गुल्मी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत गुल्मी क्षेत्र नं. १ मा सम्पन्न निर्वाचनमा २१५ भन्दा बढी फर्जी मत खसालिएको र धाँधली भएको आरोप सार्वजनिक भएको छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ) का उम्मेदवार होविन्द्र कार्कीले सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत विदेश तथा क्षेत्र बाहिर रहेका मतदाताका नाममा फर्जी मत खसालिएको दाबी गर्दै पुनः मतगणना र छानबिनको माग गर्नुभएको छ ।
यस गम्भीर आरोप र विवादका सम्बन्धमा ‘ओझेलका खबर’ ले उम्मेदवार कार्की, पार्टीका जिम्मेवार पदाधिकारी र निर्वाचन मण्डलसँग कुराकानी गरेको छ।
उम्मेदवार होविन्द्र कार्कीको प्रतिक्रिया:
आरोपी उम्मेदवार होविन्द्र कार्कीले हामीसँग कुराकानी गर्दै यो विषय केवल सामाजिक सञ्जालमा सीमित नभएको बताउनुभयो। उहाँले भन्नुभयो— “मैले फेसबुकमा लेखेको मात्रै होइन, तपाईंहरूलाई बोलाएर पत्रकार सम्मेलन गरेरै छानबिनको माग गर्दैछु। कुरा के हो भने, हाम्रो क्षेत्रीय सम्मेलन रिडीमा राख्ने निर्णय भएको थियो। बेस्सरी पानी पर्यो, जसका कारण रानीबासमा सारिएको अधिवेशनमा खास मतदाता प्रतिनिधिहरू आउन सक्नुभएन।
त्यस बखत २१५ भन्दा बढी फर्जी मत खसेको हामीले पाएका छौँ।” उहाँले यसको छानबिनमा सहयोग गर्ने दायित्व सञ्चार माध्यमको पनि रहेको बताउँदै सहयोगका लागि आग्रह गर्नुभएको छ।
जिल्ला पार्टी सभापति खिलध्वज पन्थीको भनाइ:
यस विषयमा नेपाली कांग्रेस गुल्मीका जिल्ला पार्टी सभापति खिलध्वज पन्थीसँग प्रतिक्रिया माग्दा उहाँले आफूले पनि सामाजिक सञ्जालमार्फत भर्खरै खबर थाहा पाएको बताउनुभयो। सभापति पन्थीले भन्नुभयो— “अधिवेशनको क्षेत्रीय निर्वाचनमा फर्जी मत खसे-नखसेको कुरा मलाई थाहा हुने कुरा भएन। यस विषयमा क्षेत्रीय समितिको निर्वाचन मण्डलसँग नै बुझ्नुपर्छ।”
तत्कालीन क्षेत्रीय सभापति पारिश्वर ढकालको भनाइ:
तत्कालीन क्षेत्रीय समिति सभापति पारिश्वर ढकालले श्रीमतीको उपचारका लागि आफू काठमाडौँ गएको बेला अधिवेशन गराउने जिम्मेवारी हस्तान्तरण गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो— “मैले श्रीमतीको उपचारका लागि काठमाडौँ गएको बेला क्षेत्रीय उपसभापति सन्तोष गौतमजीलाई निर्वाचन गराउने कार्यवाहक जिम्मा दिएर गएको हुँ। होविन्द्र कार्कीज्युले सामाजिक सञ्जालमा लेखेको कुरा मैले पनि भर्खरै थाहा पाएँ। जुन आरोप लागेको छ, त्यसमा सत्यतथ्य छानबिन होला, अरू मलाई थाहा भएन।”
पराजित क्षेत्रीय सभापति उम्मेदवार ( तत्कालीन कार्यवाहक सभापति) सन्तोष गौतमको भनाइ:
अधिवेशनका क्रममा कार्यवाहक सभापतिको भूमिकामा रहनुभएका तथा क्षेत्रीय सभापतिका पराजित उम्मेदवार सन्तोष गौतमले भने निर्वाचन व्यवस्थापनको जिम्मेवारी मात्र आफूले सम्हालेको बताउनुभयो। गौतमले भन्नुभयो— “म कार्यवाहक क्षेत्रीय सभापतिको हैसियतले अधिवेशनको उद्घाटन सत्रदेखि निर्वाचन सम्पन्न गराउने बेलासम्म व्यवस्थापनको जिम्मेवारी निभाउने काम गरेँ। तर मतदाता को-को फर्जी आए र धाँधली भयो-भएन भन्ने हेर्नेतिर लागिनँ, त्यो जिम्मा निर्वाचन मण्डलको हो। यद्यपि, यो कुरा बाहिर आइसकेपछि अब छानबिन हुनुपर्ने देखिन्छ।”
निर्वाचन मण्डलका संयोजक अधिवक्ता भीम न्यौपानेको प्रतिक्रिया:
निर्वाचन गराउने मुख्य जिम्मेवारीमा रहनुभएका निर्वाचन मण्डलका संयोजक अधिवक्ता भीम न्यौपानेले मतदाता प्रमाणित गर्ने काम आफ्नै भएको स्वीकार गर्दै छानबिन भइरहेको बताउनुभयो। संयोजक न्यौपानेले भन्नुभयो— “पहिलो कुरा त मतदाता प्रमाणित गराउने म नै हुँ। अहिले सामाजिक सञ्जालमा आएजस्तो फर्जी मत परे-नपरेको विषयमा म आफैँले हेर्दैछु।”
यसैबीच, नवनिर्वाचित वर्तमान क्षेत्रीय सभापति भरत भलामीसँग प्रतिक्रियाका लागि पटक-पटक फोन सम्पर्क गर्ने प्रयास गरिए पनि उहाँसँग सम्पर्क हुन सकेन। सबै पक्षका भनाइहरू आइसकेपछि अब निर्वाचन मण्डलको छानबिन र आगामी पत्रकार सम्मेलनले यस विषयमा थप सत्यतथ्य बाहिर ल्याउनु पर्ने देखिन्छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









