गुल्मी: ‘नमस्कार! मेरो नाम पदम पाण्डे। पेशाले म रेसुङ्गा बहुमुखी क्याम्पसको उप-प्राध्यापक र नागरिक समाज गुल्मीको अध्यक्ष।’ फेरी कुनै कार्यक्रममा अर्का एक ब्यक्ति पनि उठेर त्यसरी नै परिचय दिन्छन, ‘नमस्कार! म गुणनिधी शर्मा। पेशाले म रेसुङ्गा बहुमुखी क्याम्पसको उपप्राध्यापक र नागरिक समाज गुल्मीको अध्यक्ष।’ एउटै क्याम्पसका यी दुई उप-प्राध्यापक एउटै कार्यक्रममा भने प्रायः कम देखिन्छन्। अलगअलग कार्यक्रममा भने उनीहरुले त्यसरी परिचय दिएर नागरिक समाजको प्रतिनिध्व जनाउँछन्। त्यसरी अध्यक्ष भनि सकेपछि त्यस संस्थाको उपाध्यक्ष , सचिव कोषाध्यक्ष लगायतका पदाधिकारी र कार्य समिति सदस्य पनि हुनुपर्ने तर, त्यो नागरिक समाजका अरु पदाधिकारी र सदस्यहरुको कुनैपनि कार्यक्रममा प्रतिनिधित्व भएको पाइँदैन ।
यस बारे जिज्ञासा राख्दा उपप्राध्यापक पाण्डे भन्छन्–‘ यो कुनै संस्था होइन, यो एउटा अभियान हो । २०६२÷०६३सालको जनआन्दोलन सफल पार्न राजनीतिक दलहरुले मात्र सम्भव नभए पछि नागरिक आन्दोलनको अभियान छेडिएको हो। त्यही आन्दोलनले स्थापित गरेकाहरुलाई नागरिक समाजका अगुवा भनिएको हो। मुलतः नागरिक समाज भनेको २०६२ ÷०६३ सालको जनआन्दोलनको विरासत हो।’ त्यही विरासत कै आधारमा एक जिल्ला दुई नागरिक समाज छ गुल्मीमा । मुलतः व्यक्ति छ, संस्था छैन। संस्था नै नभए पछि समावेशिताको त झन कुरै छाडौं । नागरिक समाज भनेको सबै वर्ग , जातजाति , धर्म पेशा र विभिन्न क्षेत्रका विज्ञ सहित हुनु पर्ने। अनि त्यस नागरिक समाजको निष्पक्षताको सवाल पनि उठ्नुपर्ने।
संस्थाको विधि विधान हुनु पर्ने, सिमित अवधि तोकेर साधारण सभा गरिनुपर्ने र अधिवेशन पनि गरेर कार्य समिति चुनिनु पर्ने। यस्तो सवाल उठाउँदै स्वघोषित नागरिक समाजका अगुवा भनेर आलोचना पनि गर्ने गरिएको छ। यस सम्बन्धमा उप प्रध्यापक पाण्डे थप्छन्, ‘जनआन्दोलन ताका कृष्ण पाहडी, देवेन्द्रराज पाण्डे लगाएत आउनु भयो र मलाई नागरिक आन्दोलनको संयोजन गर्न भन्नु भएको हो। त्यस यता हामीले नागरिकहरुका समस्या उठान गर्दै आएका छौँ, अधिवेशन गर्ने कार्य समिति चुन्ने कुरा हुँदैन ,जो जसले नागरिकहरुको सवाल उठाउछ उहि नागरिक अगुवा हो।’ त्यसो भए एक जिल्ला किन दुई नागरिक समाज त? भन्ने प्रश्नमा उनले अर्को नागरिक समाज एनजिओले गठन गरेको हुन सक्ने बताए।
नागरिक समाजमा कानुन ब्यवसायी, मानवअधिकारकर्मी , पत्रकार , विभिन्न धर्म समुदाय र विभिन्न संघ-संस्था र विज्ञहरु हुनु पर्ने धारणा पाण्डेको पनि छ तर राजनीतिक कारणले नै एकले अर्कोलाई नेतृत्व स्वीकार गर्न सक्ने अवस्था नरहेको नागरिक अगुवा पाण्डेले खुलस्त पारे। उनी वामपन्थी राजनीतिमा आस्था राख्छन्। अर्का नागरिक समाजका अगुवा शर्मा नेपाली कांग्रेसमा आस्था राख्छन्। उनले आफूहरु २०५५/०५६ साल तिरैबाट नागरिक आन्दोलनको अगुवाई गरेको दावी गर्दछन्।
उनले नेपाल नागरिक समाज गुल्मी जिल्लामा वैधानिक रुपमा तत्कालिन प्रमुख जिल्ला अधिकारी फर्शराम अर्यालका पालामा २०६७ सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको बताए। समितिमा आफू अध्यक्ष, श्यामकुमार पाण्डे, सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीस् , उपप्रध्यापक शशी पन्थी लगाएतका शिक्षक बुद्धिजिवीहरु रहेको बताए।
त्यस नेपाल नागरिक समाजको केन्द्रिय अध्यक्ष खेमराज रेग्मी रहेको र गुल्मीको हकमा २०६१/०६२ को जनआन्दोलनको संयोजक उपप्राध्यापक प्रेमनाथ अर्याल रहेको उनले बताए। संस्थागत रुपमै दर्ता भएको त्यस नेपाल नागरिक समाजको पनि हालसम्म अधिवेशन भएको छैन। नागरिक समाजलाई संस्थागत गर्न राजनीतिक आस्था भन्दा माथि उठेर सर्वपक्षिय भेलाले नेतृत्व चयन गर्नु पर्ने सरोकारवालाले आवाज उठाउन थालेका छन।
२०६२/०६३ सालको जनआन्दोलमा नागरिक समाज गुल्मीको संयोजक अर्याल र सचिव पदको जिम्मेवारीमा पाण्डे रहेको जानकारहरु बताउँछन् । जुन गणतन्त्र घोषणा संगै उक्त नागरिक समाज निष्कृय भएको थियो। त्यस यता नागरिकहरुका समस्या उठान , न्याय र मानवअधिकारका पक्षमा पाण्डेले निरन्तर आवाज उठाउँदै आएका छन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |