Awareness Campaign

एमबिए पास गरेका बडिगाडका मोतीलाल बाख्रा पालनमा रमाउँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: वैदेशिक रोजगारीमा जाँदा उनले राम्रो पद र जागिर पाएका थिए। तर, सानैदेखि कृषि पेशामा रमाउने बानी परेकोले विदेशको काम छाडेर घर फर्केपछि एक युवाले लाखौं लगानी गरेर बाख्रा पालन थालेका छन्।

बागलुङको बडिगाड गाउँपालिका-१ दगातुम्डाँडाका मोतीलाल वनले विदेशको जागिर छाडेर बाख्रा पालनमा रमाएका हुन् । भारतको सिमला विश्वविद्यालयमा एमबिए पास गरेपछि केही समय मलेसियाको एक इलेक्ट्रोनिक कम्पनीमा काम गरेर फर्केका वनले गाउँमा कृषि पेशा रोजेका हुन्।

चार वर्ष मलेसियामा काम गर्दा उनले राम्रो कमाई त गरेका थिए । तर, गाउँमा फर्केर केही गर्ने लक्ष पुरा नहुने देखेपछि नेपाल फर्केर बाख्रा व्यवसायमा लागेको बताए । ३६ वर्षका वन अहिले ग्रामीण बस्तीमा कृषि पेशा गरेर रमाएका छन् । उनी अहिले १ सय २० बाख्रा पालेर बसेका छन्।

Forest
Forest
Ad.

बोयर, लोकल खरी तथा जमुनापारी जातका बाख्रा पालेर उनले वर्षको २० लाख बढी कमाइ गर्न भ्याएको बताए । भारत र मलेसियाका ठूला सहरमा बस्दा नपाएको खुसी र सन्तुष्टी गाउँमा बाख्रा पालेर पाएको उनले बताए । ‘सानैदेखि खेतबारीमै काम गर्ने चाहना थियो, मलेसियाको कंपनीमा कुर्सीमा बस्न पाएपनि मलाई चित्त बुझेन’ उनले भने, ‘कहिले घर फर्केर बारी खन्ने ? बाख्रा पाल्ने भन्ने चिन्ताले सतायो ।’ विदेशभन्दा स्वदेशको किसानबाट बढी सन्तुष्टी पाएको उनले बताए।

चार वर्ष काम गरेर मलेसियाबाट फर्केपछि उनले १० लाख लगानीबाट ‘धर्मराज बाख्रा फर्म’ खोलेका हुन् । लगानी बढाएर अहिले ४० लाख पुर्याइसकेका छन्। पछिल्लो पाँच वर्षदेखि उनको फर्म संचालनमा छ। मलेसियाबाट फर्केपछि उनले युट्युवमा देखेका फर्म र काठमाण्डौंस्थित चन्द्रागिरी बाख्रा फर्म देखेर पाएको प्रेरणाले लगानी गरेको बताए । ‘तरकारी खेतीमा लाग्ने चाहना पनि थियो, तर उक्त फर्म देखेपछि मलाइ पनि बाख्रामा मन गयो’ वनले भने, ‘वर्षको ४० वटा खसी बेच्न सके २० लाख बढी फाइदा हुन्छ ।’ ती खसी गाउँमै बिक्री भैरहेको उनले बताए।

बाबु धर्मराज, आमा नर्मती र पत्नि भुमा समेतले फर्ममा साथ दिएका छन् । ४ जना स्थानीय युवाले रोजगारी समेत पाएका छन् । आफ्नै पाखोबारीबाहेक झण्डै २५ रोपनी जमिन छिमेकीको भाडामा लिएका छन् । उक्त बारीमा नेपयर सुपर नेप्यर, किम्बु, भट्टमास, राइखन्यु, नेवारो र हाइब्रिड घाँस समेत लगाएका छन् । हरेक दिन ५० भारी घाँस चाहिने भएकोले नियमित खटिनु पर्ने उनले बताए । बाबुछोराले भेटेनरी तालिम पाएकोले बाख्रालाई लाग्ने रोग तथा अन्य समस्याबारे पनि उनीहरु जानकार छन् । दुई स्थानमा गरी पालिका बाख्रा कहिलेकाहीं चराउने चलन छ।

बंगलादेश र भियतनामबाट आँख्ला ल्याएर सारेको हाइब्रिड घाँसले उत्पादन दिन थालेपछि एक बर्षदेखि सजिलो भएको उनले बताए । ‘इन्टरनेटको जमाना छ, बजार खोज्न पनि कतै जानु पर्दैन’ उनले भने, ‘अधिकांश काम घरमा बसेरै भ्याएको छु ।’ उनको मेहेनत देखेर बिदेश गएका अन्य युवाले पनि गाउँ फर्केर कृषि फसल लगाउने काम थालेको स्थानीय चुडामणी कंडेलले बताए। ‘मेनेजर छाडेर पनि कृषि पेशा गर्न सकिने रहेछ भनेर उनले गाउँलेलाई सन्देश दिएका छन्’ उनले भने, ‘यस्तो मेहेनत गर्ने युवालाई हाम्रा संघसंस्था र सरकारले चिनेको छैन।’ वनले अहिलेसम्म अनुदान र लगानीका लागि कतै माग पनि नगरेको बताए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया