नेपालका सामुदायिक र संस्थागत विद्यालयमा नर्सरीदेखि प्लस–टुसम्म पढेका कतिपय विद्यार्थीलाई यदि सोधियो—”कोदो टुप्पामा फल्छ कि फेदमा?” धेरैजना अलमलिन्छन्। “यो कुन फूल हो?” भनेर मखमली, गुराँस, गुरादौली वा गजेरी देखाउँदा पनि उत्तर अनुमानमै सीमित हुन्छ। घरमा सुनेका केही फूलका नाम सम्झेर भन्ने चलन बढेको छ, तर आफ्नै माटोमा फुल्ने फूलसँगको चिनजान भने बिस्तारै ओझेल पर्दै गएको महसुस हुन्छ।
यही कुरा किन सम्झिएँ भने…
गत वर्ष तिहार मनाउन धेरै वर्षपछि नेपाल फर्कँदा गाउँ–सहरका बजारमा एउटा परिवर्तन देखेँ। हामी सानो हुँदा आफ्नै बारीका मखमलीका माला लगाउँथ्यौँ, अहिले धेरै युवाको रोजाइ कागज र प्लास्टिकका कृत्रिम माला रहेछ। अझ दुःखलाग्दो त के लाग्यो भने, कतिपयलाई मौलिक फूलको नाम नै थाहा थिएन।
तिहार सकिएपछि फेरि जापान फर्किएँ। तर यहाँ आएर एउटा दृश्यले मन छोयो।
जापानको चिबा प्रिफेक्चर, साकुरा सिटीस्थित गोर्खा पिक इन्टरनेशनल स्कुल (GPIS) मा साना नेपाली बालबालिका हातमा मोबाइल होइन, कुटो–कोदालो बोकेर माटो जोतिरहेका थिए। उनीहरू मखमली रोप्दै थिए। त्यो दृश्य देख्दा लाग्यो—नेपालमा हराउँदै गएको माटोसँगको सम्बन्ध जोगाउने प्रयास त परदेशमा पो भइरहेको रहेछ।
विदेशमा जन्मिएका धेरै नेपाली बालबालिकाले खेत देखेका हुँदैनन्। उनीहरूलाई विद्यालयमै सिकाइँदै छ—कोदो, मकै, धान र गहुँ पसलमा फल्दैनन्, खेतमा फल्छन्। दूध डेरीले बनाउने होइन, गाई–भैँसीले दिन्छन्। तर त्यसका लागि घाँस काट्नुपर्छ, स्याहार गर्नुपर्छ।
परम्परागत बालीदेखि नेपाली तरकारी, फलफूल, कला, संस्कृति, चाडपर्व र रीतिरिवाजसम्मलाई व्यवहारिक शिक्षासँग जोड्ने अभियानमा गोर्खा पिक इन्टरनेशनल स्कुल, अध्यक्ष डिलाराम खरेल, फ्याकल्टी डाइरेक्टर एवं उपाध्यक्ष पर्शुराम खरेल लगायतको टोली जुटेको छ। उनीहरूको उद्देश्य एउटै छ—जापानमा हुर्किए पनि आफ्ना सन्तानले नेपाली माटो नबिर्सून्।
सायद यही कारण, जापानमा मैले देखेको त्यो कुटो–कोदालो केवल कृषि औजार थिएन। त्यो त पुस्तादेखि पुस्तासम्म नेपालीपन हस्तान्तरण गर्ने एउटा जीवित पाठशाला थियो र त्यसका अभियान्त मन -चिन्तनका सङ्ग्रहलय हुन ।
( रिपोर्टरको डायरी : सिर्जना ढकालबाट , ओझेलका खबर प्रतिनिधि टोकियो ,जापान )

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |