हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ विरवासमा ल्याबसहितको मेडिकल सेवा सुरु भएको छ। विरवास हेल्थ क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरले सोमबारदेखि नियमित रुपमा सेवा सुरु गरेको हो।
सेन्टरको सोमबार एक औपचारिक कार्यक्रमका बीच गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विरवास जस्तो ठाउँमा ठुलो लगानीमा ल्याबसहितको सेवा सुरु गर्ने संस्थालाई धन्यवाद् दिए। ‘ग्रामीण भेगमा ल्याबसहित विशेषज्ञ डाक्टरसहितका स्वास्थ्य सेवा संचालन गर्नु आफैमा चुनौतिपूर्ण छ ।’ उनले भने, ‘यसको दीगोपनाका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग हुन्छ।’
संस्थाले आफ्नो सेवा सुरु गरेको अवसरमा एक दिनको लागि निःशुल्क विशेषज्ञ सेवा पनि प्रदान गरेको छ । डाक्टर दिपक श्रेष्ठले महिला तथा स्त्री रोग, डाक्टर सन्तोष शर्माले नाक, कान तथा घाँटी, डाक्टर विजय यादवले मुटु एवम् डाक्टर शम्भु खनालले जनरलसम्बन्धि जाँच गरेको संचालक केपी भण्डारीले जानकारी दिए।
भण्डारी र छविलाल पाण्डेले एक करोडभन्दा बढीको लगानीमा ल्याबसहितको सेवा संचालन गरेका हुन् । संचालक केपी भण्डारीले विभिन्न रोगका कारण जिल्लाबासी जिल्लाबाहिर जान नपरोस् भन्ने उदेश्यले ल्याबसहितको स्वास्थ्य सेवा संचालन गरिएको बताए । सेन्टरले प्रत्येक शनिबार विशेषज्ञ डाक्टरसहितको सेवा दिने भएको छ।
जसअन्तरगत हरेक महिनाको पहिलो शनिबार मुटु, छाला, यौन र कुष्ठरोगसम्बन्धि सेवा दिनेछ । त्यसैगरी दोस्रो शनिबार नाक, कान, घाँटी, पिनाश, थाईराईड, महिला, प्रसुति तथा बाँझोपनसम्बन्धि, तेस्रो शनिबार सुगर, थाईराईड, प्रेसर, पेट, छाती, मुटु तथा कलेजो एवम् नशासम्बन्धि र चौथो शनिबार हाडजोर्जी, नशा र बाथरोगसम्बन्धि सेवा प्रदान गर्ने संचालक केपी भण्डारीले जानकारी दिए।
कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








