गुल्मी । एउटा गोठ। न आधुनिक भवन, न पर्याप्त उपकरण, न सुविधासम्पन्न उपचार कक्ष। तर त्यही सामान्य गोठबाट सुरु भएको एउटा स्वास्थ्य संस्थाले आज जिल्लाकै स्वास्थ्य सेवाको भरोसा बनेर २८ करोड रुपैयाँको अत्याधुनिक भवनमा प्रवेश गरेको छ।
यो गुल्मी अस्पतालको यात्रा हो। एउटा गोठबाट सुरु भएर जिल्लाकै महँगो भवनसम्म आइपुगेको यात्रामात्र होइन, यो त्याग, समर्पण, सामाजिक योगदान, संस्थागत संघर्ष र इतिहासमा छुटेका पात्रहरूको कथा पनि हो।
आज गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृहप्रवेश तथा शुभसाइत विशेष कार्यक्रम भइरहँदा यसको इतिहास सम्झन मन लाग्यो। नयाँ भवनको चमकधमक र आधुनिक सुविधाको चर्चा त भइरहला, तर यो अस्पताल यहाँसम्म आइपुग्न कसको पसिना, कसको त्याग र कसको योगदान जोडिएको छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
त्यही इतिहासको खोजीमा हामीले पुराना समाजसेवी तथा जानकारहरूसँग सम्पर्क गर्यौँ। धेरैको एउटै जवाफ थियो– तम्घास अस्पतालको इतिहास त रमेश पन्थीले लेखेर राख्नुभएको छ।
जिल्ला अस्पतालका सबैभन्दा पुराना स्वास्थ्यकर्मीका रूपमा चिनिनुहुने सिनियर अहेव सातौँ तहका अधिकृत पन्थीले अभिलेखमा सुरक्षित राख्नुभएको इतिहासले अस्पतालको सुरुवाती दिनदेखि आजको अवस्थासम्मको रोचक यात्रा देखाउँछ।
एउटा गोठबाट सुरु भएको अस्पताल
पन्थीले तयार पारेको इतिहासअनुसार २०१२ साल पुस २७ गते भिमचोकमाथि माधव मरासिनीको तेल मिलको कोखमा रहेको एउटा गोठबाट तम्घास अस्पताल शाखाका रूपमा हालको गुल्मी अस्पतालको जन्म भएको थियो।
त्यो समय अस्पताल हुनु नै ठूलो कुरा थियो। जिल्लाका नागरिकलाई सामान्य स्वास्थ्य परीक्षण र औषधि उपचारको सुविधा उपलब्ध गराउनु पनि चुनौतीपूर्ण थियो।
अस्पतालका पहिलो चिकित्सक थिए– नयाँगाउँका मदनबहादुर मल्ल।
उनका पिता नेपाली सेनाका कर्णेल थिए। राजा महेन्द्रको नजिक रहेर सुरक्षा गार्ड अर्थात् एडीसीसरहको जिम्मेवारीमा रहेको पारिवारिक पृष्ठभूमि थियो। छोरालाई डाक्टर पढाएर जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उनको धोको थियो।
त्यही चाहनाअनुसार राजा महेन्द्रले मदनबहादुरलाई चिकित्सा शिक्षा अध्ययनका लागि भारतको कोलकाता पठाएको पन्थीको अभिलेखमा उल्लेख छ।
अध्ययन सकेर फर्किएपछि उनी तम्घास आए। उनले करिब दुई वर्षसम्म तलब नलिई स्वास्थ्य परीक्षणदेखि औषधि वितरणसम्म निःशुल्क सेवा दिएको इतिहास छ।
आज स्वास्थ्य सेवा व्यवसाय, सुविधा र शुल्कसँग जोडिएर बहस हुने समयमा त्यो सुरुवाती समर्पण आफैँमा स्मरणयोग्य छ।
भाडाको घर हुँदै आफ्नै भवनसम्म
गोठबाट सुरु भएको अस्पतालको यात्रा त्यहीँ रोकिएन। बिरामीको चाप र सेवा विस्तारसँगै अस्पतालले आफ्नो स्थान परिवर्तन गर्दै गयो।
पहिले बाघमारे बेरियलदेखि तल एक व्यक्तिको भाडाको घरमा अस्पताल सञ्चालन भयो। त्यसपछि २०१८ सालमा टुनिखोला बचत घरअगाडि श्रीस थरका व्यक्तिको घरमा अस्पताल सर्यो।
२०२२ सालमा अस्पतालले चारिखोलामा आफ्नै भवन निर्माण गर्यो। हाल रेसुङ्गा नगरपालिकाको प्रशासनिक भवन रहेको स्थानमै तम्घास अस्पतालको आफ्नै भवन बनेको थियो।
त्यहाँ ओपीडी सेवा सञ्चालन हुन्थ्यो भने वारि बजारतर्फ तम्घास जाने सिँढीको छेउमा रहेको एउटा घर भाडामा लिएर इन्डोर सेवा चलाइन्थ्यो।
त्यतिबेलाको अस्पतालको संरचना र आजको भवन तुलना गर्दा स्वास्थ्य सेवाले गरेको यात्रा कति लामो रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ।
तर अस्पतालको इतिहासमा एउटा यस्तो मोड पनि छ, जसले यसको जग्गा प्राप्तिको कथा र सामाजिक न्यायको प्रश्नलाई जोड्छ।
अस्पतालका लागि जग्गा दिए, परिवार आफैँ पाखोमा पुग्यो !
चारिखोलामा रहेको अस्पताललाई तत्कालीन तम्घास गाउँ पञ्चायतलाई सुम्पिएर २०३० सालमा हाल गुल्मी अस्पताल रहेको स्थानमा सारियो। यो स्थानान्तरणसँग जोडिएको एउटा महत्वपूर्ण नाम हो– साङ्ले विक।
रमेश पन्थीका अनुसार साङ्ले विकले अस्पताल स्थापनाका लागि जग्गा दिने प्रस्ताव गरेका थिए। उनको भनाइ थियो– यहाँ अस्पताल बस्छ भने हामी जग्गा दिन्छौँ।
हाल गुल्मी अस्पताल रहेको जमिन साङ्ले विक, उनका चार भाइ र श्रीस थरका एक जनजाति व्यक्तिको जग्गा भएको पन्थीको अभिलेखमा उल्लेख छ।
अस्पतालका लागि जग्गा उपलब्ध गराएपछि विक परिवार आफूहरू भने माथिल्लो पाखोको विकट स्थान बाँझपोखरीमा गएर बसेको बताइन्छ।
अर्थात्, आज हजारौँ नागरिकले उपचार पाउने सार्वजनिक संस्थाको भौतिक जग बसेको जमिनमा कुनै समय एउटा दलित परिवारको निजी स्वामित्व थियो। सार्वजनिक हितका लागि उनीहरूले आफ्नो जमिन दिए। तर आज अस्पताल २८ करोड रुपैयाँको अत्याधुनिक भवनसम्म आइपुग्दा त्यो परिवारको योगदानको उचित सम्मान भएको सुनिँदैन।
यो विषय केवल एउटा परिवारको सम्मानसँग मात्र सम्बन्धित छैन। सार्वजनिक संस्थाको इतिहास लेख्दा योगदानकर्ताको जात, वर्ग, पहुँच र हैसियत होइन, उनीहरूले गरेको योगदानको मूल्यांकन हुनुपर्छ भन्ने सामाजिक प्रश्न पनि यसभित्र लुकेको छ।
साङ्ले विक परिवारको नाममा अस्पताल परिसरमा स्मृति चिह्न वा सम्मानको व्यवस्था किन हुन सकेन ? उनीहरूको योगदान अस्पतालको औपचारिक इतिहासमा कति ठाउँमा उल्लेख छ ? सम्बन्धित निकायले यसबारे के सोचिरहेको छ ?
यी प्रश्नको जवाफ खोजिनु आवश्यक छ।
कुनै अर्को सम्भ्रान्त परिवारले यति ठूलो सार्वजनिक योगदान गरेको भए उसको नाममा स्मारक बनिसक्थ्यो होला भन्ने स्थानीयस्तरमा सुनिने टिप्पणी पनि यही असन्तुष्टिको अभिव्यक्ति हो। यसलाई पुष्टि भइसकेको निष्कर्षभन्दा पनि सार्वजनिक बहसका रूपमा लिनुपर्छ।
पञ्चायतकालमै अस्पतालको स्वास्थ्यकर्मी टिम फेरिएको रहस्य
गुल्मी अस्पतालको इतिहासमा अर्को रोचक र खोज्नुपर्ने प्रसंग पनि छ। पन्थीका अनुसार २०१८ साल वैशाख १ गते पञ्चायती सरकारले तम्घास अस्पतालका तत्कालीन सम्पूर्ण स्वास्थ्यकर्मीलाई धुर्कोटको हालको आधारभूत अस्पताल रहेको स्थानको तत्कालीन स्वास्थ्यचौकीमा पठायो। तम्घास अस्पतालमा भने नयाँ स्वास्थ्यकर्मीको टोली ल्याइयो।
किन एकैपटक पुरानो सम्पूर्ण टोली सरुवा गरियो ? त्यसको कारण के थियो ? कुनै प्रशासनिक निर्णय थियो वा त्यसपछाडि अरू कुनै परिस्थिति थियो ? यो विषयको थप अभिलेखीय खोज आवश्यक छ। इतिहासका यस्ता प्रसंगले अस्पतालको विकाससँगै तत्कालीन प्रशासनिक संरचना र निर्णय प्रक्रियाबारे पनि जानकारी दिन सक्छन्।
अस्पताललाई योगदान गर्ने पुराना चिकित्सक र संस्थाहरू
गुल्मी अस्पतालको विकासमा धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो समय र क्षमता खर्चिएका छन्।
हाल भिमचोकमा प्रकाश मेडिकल सञ्चालनमा रहेको परिवारका पिता कृष्णमान श्रेष्ठले पनि चिकित्सकका रूपमा योगदान पुर्याएको पन्थी बताउँछन्।
नाम र थर पूर्ण रूपमा स्मरणमा नरहेका डाक्टर नरेन्द्र तथा वैद्य थरका एक चिकित्सक पनि अस्पतालका पुराना सम्मानित पात्रका रूपमा सम्झिन्छन्। अस्पतालको सेवा सुधार र व्यवस्थापनमा पछिल्लो समय महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सकहरूमध्ये डा. उत्तम पाच्या पनि एक हुन्।
उनकै कार्यकालमा अस्पतालभित्र अक्सिजन उत्पादनको व्यवस्था गरिएको र जटिल शल्यक्रियासमेत धेरै भएको बताइन्छ। नेपाल पत्रकार महासंघ गुल्मीलाई समेत सुझाव दिएर अस्पतालभित्र अक्सिजन उत्पादनको व्यवस्था अघि बढाउन उनले भूमिका खेलेको स्मरण गरिएको छ।
त्यसैगरी निक साइमन्स इन्स्टिच्युटको सहयोग गुल्मी अस्पतालको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण रह्यो। उक्त संस्थाबाट एक जना एमडीजीपी चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीको टोलीले करिब सात वर्षसम्म सहयोग गरेको थियो। त्यसमध्ये डा. असिम शाहले अस्पताल र स्थानीय नागरिकमाझ गहिरो छाप छाडेका थिए।
काठमाडौं चाइल्ड हेल्थ इन्स्टिच्युटबाट समेत एक जना चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीको सहयोग प्राप्त भएको थियो। बालस्वास्थ्य सेवाको विकासमा त्यो सहयोग महत्वपूर्ण थियो।
अस्पताल एउटा भवनले मात्र बन्दैन। त्यसलाई सेवा दिने चिकित्सक, उपचार गर्ने स्वास्थ्यकर्मी, व्यवस्थापन गर्ने कर्मचारी र आवश्यक सहयोग जुटाउने संस्थाहरूको निरन्तर योगदानले मात्रै अस्पताल अस्पताल बन्छ।
गुल्मी अस्पतालको इतिहासमा यी सबैको योगदानलाई उचित स्थान दिनु आवश्यक छ।
२८ करोडको भवन, अब सेवाको गुणस्तरमा पनि उत्तिकै ध्यान चाहिन्छ
गोठबाट सुरु भएको अस्पताल आज २८ करोड रुपैयाँको अत्याधुनिक सुविधासम्पन्न भवनसम्म आइपुगेको छ। यो गुल्मी जिल्लाका लागि महत्वपूर्ण उपलब्धि हो।
तर भवन बनेपछि अस्पतालको विकास पूरा हुँदैन। भवनसँगै दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक, पर्याप्त उपकरण, औषधि, नियमित सेवा र प्रभावकारी व्यवस्थापन पनि आवश्यक हुन्छ।
नयाँ भवनको गृहप्रवेशसँगै नागरिकले गर्ने अपेक्षा पनि यही हो– अब सामान्य उपचारका लागि समेत जिल्ला बाहिर धाउनुपर्ने बाध्यता घटोस्। जटिल रोगको उपचार जिल्लामै सम्भव होस्। अस्पतालको सेवा नागरिकमैत्री, सहज र विश्वसनीय बनोस्।
यो भवन निर्माणको क्रममा भएको ढिलासुस्ती र त्यसविरुद्ध आफूहरूले खेप्नुपरेका चुनौतीबारे रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए।
गृहप्रवेश तथा शुभसाइत कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विभव बस्याललगायतसँग पनि कुराकानी गरिएको छ। भवन निर्माणको पृष्ठभूमि, ढिलासुस्ती, व्यवस्थापन र आगामी स्वास्थ्य सेवा योजनाबारे उनीहरूका भनाइ तथा थप विवरण पनि प्रस्तुत गरिनेछ।
इतिहास भवनमा मात्र होइन, योगदानकर्ताको सम्मानमा पनि देखिनुपर्छ
आज गुल्मी अस्पतालले नयाँ भवन पाएको छ। जिल्लावासीले आधुनिक स्वास्थ्य सेवाको नयाँ आशा पाएका छन्। तर अस्पतालको इतिहास सम्झिँदा एउटा गोठ, निःशुल्क सेवा दिने पहिलो चिकित्सक, भाडाका घर, चारिखोलाको पुरानो भवन, जग्गा दिने साङ्ले विक परिवार र सेवा सुधारमा खटिएका अनेकौँ व्यक्तित्वलाई बिर्सन मिल्दैन।
अझै पनि अस्पतालको जमिनसँग जोडिएको विक परिवारको योगदानले एउटा गम्भीर प्रश्न उठाउँछ– सार्वजनिक हितका लागि आफ्नो सम्पत्ति दिने नागरिकलाई राज्य र समाजले कति सम्झन्छ ?
इतिहास भनेको भवनको उमेर र संरचनाको विवरण मात्रै होइन। इतिहास त त्यो जग हो, जसमा कसैले आफ्नो पसिना, कसैले सम्पत्ति, कसैले जीवनका वर्ष र कसैले आफ्नो सपना समर्पण गरेको हुन्छ।
गुल्मी अस्पताल आज जहाँ आइपुगेको छ, त्यसको श्रेय कुनै एक व्यक्ति वा संस्थालाई मात्र जाँदैन। यो धेरै पुस्ताको सामूहिक योगदानको परिणाम हो।
त्यसैले नयाँ भवनमा प्रवेश गर्दा अस्पतालले केवल नयाँ कोठा र उपकरणको उद्घाटन नगरोस्। आफ्नो इतिहासको पनि पुनःस्मरण गरोस्। योगदानकर्ताको नाम अभिलेखमा सुरक्षित गरोस्। साङ्ले विक परिवारजस्ता इतिहासमा ओझेल परेका पात्रलाई सम्मान गरोस्।
किनकि अस्पतालको वास्तविक उचाइ भवनको तला गनेर होइन, त्यसले नागरिकलाई दिने सेवा र आफ्नो इतिहासप्रति देखाउने इमानदारीबाट मापन हुन्छ। गोठबाट महलसम्मको यात्रा पूरा भएको छ। अब गुल्मी अस्पतालले सेवाको गुणस्तर र इतिहासप्रतिको न्यायमा पनि उचाइ लिन बाँकी छ।
…..
पोस्ट मिति : २०८३ मंसिर ६
समय : अपरान्ह १२.३५
….
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









