Awareness

Get Vaccinated

गुल्मीको मुसिकोटमा निर्माणाधीन थुम पार्क अलपत्र: नगरपालिकाले दिएन चासो



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सूर्य सुनार, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा निर्माण व्यवसायी र नगरपालिकाले चासो नदिदा पार्क अलपत्र परेको छ। निर्माण व्यवसायीले काम समयमै सम्पन्न नगर्दा पार्क अलपत्र परेको हो।

तर कतिपयले भने यो पार्कलाई नामको मात्रै पार्क भनेर भ्रम फैलाइएको बताएका छन् । मुसिकोट नगरपालिकाको वडा नम्बर ३ थुम भन्ने ठाउँमा संरचनाबिना थुम पार्क भनेर नामाकरण गरिएको छ। संरचना बिना पार्क भनेर नामाकरण गर्नु भनेको नगरपालिकाले चर्चा कमाउने काम गरेको स्थानीय राम बहादुर थापाको भनाई छ।

आर्को एक स्थानीय प्रेम जिसीले पार्क भनेर नामाकरण गरे पनि मन्दिर मात्रै निर्माण गर्न लागिएपनि अलपत्र परेको बताएका छन्। स्थानीय जिसीले पार्कका आवश्यक संरचना बनाउनको लागि नगरपालिका तयार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । पार्क निर्माण समितिबाट पनि केही रकममा पार्क सम्म जाने बाटो र ट्रस्ट निर्माण गरिएको जिसीले बताए।

मुसिकोट नगरपालिकाले वि.सं. २०७८ पुस महिनामा टेन्डर आह्वान गर्यो। सोही टेन्डर रेसुङ्गा नगरपालिका सिमिचौरका निर्माण व्यवसायी कुल बहादुर टन्डनलाई पर्यो।थुम पार्कमा मन्दिर बनाउनको लागि ५० लाखको लागतमा जिम्मा पाएका टन्डनले अहिले सम्म काम पुरा गरेका छैनन् । मन्दिरको काम भ्याउनु पर्ने समय २०७९ को असार मसान्त हो । तर अहिले सम्म काम पुरा हुन नसकेको मुसिकोट नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीको वेवास्ताका कारणले अहिले पार्क अलपत्र परेको नगरपालिकाको भनाई छ।

थुम पार्क व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले मुसिकोट नगरपालिका र निर्माण व्यवसायीको कमजोरीको कारणले गर्दा अहिले पार्क अलपत्र बताए। मुसिकोट नगरपालिकाले १, २, ३ र ४ वडाहरुमा कुनै विकासको काम हुन लागे चासोको साथ नहेर्दा धेरै काम अलपत्र परेको आरोप लगाए । पार्कको नाममा एउटा मन्दिर मात्र निर्माण भएको उनले बताएका छन्।

निर्माण व्यवसायी कुल बहादुर टन्डनले निर्माण लागतको ७ लाख भन्दा बढी रकम लिएको बताए। कोरोना र दक्ष कमदारको अभावका कारण पार्क समयमै बन्न नसकेको उनले बताएका छन्।

समयमै काम सम्पन्न भएको भए पिकनिक स्थलमा रमाइलो गर्नेको भीड देखिन्थ्यो । मुसिकोट नगरपालिकामा थुम पार्क हेर्नका लागि पर्यटकको लर्को लाग्थ्यो । तर बिडम्बना निर्माण व्यवसायिको बेवास्ताको कारण अहिले पार्क बेवारिसे अवस्थामा पुगेको छ । सल्लाघारीभित्र जति संरचना बन्नुपर्ने हो, नबन्दा योजना नै अलपत्र परेको छ।

Awareness by SKF

सार्वजनिक बिदा र फुर्सदको दिन परिवारसहित घुम्ने चौर थियो, थुम डाँडा । तर, अहिले स्थानीय सरकार र निर्माण व्यवसायीको कारणले नामको मात्र पार्क पनि अलपत्र परेको छ। पार्क सम्म जाने सडक भए पनि व्यवस्थित सडक भने अझै बन्न सकेको छैन। मन्दिर मात्र निर्माण गर्न थालिएको चौरलाई पार्क भनेर नगरपालिकाले चर्चा कमाउने मात्र काम गरिरहेको स्थानीयले बताइरहेका छन्।

मन्दिर, प्रतिक्षालय, पानी ट्यांकी, अपुरो गेट, पार्किङलगायत निर्माणका अपुरो संरचनाले यो प्राकृतिक डाँडोलाई गिज्याइरहेको छ। पार्कमा न त कुनै सार्वजनिक शौचालय छ न त पार्किङ क्षेत्र नै बनेको छ। नगरपालिकाले थुम पार्क नाम भनेर पार्कको नामकरण गरे पनि त्यहाँ पार्कमा हुनुपर्ने कुनै संरचना बनेको पाइँदैन।

मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले नामको मात्रै नभई अब थुममा घुम्न लायक पार्क बनाउने दाबी गरे। उनले अलपत्र कामलाई पूरा गर्न र बाँकी काम सुरुवात गर्न आफूहरु तत्काल जुट्ने बताएका छन्। प्रतिक खबर डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया