कृष्ण अन्जान, गुल्मी: प्रतिभा प्राथमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ का शिक्षक व्यवस्थापन समितिसँगै शिक्षक अभिभावक संघका पदाधिकारीहरु निम्तो लिएर विद्यार्थीका अभिभावक पुर्वविध्यार्थी, शुभचिन्तक, गाउँका गन्यमान्यहरुका दैलोदैलो पुग्दैछन।
गाउँमा मात्र होईन बुटवल, काठमाडौं, पोखरा र नेपालगण्ज तिर पनि विध्यालयको स्वर्ण महोत्सवको निम्तो बाँड्ने मेलो जारी छ। विक्रम सम्वत २०२४ र ०२५ सालतिरबाट आफ्ना बालबालिकालाई प्रारम्भिक शिक्षाका लागि साविक गौतमटोल गाउँ पन्चायतको जामुनेमा पण्डित दुर्गा प्रसाद ज्ञवालीले चण्डी, रुद्रि, अमरकोश, लघुकौमुदि आदि पढाउन शुरु गर्नु भयो।
पण्डित दुर्गा दत्त ज्ञवालीको यो कदमले शिक्षामा केही चेतना ल्याए सँगै २०२६/०२७ साल तिर गौतमटोलका अभिभावकहरुले पोख्रा भन्ने ठाउँमा १०र१५ जना विद्यार्थी जम्मा पारेर सप्ताह गर्न निर्माण गरिएको टहरोमा अध्यापन शुरु गरिएको हो।
विध्यार्थीबाट संकलित रकमबाट मासिक दुई रुपैयाँ पचास पैसा पाउने गरी थोर्गाकै व्यक्तित्व शालिकराम ज्ञवाली शिक्षक नियुक्त भै अध्यापन शुरु गर्नु भएको इतिहास छ। अनौपचारिक रुपमै भएपनि विध्यालय स्थापना भएपछिको पहिलो शिक्षक शालिक राम ज्ञवाली बन्नुभयो।
तर २०२७/२८ मा स्थानीय व्यक्तित्व तथा हाल रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमको अथक प्रयासले नेपाल राष्ट्रिय प्रतिभा प्राथमिक स्कुलको रुपमा स्वीकृति पाएपछि फल्लेखर्कका दानराज ज्ञवाली शिक्षकमा नियुक्त हुनु भई अध्यापन शुरु गर्नु भएको हो।
यहि विध्यालयले यतिबेला आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सब तथा स्वर्ण महोत्सवका लागि जुटिरहेको छ। ‘हामीले विध्यालयको ईतिहास जिवन्त राख्नकै लागि यो स्वर्ण महोत्सवको आयोजना गरेका छौँ। महोत्सव सफल पार्न यसक्षेत्रका सामाजिक, बौद्धिक, राजनैतिक व्यक्तित्व, पुर्व विध्यार्थी, अभिभावकहरुको मन देखिको सहयोगले हामीलाई उत्साह थपेको छ।’ प्रतिभा प्राथमिक विद्यालय स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक समेत रहेका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतमले बताए।
‘हामीले हाम्रा शुभचिन्तकहरुसंग स्वर्ण महोत्सव सफल बनाउन गरेको अपिल प्रति सकारात्मक सन्देश पाएका छौँ र देश विदेशका साथै गाउँघरमा गरि करिब १० लाख भन्दा बढि संकलन हुने अनुमान गरिएको छ र सहयोग आउने क्रम जारी रहेको अध्यक्ष गौतमले बताए। विध्यालयको पचासौँ वार्षिकोत्सव र स्वर्ण जयन्ती दुई चरणमा गरिने मुल समारोह समितिका सचिव तथा विध्यालयका प्रध्यानाध्यापक लक्ष्मण पन्थीले जानकारी दिए।
पहिलो चरणको कार्यक्रम यहि मंसिर २९ गते विध्यालय हातामा सरस्वती पुजाका साथै विभिन्न खेलकुदको आयोजना गरिनेछ भने पौष १ गते व्यक्तित्व सम्मान अन्तर प्रावि हाजिरीजवाफ, चम्चा दौड, अभिभावकका लागि समेत खेलकुदको आयोजना गरिएको छ। यसै गरि पौष दुई गते औपचारिक कार्यक्रमका साथै सांस्कृतिक कार्यक्रम व्यक्तित्व सम्मान सँगै साँझ दिपावलिको कार्यक्रम गरि पहिलो चरणको कार्यक्रम समापन गरिने प्रधानाध्यापक पन्थीले बताए।
यसैगरी दोस्रो चरणमा स्मारिका प्रकाशन र विमोचनको कार्यक्रम रहेको र समयलाग्ने हुँदा २०७९ सालको वैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा गरिने स्थानीय शिक्षाविद तथा अभिभावक संघका अध्यक्ष समेत रहनु भएका मुल समारोह समितिका सचिवालय सदस्य ज्ञानेश्वर ज्ञवालीले जानकारी दिए।
यतिबेला मुल समारोह समिति सबै प्रकारले लागेको र गाउँमा निम्तो बाँडेर बुटवल काठमाडौं सम्मको यात्रा तय गरि फर्किएको छ।स्थापनाकाल देखि शैक्षिक गुणस्तर कायम राख्दै आएको यो विध्यालय यस क्षेत्रको सुविधा सम्पन्न अव्बल दर्जाको विध्यालयको रुपमा परिचित छ। नालिबेली न्यूज डटकममा यो खबर छ।