सूर्य सुनार/सम्पादक, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका अपाङ्गता भएकाहरुको सहारा बन्दै गएको छ। नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुको घरमै पुगेर आवश्यक सहयोग प्रदान गरेको छ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ मा अपाङ्ग भएका चुदरीगाउँका अशोक सुनारलाई बैसाखी, सोही वडाका चौरमा रहेका यादव थापालाई वालकर र सोही ठाउँका केशव पुन मगरलाई लौरो उपहार दिएको मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष शंकर रायमाझीले जानकारी दिनुभयो।
वडा कार्यालयद्वारा ०७९/०८० को नीति तथा कार्यक्रममा रहेको कार्यक्रम अनुसार उनीहरुलाई सहयोग स्वरुप उपहार प्रदान गरिएको रायमाझीले बताउनुभयो। मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुवँर, वडाध्यक्ष शंकर रायमाझी घरमै पुगेर उनीहरुलाई साहराको लागि आवश्यक सामग्री सहयोग गरिएको हो।
मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुवँरले नगरपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको अझै पहिचान गरी स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
स्थानीय सरकार भनेको जनताको नजिकको सरकार भएको हुँदा अपाङ्ग भएका व्यक्तिहरुको घरमै पुगेर सहयोग गरिएको वडाध्यक्ष शंकर रायमाझीले बताउनुभयो। मुसिकोट नगरपालिकाले अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। अझै नगर तथा वडामा थप पहिचान गरी उनीहरुको क्षेत्रमा नगरपालिकाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि आवाज उठाउदै आएको संस्था सालिक खत्री फाउन्डेसनका संस्थापक सालिक खत्रीले यो सकारात्मक कदम भएपनि प्रयाप्त नभएको बताउँछन्। उनी भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिहरुको सम्मानजनक जीवनयापनको व्यवस्था गर्न स्थानीय निकाय गम्भीर हुनु आवश्यक छ। नगर भित्र आवासीय सुविधासहितको विशेष विद्यालयको स्थापना जरुरी छ। सामूहिक आवास, रोजगारी र शिप विकासमा नगरपालिकाले ध्यान देओस्।’
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |