ सक्थ्यो र !
घरमा चामल, तेल, नुन, तरकारी र अरू आवश्यक सामान किन्नुपर्थ्यो। पुरानो ऋण तिर्नुपर्ने दबाब पनि थियो। एकातिर परिवारको अपेक्षा, अर्कोतिर खाली हुँदै गएको खल्ती। रामु बाहिरबाट कठोर देखिए पनि भित्रभित्रै चिन्ताले थिचिएको थियो।
चाडपर्वको बेला गाउँघरमा जाँडरक्सी खाने चलन पनि कतिपय ठाउँमा सामान्यजस्तै मानिन्छ। साथीभाइको करकाप, दिनभरको थकान बिर्सने बहाना वा मनको पीडा भुल्ने प्रयासमा कतिपय मजदुर रक्सीको सहारा लिन्छन्। तर जसलाई दुःख बिर्सने औषधि ठानिन्छ, त्यही रक्सीले कहिलेकाहीँ घरभित्रको दुःखलाई झन् गहिरो बनाइदिन्छ।
रामु पनि एक साँझ साथीहरूसँग बसेर रक्सी पिएर घर फर्कियो। उसले घर पस्दा छोराछोरी सुतिसकेका थिए। श्रीमती दिनभरको कामले थाकेकी थिइन्। घरखर्चको चिन्ता, अभाव र मनमा थुप्रिएका गुनासा थिए। रामुको मुखबाट रक्सीको गन्ध आयो। श्रीमतीको रिस एकाएक पोखियो।
‘दिनभरि कमाएको पैसा कहाँ खर्च गरिस् ? घरमा के छ भन्ने थाहा छैन ? छोराछोरीको चिन्ता छैन ?’ रामुले पनि जवाफ फर्कायो। एउटा शब्दले अर्को शब्द निम्त्यायो। पुराना गुनासा निस्किए। आर्थिक अभावको पीडा व्यक्तिगत आरोपमा बदलियो। एकअर्कालाई बुझ्ने प्रयासभन्दा आफू सही भएको प्रमाणित गर्ने होड चल्यो।
त्यो रात उनीहरूबीच केवल श्रीमान्–श्रीमतीको झगडा भइरहेको थिएन। त्यहाँ गरिबी, ऋण, असुरक्षा, अधुरा अपेक्षा, थकान र रक्सीले थप चर्काएको आवेग एकैपटक ठोक्किरहेका थिए।
कहिलेकाहीँ घरको झगडा गालीगलौजमै सीमित हुँदैन। धकेलाधकेल, कुटपिट र हातमा भेटिएको वस्तु प्रहार गर्ने अवस्थासम्म पुग्छ। त्यसपछि केही सेकेन्डको आवेगले वर्षौँको सम्बन्ध, छोराछोरीको भविष्य र दुई परिवारको जीवन तहसनहस बनाउन सक्छ ।
कल्पना गरौँ, त्यही झगडाले कुनै घरमा गम्भीर घटना निम्त्यायो। कसैको ज्यान गयो, अर्को व्यक्ति प्रहरीको नियन्त्रणमा पुग्यो। भोलिपल्ट हत्कडी लगाइएको तस्बिर सार्वजनिक भयो।
सामाजिक सञ्जालमा टिप्पणीहरू आउन थाले—‘थुक्क !’, ‘यस्तालाई कडा सजाय दिनुपर्छ !’, ‘मान्छे मार्ने अपराधी !’तर ती टिप्पणी गर्नेहरूमध्ये कति जनाले घटनाअघिको परिस्थिति बुझ्ने प्रयास गरे ? कति जनाले परिवारको आर्थिक अवस्था, झगडा कसरी सुरु भयो, हिंसा कसरी बढ्यो र घटनाको वास्तविक क्रम के थियो भनेर प्रश्न गरे ?
यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ—गरिबीले कसैलाई हिंसा गर्ने छुट दिँदैन। रक्सीले पनि कसैको ज्यान लिने अधिकार दिँदैन। श्रीमतीले गाली गरिन् भन्दैमा श्रीमान्ले कुटपिट गर्न पाउँदैनन्। श्रीमान्ले रक्सी पिए भन्दैमा श्रीमतीमाथि हुने हिंसा जायज हुँदैन। घरभित्रको अपमान, तनाव वा पीडा जेसुकै भए पनि त्यसको समाधान हिंसा होइन।
तर अभियोग लागेका व्यक्तिको तस्बिर हेरेरै घटनाको सम्पूर्ण सत्य थाहा पाइयो भन्नु पनि उचित हुँदैन। मृतकको पीडा र अधिकार जति महत्त्वपूर्ण छन्, घटनाको निष्पक्ष अनुसन्धान र अभियुक्तको कानुनी अधिकार पनि उत्तिकै महत्त्वपूर्ण छन्। कसैलाई दोषी वा निर्दोष ठहर गर्ने काम आवेगमा आएका टिप्पणीको होइन, प्रमाण, अनुसन्धान र न्यायिक प्रक्रियाको हो।
हामीले चाडपर्वमा घर सजाउँछौँ, मीठोमसिनो पकाउँछौँ, नयाँ लुगा किन्छौँ र परिवारसँग खुसी साट्न खोज्छौँ। तर घरमा शान्ति छैन भने नयाँ लुगाले खुसी दिन सक्दैन। भान्सामा मीठो खाना छ, तर मनमा घृणा र आक्रोश छ भने त्यो भोजले परिवार जोड्न सक्दैन।
मजदुर श्रीमान्को पनि पीडा हुन्छ। दिनभरि श्रम गरेर घर फर्किने महिलाको पनि पीडा हुन्छ। अभावमा हुर्किरहेका बालबालिकाको पनि पीडा हुन्छ। एउटाको पीडा बुझ्न अर्कोको पीडा अस्वीकार गर्नुपर्दैन। श्रीमान् र श्रीमती दुवैलाई सुन्ने, बुझ्ने र हिंसाबाट टाढा राख्ने वातावरण चाहिन्छ।
चाडपर्वमा मदिरा सेवनलाई प्रतिष्ठा, मर्दाङ्गी वा दुःख बिर्सने उपाय ठान्ने सोचमाथि पनि प्रश्न गर्नुपर्छ। मनमा तनाव छ भने कुरा गरौँ। आर्थिक समस्या छ भने परिवारसँग बसेर उपाय खोजौँ। झगडा बढ्दै छ भने केही समय अलग बसौँ, विश्वासिलो व्यक्तिको सहयोग लिऔँ।
कसैमाथि तत्काल हिंसा हुने जोखिम छ भने सुरक्षित ठाउँमा जाऔँ र आवश्यक परे प्रहरीको सहयोग मागौँ। आवेगको क्षण बितेपछि समस्या समाधान गर्ने अवसर बाँकी रहन सक्छ; हिंसाले त्यो अवसरसमेत खोस्न सक्छ।
दसैँको वास्तविक अर्थ घरमा मासु पाक्नु, नयाँ लुगा लगाउनु वा टीका लगाउनु मात्रै होइन। एकअर्काको दुःख बुझ्नु, अपमान नगर्नु, हिंसा नगर्नु र परिवारका सदस्यलाई सुरक्षित महसुस गराउनु पनि दसैँकै खुसी हो।
रामुजस्ता मजदुरका हातमा ठेला छन्, काँधमा जिम्मेवारी छ र मनमा परिवारलाई खुसी राख्ने सपना छ। उनीहरूको सपना अभावले थिचिन सक्छ, तर रक्सी र घरेलु हिंसाले त्यसलाई पूर्ण रूपमा भत्किन नदिऔँ। श्रीमतीको पीडालाई पनि सामान्य नठानौँ। घरलाई युद्धभूमि होइन, दुःख बाँड्ने ठाउँ बनाऔँ।
चाडपर्वमा रक्सीको नशाभन्दा सम्बन्धको माया बलियो बनाऔँ। आवेगभन्दा विवेक ठूलो बनाऔँ। हत्कडी लागेको तस्बिर हेरेर मात्रै फैसला नगरौँ, तर घरेलु हिंसालाई कुनै बहानामा उचित पनि नठहर्याऔँ। घटनाभित्रको सत्य खोजौँ, पीडितलाई न्याय दिलाऔँ र अर्को घरमा यस्तै दुःख नदोहोरियोस् भनेर आजैदेखि सोचौँ।
किनकि चाडपर्वको सबैभन्दा ठूलो खुसी भनेको परिवारका सबै सदस्य सकुशल, सुरक्षित र सम्मानपूर्वक एउटै छानामुनि बस्न पाउनु हो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









