आर्थिक र भावनात्मक एकताका लागि विशेष अपिल!
गाउँका साहु-महाजनहरूको सय कडा १० को चर्को ब्याज र छ-छ महिनामा ब्याजको पनि स्याज थपेर उठिवास लगाएको भोग्ने हामी नै हौँ। ब्याजको स्याज मात्रै कहाँ हो र?
भैँसी ब्याउने बित्तिकै “मलाई आजै चाहिन्छ” भन्दै थाल खाऊँ कि भात खाऊँ पारि लैनो भैँसी फुकाएर लाने र सार्वजनिक स्थानमा जात काढेर अपमान गर्ने त्यो सामन्ती प्रथा हामीले भुलेका छैनौँ।
साहुको त्यही ऋण र अपमानकै कारण हाम्रा कयौँ बाउ-बाजेले झुन्डिएर ज्यान फाल्नुपरेको पीडादायी इतिहास हाम्रा आमा-बाबुले सुनाउँदा अझै पनि छाती चिरिन्छ।
हामी आफैँले पनि बाल्यकालमा यो पीडा खुब भोग्यौँ। वैदेशिक रोजगारीमा जाँदा जम्मा ५० हजार ऋण काढेको, तर डेढ वर्षमै डेढ लाख थैलो पुर्याएर तिर्नुपर्दाको त्यो क्षण सम्झिँदा आज पनि गहभरि आँसु आउँछ। हो, हामी दलितका भोगाइहरू निकै पीडादायी र दर्दनाक छन्।
तर, अब समय फेरिएको छ! तिनै पीडा र चुनौतीहरूलाई भोग्दै सदरमुकाममा रहेका हामी विभिन्न क्षेत्रका सचेत दलित साथीभाइहरू (कोही वकिल, कोही पत्रकार, कोही राजनीतिकर्मी त कोही विभिन्न संघसंस्थाका अभियन्ताहरू) मिलेर एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना गरी अगाडि बढेका छौँ। ‘ओझेलका खबर’ पनि यस सहकारीको एउटा बलियो हिस्सा हो।
आज हाम्रो ५औँ स्थापना दिवसको पावन अवसरमा हामी यो विशेष अपिल गर्दछौँ कि— हाम्रो उद्देश्य हरेक दलित परिवारका प्रत्येक सदस्य यस सहकारीको धनी बनून्, र रोजगारीका लागि कसैले सहर वा विदेश भौँतारिनु नपरोस्। सहकारीकै लगानीबाट गाउँ-गाउँमा रोजगारी र स्वरोजगारी सिर्जना होस्।
आउनुहोस्, दुख-सुखमा एकले अर्कोलाई हरप्रकारको साथ दिने भावनात्मक र आर्थिक एकताको यो यात्रामा हातमा हात र साथमा साथ मिलाएर अगाडि बढौँ!
एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गुल्मी
मुख्य कार्यालय: रेसुङ्गा नगरपालिका, तम्घास, भिमचोक (सदरमुकाम)
(कार्यक्षेत्र: गुल्मी जिल्लाका २ नगरपालिका र १० गाउँपालिका — भविष्यमा लुम्बिनी प्रदेशभर विस्तार गर्ने लक्ष्य)
हाम्रो ऐतिहासिक यात्रा:
प्रथम प्रारम्भिक भेला: २०७६ चैत्र १५ गते
दर्ता प्रक्रिया सुरु: २०७७ भदौ १८ गते
आधिकारिक दर्ता मिति: २०७८ असार ३१ गते (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश)
वर्तमान अवस्था:
कुल शेयर सदस्य संख्या: ३०५ जना
बाल बचतकर्ता: ३० जना
संस्थाको नेतृत्व (गर्विलो टिम):
१. संचालक समिति
अध्यक्ष: श्री कृष्ण विश्वकर्मा
उपाध्यक्ष: श्री इश्वरी परियार
सचिव: श्री दल वहादुर विश्वकर्मा
कोषाध्यक्ष: श्री उजेली विश्वकर्मा
सदस्यहरू: श्री झविन्द्र विश्वकर्मा, श्री कमला बराल, श्री सिता विश्वकर्मा, श्री छविलाल विश्वकर्मा, श्री एमवहादुर नेपाली, श्री शुशिला नेपाली, श्री सुवर्ण वराल।
२. लेखा सुपरीवेक्षण समिति
संयोजक: श्री हरिकृष्ण विश्वकर्मा
सदस्यहरू: श्री रामु सुनार, श्री जमुना वराल
सम्पर्क एवं आबद्धताका लागि:
तपाईं पनि यस ऐतिहासिक दलित समृद्धि अभियानको हिस्सा बन्न चाहनुहुन्छ भने आजै संस्थाको मुख्य कार्यालय तम्घास भिमचोकमा वा माथि उल्लेखित नेतृत्व तहका साथीहरूलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ।
“दलित समुदायको समृद्धि र आर्थिक आत्मनिर्भरता— हाम्रो साझा अभियान!”
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




आर्थिक र भावनात्मक एकताका लागि विशेष अपिल!