गुल्मी: बागलुङको बडिगाड गाउँपालिका वडा नं ६ स्थित एक ओडारमा कष्टकर जीवन बिताईरहेका परिवारलाई समाजसेवी लिल बहादुर थापाले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिनुभएको छ।
केही समय अगाडी ओडारमा बसेका जुना दमाईको परिवारलाई उहाँले व्यक्तिगत खर्चमा घडेरी किनिदिई लाल पुर्जा हस्तान्तरण गर्नुभएको थियो । उक्त घडेरीमा घर बनाई समाजसेवी थापाले दमाई परिवारलाई एक कार्यक्रमकाबीच शुक्रवार हस्तान्तरण गर्नुभएको हो।
घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका परिवारलाई थापाले व्यक्तिगत खर्चमा हालसम्म कोठा भाडामा राख्नुभएको थियो। घर हस्तान्तरण कार्यक्रम पश्चात जुना दमाईले आफ्ना जीवनमा भगवानको रुप लिएर समाजसेवी थापा आउनुभएको बताउनुभयो। उहाँले आफुले कहिले पनि ओडारबाट फेरी घरसम्म जान पाईएला भनेर कल्पना पनि नगरेको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सिगों राज्यले निभाउनुपर्ने जिम्मेवारी समाजसेवी थापाले स्वम्ं एक्लैले गरेको भन्दै यो नेपालमै पहिलो पटक आफुले देखेको बताउनुभयो । उहाँले पिडित नागरिकहरुको अवस्थाका बारेमा चित्रण गरी समाजसेवी लिल बहादुर थापा जस्ता दानवीर व्यक्तिहरु जुटाएर यति ठुलो पुण्य कर्म गरेको भन्दै जिटिभि नेपाललाई समेत धन्यवाद व्यक्त गर्नुभयो।
यो पनि: बागलुङको बडिगाडमा ओडारमा बस्ने जुनाको बन्न थाल्याे घर
त्यस्तै बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले जुना दमाईको परिवारलाई लालपुर्जा हस्तान्तरण कार्यक्रममा आफु पनि सहभागी भएको स्मरण गर्दै समाजसेवी थापा बाँकेको मान्छे भएर पनि बागलुङको ग्रामीण क्षेत्रमा गरिब परिवारलाई घर निर्माण गरिदिए लाखौँ पुण्यको काम गर्नुभएको बताउनुभयो । उहाँले पुण्य कमाउन पुजाआजा गर्नेभन्दा पनि यस्ता दुखी र गरिब परिवारहरुलाई सहयोग गर्न सके वास्तविक पुण्य हुने समेत बताउनुभयो । आफुलाई सुन्दा पनि चलचित्रको कथा वस्तु लागेको भन्दै उहाँले राज्यले लिल बहादुर थापा जस्ता व्यक्तिहरुलाई सम्मान गर्न सक्नुपर्ने समेत बताउनुभयो।
बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले दानवीर लिल बहादुर थापा जस्ता व्यक्तिहरु अझै प्रत्येक ठाउँमा हुन सकेमा कोही पनि दुखी गरिब भएर बस्नुनपर्ने बताउनुभयो।
त्यस्तै बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले आफ्नै वडाका नागरिकहरुले घर पाउँदा आफुलाई पनि खुसी लागेको भन्दै लिल बहादुर थापा एक्लैले सिगों गाउँपालिका र स्थानीय सरकारलाई समेत शिक्षा दिनुभएको बताउनुभयो। वडाध्यक्ष आचार्यले सोही अवसरमा जुना दमाईका छोरा छोरीलाई भानु माध्यमिक विद्यालयमा अध्ययन खर्चको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा वडा नं ५ का पूर्व वडाध्यक्ष अर्जुन प्रसाद खरेलले धन आर्जन र धनी व्यक्तिहरु यो देशमा भएपनि लिल बहादुर थापा जस्ता दानवीर व्यक्तिहरु भने थोरै मात्र हुने भन्दै व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने यो महान कार्य गर्नुभएको भन्दै उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय बदनामी बनेको पत्रकारितालाई जिटिभि नेपालमा कार्यरत पत्रकारहरुले चुनौती दिएको भन्दै यस्ता पत्रकारहरुको समाजमा खाँचो रहेको बताउनुभयो।
घरको आर्थिक अवस्था निकै कमजोर भएका दमाई परिवारको जि टिभी नेपालका सञ्चालक दिपक नेपालीले सञ्चालन गरेको कार्यक्रम संघर्षका कथा मार्फत प्रशारण भएको भिडियो सामाग्री देखेर र सुनेर समाजसेवी थापाले घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
४ जनाको परिवार सहित बस्दै आउनुभएका वृद्ध चाउरे दमाईले घर पाएपछि गहभरी आँसु झार्दै आफूहरुको लागि साँच्चै नै जिउँदो भगवान भएर लिल बहादुर थापा आएको भन्दै खुशी व्यक्त गनुभयो।
घर हस्तान्तरण कार्यक्रममा जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जिटिभि नेपालले उठाएको विषयलाई हेरेर घर नै निर्माण गरिदिनुभएको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यो अभियानमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सम्पूर्णलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |