किशोरको सस्तो मराई, परिवारलाई पिडाको महँगो भोगाइ
प्रेम सुनार
गुल्मी, २५ असार । मान्छे गरिब होस् वा धनी, परिवारभित्रको खुसी वा पीडाको मूल्य बराबर हुन्छ। नियोजित रूपमा होस् या दुर्भाग्यवश, जब मान्छेले मान्छे मार्ने वा ज्यान जाने घटना घट्छ, तब मृतक पक्ष त शोक र आँसुको आहालमा डुब्छ नै, तर घटना गराउने पक्षको परिवार पनि उत्तिकै मानसिक र सामाजिक पीडामा छटपटिन बाध्य हुन्छ।
यसको पछिल्लो कसिलो र कारुणिक उदाहरण बनेको छ— यही असार २१ गते राती गुल्मीको रेसुङ्गा क्षेत्रमा भएको जिप दुर्घटना। यो केवल एउटा सडक दुर्घटना मात्र थिएन, दुर्घटनाभित्रको अर्को ठूलो पारिवारिक दुर्घटना पनि थियो।
राती १० बजे… जब आमाबुबाको मन छटपटिन थाल्यो
त्यस कालो रात गाडीमा सवार जति पनि किशोरहरू थिए, ती सबै आफ्ना आमाबुबाका कलिला र अमूल्य सपनाहरू थिए। साँझसम्म घरमै रहेका छोराहरूमध्ये कोही आमाको हातले पकाएको खाना खाएर निस्किएका थिए भने कोही आमाहरू छोरा फर्केर आउला र खाना पस्किएर सँगै खाउँला भन्ने बेहद प्रतीक्षामा थिए।
रातको १० बज्यो, आमाबुबाले बाटो हेरिरहे। तर न कोही छोराहरू फर्के, न त उनीहरूको फोन नै उठ्यो। आमाबुबाको मन अज्ञात डर र छटपटीमा बित्दै गर्दा एक्कासि प्रहरीले उनीहरूलाई गाडी दुर्घटनाको कहालीलाग्दो खबर सुनायो। क्षणभरमै ती परिवारमा बज्रपात आइलाग्यो। अर्कोतर्फ, दुर्घटनाको खबर पाउनासाथ ग्यारेज सञ्चालक बुबा छाँगाबाट खसेजस्तै भए।
”अमुक नम्बरको गाडी दुर्घटना भयो रे! हे भगवान्, यो त मेरो ग्यारेजमा मर्मतका लागि आएको गाडी हो, कसले लगेर पल्टायो? अघि भर्खरसम्म त गाडी ग्यारेजमै सुरक्षित थियो। कसले कसरी लग्यो, आखिर साँचो त म यहाँ कोठामै राखेर सुतेको थिएँ!”
बुबाको यो चित्कार र अर्कोतर्फ सन्तान गुमाएको परिवारको कारुणिक रोदनले सिंगो तम्घास बजारलाई स्तब्ध बनायो।
किशोरवयको लापरवाही र अभिभावकलाई ‘जङ्गबहादुर’ बन्ने आदेश
यो घटनाले आजका हरेक अभिभावकहरूलाई आफ्ना छोराछोरीको निगरानीमा कडा र ‘जङ्गबहादुर’ जस्तै अनुशासनप्रिय बन्न ठाडो आदेश दिएको छ। आजभोलि कतिपय युवापुस्तामा घरमा काम नगर्ने, स्वदेशको रोजगारीलाई दुरुत्साहन गर्ने, तर खल्तीमा सुको नहुँदा पनि लाखौँ खर्च गरेर अस्ट्रेलिया, बेलायत, जापान र अमेरिका पुग्ने महत्वाकांक्षी सपना बुन्ने रोग लागेको छ।
कक्षा १२ मा पढ्ने उमेरसम्म छोराबाट आमाबुबाले आम्दानीको ‘अ’ सम्म पाएका हुँदैनन्, तर खर्च र बदमासीको फेहरिस्त भने दिनदिनै सुन्नु परिरहेको हुन्छ। गलत सङ्गत, लागूपदार्थको कुलत र जथाभाबी अपरिपक्व सम्बन्धका कारण आज कैयौँ आमाबुबाहरू ‘हाम्फालेर मरौँ कि’ जस्तो मानसिक अवस्थामा पुगेका गुनासाहरू समाजमा व्याप्त छन्। सायद, यसैको दर्दनाक परिणाम थियो असार २१ गते राती रेसुङ्गामा भएको यो मानवीय र भौतिक क्षति पनि।
कसरी भएको थियो दुर्घटना?
जिल्ला प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र विश्वकर्माका अनुसार मृतकका परिवारजन, गाडी धनी र ग्यारेजवालाबीच सहमति जुटेपछि आज शव उठाउने टुङ्गो लागेको छ। सहमति अनुसार ग्यारेज सञ्चालक ईश्वर कामीले तत्काललाई किरिया खर्चबापत ५० हजार रुपैयाँ दिने, गाडीको बीमा प्रक्रिया अगाडि बढाउने र यदि बीमाबाट रकम नआएमा पनि मृतकका परिवारलाई साढे ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।
सरोकारवालाको गुनासो: “मृत्यु सस्तो भयो, पीडा महँगो भयो”
बिचरा ती कलिला बालकको मृत्यु निकै सस्तो भयो भनेर सरोकारवालाहरूले गम्भीर गुनासो र असन्तुष्टि व्यक्त गरेका छन्। मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन सहजीकरण गरेका जिल्ला समन्वय सदस्य शेर बहादुर बिक र मृतकका दाजुभाइ पर्ने युवा नेता शंकर नेपालीले आक्रोश र पीडा मिश्रित स्वरमा भन्नुभयो:
”ग्यारेजवालाका छोराको लापरबाही र गल्तीका कारण यो भयानक दुर्घटना निम्तियो। पीडक पक्ष गरिब श्रमजीवी भएकाले कानुनी र आर्थिक रूपमा धेरै कस्न पनि सकिएन। उनी अति नै गरिब परिवारका छोरा थिए, त्यसैले आज ती कलिला किशोरको मृत्यु निकै सस्तो भयो, तर उनको परिवारलाई भने यो पीडा र यसको भोगाइ निकै महँगो भएको छ।”
प्रहरीका अनुसार असार २१ गते राती साढे दुई बजेतिर रेसुङ्गाको लमहादेव पोखरी तर्फबाट आउँदै गरेको लु १ ज १५२८ नम्बरको सफारी जिप रेसुङ्गा नगरपालिका–८ को गड्जुरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो। ६ जना सवार उक्त जिप दुर्घटना हुँदा तम्घास बाघमारेका १६ वर्षीय सुदिप नेपाली गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि पाल्पा लैजाने क्रममा रिडी नपुग्दै बाटोमै ज्यान गयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









