ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक वर्षीय बालकसहित ९ जना घाइते भएका छन्।
आज बिहान ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती रहेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
……
श्रोत : nepal police
……
पोस्ट मिति : सोमबार, ८ मंसिर २०८३
समय : १० : १५ बजे
…..
ओझेलका खबर — खबर भित्रको खबर
…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









