गुल्मी: मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ वामीटक्सारमा चौँथो नौमती बाजा महोत्सव तथा वामी मेलाको तयारी सुरु भएको छ। वामी विश्व सम्पर्क मञ्च अन्तर्गत नौमती सांस्कृतिक समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आएको नौमती बाजा महोत्सव चौँथो संस्करणको तयारी सुरु भएको हो।
समितिले प्रत्येक २ वर्षमा कोजाग्रत पूर्णिमाको पर्सी पल्ट २ दिन महोत्सव आयोजना गर्दै आईरहेको छ । सोही अनुसार यसवर्ष मेला आयोजना हुँदैछ । नेपालको मौलिक नौमती बाजाको संरक्षण र संवद्र्धन सहित यस क्षेत्रमा रहेका विभिन्न मौलिक संस्कृतीहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना हुँदै आएको महोत्सवको तयारी स्वरुप बुधबार वामीटक्सार स्थित होटल दरबारमा सम्पन्न सरोकारवालाहरुको बैठकले यस वर्षको महोत्सव भिन्न प्रकृतिले गर्ने निणर्य गरेको छ ।
महोत्सवलाई वामी क्षेत्रको मात्रै नभएर समग्र मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न भाषा, कला, सम्प्रदाय र स्थानीय मौलिकतालाई समेट्दै महोत्सवलाई व्यवस्थित र सुसज्जित बनाउन प्रारम्भिक चरणको अवधारणा पत्र तयार गर्नका लागि प्रकाश काफ्लेको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलले नौमती सहितका नगरभित्रका अन्य विभिन्न संस्कृतिहरु, सहकार्यको रुपमा जोड्न सकिने स्थानीय विभिन्न संघ संस्था, श्रोत व्यवस्थापन तथा सम्भाव्यता अध्ययन, सम्भावित कार्यक्रम र स्थानीय सरकारसंग सहभागीता बढाउन गर्न सकिने प्रयासका बारेमा अवधारणा पत्र श्रावण मसान्त भित्र तयार गर्ने निणर्य समेत भएको छ ।
छलफलमा वामी विश्व सम्पर्क मञ्च मुल समितिका कोषाध्यक्ष महेश्वर घिमिरेले मञ्चले विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण, आर्थिक अभावमा उपचार नपाएकाहरुलाई उपचार खर्च वितरण सहित स्थानिय मौलक नौमती बाजाको संरक्षणका लागी नौमती बाजा महोत्सव आयोजना गर्दै आएको बताउनुभयो ।
वामी विश्व सम्पर्क मञ्चका संस्थापक सदस्य प्रकाश काफ्लेले मञ्चलाई समग्र नगरक्षेत्रकै संस्थाको रुपमा स्थापित गरी व्यवस्थित र परिस्कृत गर्दै लैजानुपर्ने सुझाव राख्नुभयो । उहाँले महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई सम्मान सहित स्थानीय स्तरलाई पनि आर्थिक समृद्दी हुने गरी कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
मञ्चका पूर्व अध्यक्ष ज्ञानहरि सापकोटाले कृषि, शैक्षिक प्रदर्शनी, खेलकुद र स्थानीय सम्प्रदायका कला संस्कृती समेटने कार्यक्रम समावेश गर्न सुझाव दिनुभयो ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले मुसिकोट नगरपालिका सहयोगी संस्थाको रुपमा काम गर्न तयार रहेको र नगरभित्र रहेका अन्य विभिन्न संघ संस्थाहरुको पनि प्रतिनिधित्व तथा सहकार्यमा कार्यक्रम गर्न आग्रह गर्नुभयो । उहाँले नौमती बाजा महोत्सवलाई समग्र नगरकै महोत्सवकै रुपमा विकसित गर्नुपर्ने भन्दै ऐतिहासिक र दुरगामी कार्यक्रम गर्न सुझाव दिनुभयो ।
भर्चुअल माध्यमबाट आफ्नो धारणा व्यक्त गर्दै नौमती सांस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीले मञ्चको मात्रै नभएर यो नगरकै ऐतिहासिक कार्यक्रम रहेकाले स्थानीय श्रोत र साधनको सदुपयोग हुने गरी कार्यक्रम गरिने बताउनुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङ, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्मा, रुद्रावती बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भुवन केसी, स्थानीय समाजसेवी मेघ प्रसाद श्रेष्ठ लगायतले विभिन्न सुझाव राख्नुभएको थियो ।
मञ्चका कार्यवहाक अध्यक्ष डिलाराम खरेलको अध्यक्षता रहेको छलफल कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गर्दै आईरहेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |