Awareness

Get Vaccinated

रिडीको तीनमुखे पुल: बनाउनभन्दा जस लिनेको होडबाजी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

– प्रेम सुनार

गुल्मी: २०७१ साल मंसिर १५ गते गुल्मीको रिडीमा तीनमुखे पुलको शिलान्यास गर्न खनिएको खाडल केही वर्षसम्म खाडल मै सीमित रह्यो। पछि त त्यही खाडलको समेत नामोनिशाना हरायो। नेपाल सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल र तत्कालिन गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। ‘खेत हुनु कहाँ छ कहाँ हत्तपत्त खले गरो’ भन्ने नेपाली उखान जस्तै हतार-हतार शिलान्यास गरिएको उक्त पुल कस्तो बन्ने, बनाउने? भन्ने कुराको अत्तोपत्तो थिएन।

अर्थात तीनमुखे पुलको डिजाइन नै गरिएको थिएन। निर्माण कम्पनीका अनुसार पुल शिलान्यास भएको डेढ वर्षपछि बल्ल पुलको डिजाइनिङ भएको थियो। तर शिलान्यास समारोहमा तत्कालिन सांसद चन्द्र भण्डारीले उक्त पुल दुई वर्ष मै सम्पन्न गरिने उद्घोष गरेका थिए। तर त्यस अवधिसम्म अलपत्र बन्यो।

अहिले भने उक्त पुल निर्माण कार्य झण्डै अन्तिम चरणमा पुगेको छ। यति बेला सामाजिक सञ्जालमा तीनमुखे पुल निर्माणको जस लिन खोज्नेहरूलाई भ्याइ–नभ्याइ छ। शिलान्यास गरेको तीन वर्षसम्म उक्त पुल निर्माण कार्य अलपत्र पर्दा त्यसको अपजसको जिम्मा लिन भने सबै पन्छिएका थिए।

तीनमुखे पुल निर्माण कार्य अलपत्र परेपछि २०७२ साल चैत्र १२ मा कान्तिपुर दैनिक र २०७४ पुष २० गते गोरखापत्र दैनिकमा त्यस पुलको निर्माण कार्यलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरेको सूचना समेत प्रकाशित भएको थियो। २०७१ साल मंसिर १० गतेका दिन तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको उक्त पुल अन्ततः तीन वर्षभित्रमा सम्पन्न गर्न नसकिने भएपछि २०७७ जेठ २० गतेसम्मका लागि म्याद थपिएको थियो।

अलपत्र पुल निर्माण कार्यलाई तिव्रता दिने खास मान्छे चाँही बोलेकै छैन। हेक्का राखौँ कसरी त्यो पुलसहित पछिल्लो चरण गुल्मीमा कति वटा पुल निर्माण भएर हुने चरणमा छन्? नेपाल सरकारको १४ करोड ३६ लाख १२ हजार ५ सय ३३ रुपैयाँ ६८ पैसा लागतको उक्त पुल भ्याट कटाएर ९ करोड २६ लाख ३ सय ३२ रुपैयाँ खर्चमा सम्पन्न हुँदैछ। निर्माण कार्यको जिम्मा पाएको नयाँ बाटो रविना मना जेभि कन्ट्रक्सनका ईञ्जिनियर महेन्द्र अधिकारीका अनुसार त्यस पुलको डिजाइनिङ गर्न मात्रै डेढ वर्ष लागेको थियो। उनले त्यो पुल नेपालमा मात्रै नभएर दक्षिण एसिया मै नमूना पुल रहेको दाबी गरे।

Awareness by SKF

उनले स्याङ्जा, पाल्पा र गुल्मी तिनैतिर पिलर उठाइ लुठा तान्ने काम भइसकेको, नदीको सतहबाट २७ मिटर उचाइमा भ्युटावर बन्ने, रातको समयमा झकिझकाउ बत्ती बल्ने तीनमुखे पुल हेर्नकै लागि पनि मानिसहरू रिडी आउने गरी निर्माण कार्य भइरहेको बताए। ‘यसै असार महिनामै सक्ने लक्ष्य थियो तर लकडाउन सुरु भयो त्यस कारणले यस अवधिमा सम्पन्न गर्न सकिएन, अब एक महिना मात्रै काम गरियो भने सकिन्छ। साउनभित्रमा सम्पन्न गरिने छ।’ ईञ्जिनियर अधिकारीले भने।

को हुन तीनमुखे पुलका रचयिता?

गुल्मीका केही गौरवका योजनाहरूमा नेपाल सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल, अर्का गुल्मेली तत्कालिन राष्ट्रिय योजना आयोगका सदस्य सचिव युवराज भुसाललगायतका केही उच्च पदस्थ अधिकारी दाहिने हात बनेका थिए।

कालीगण्डकी कोरिडोर, सालझण्डी पटौती खर्ज्याङ तम्घास द्रुतमार्ग, बलेटक्सारको भण्डारेडाँडामा नेपाल कै पहिलो कफी अनुसन्धान केन्द्र स्थापनाजस्ता थुप्रै ठुला योजनाहरूमा प्रमुख पात्र यी दुई जना बनेका थिए र अझै गुल्मीको विकासमा उनीहरू सक्रिय छन्।

नेकपा माओवादी केन्द्रका नेता बुद्धि जिसीले विगतको स्मरण गर्दै भने, ‘गुल्मीका तत्कालिन सिडियो कविन्द्र नेपाल र म राष्ट्रिय योजना आयोगका तत्कालिन सदस्य सचिव युवराज भुसालको कार्यकक्षमा पुग्दा तीनमुखे पुलको उहाँले (भुसालले) ब्रिफिङ्ग गर्नु भएको थियो।

उहाँहरूसहित जिल्लाबाट फाईल पठाउने र केन्द्रलाई घच्घचाउने कार्यमा अर्का गुल्मेली अर्थात साविक जिल्ला विकास समितिका एलडिओ हरिप्रसाद ज्ञवालीको पनि तीनमुखे पुल निर्माणमा योगदान छ।’

कहाँबाट आयो तीनमुखे पुलको अवधारणा?

सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौड्यालले भने, ‘त्यो एउटा यातायातको साधन पनि होस् र पर्यटकीय गन्तव्य पनि बनोस् भन्ने खोजीका क्रममा त्यो कन्सेफ ल्याइएको हो। म महाकाली स्थित चाँदनी दूधधारामा रहेको नेपालकै सबैभन्दा लामो पुल हेर्न पुगेको थिएँ। जुन पुल यातायातको साधनका रूपमा बनाइएको थियो। तर त्यो यातायातको साधन मात्रै बनेन् पर्यटकीय गन्तब्य पनि बन्यो। त्यस कारणले रिडीमा पनि तीन जिल्लाको भावना जोड्ने र यातायातको साधन संगै पर्यटकीय गन्तव्य पनि बनोस् भन्नका लागि सुरु गरिएको हो।’

मुख्य सचिवबाट अवकाश लिएपछि चिनको राजदुत भएर गएका र गत वर्ष त्यहाँबाट फर्किएका पौड्यालसंग तपाईंले शिलान्यास गरेको वर्षौँ पछि बल्ल सम्पन्न हुने चरणमा छ नि? भन्ने प्रश्न गर्दा उनले भने, ‘म चिनमा पुगेर पनि त्यस पुल निर्माणको कामलाई पछ्याएको थिएँ र गत वर्ष फर्केर आएपछि पनि अहिलेसम्म पछ्याइनै रहेको छु।’

उनको कार्यकालमा रिडीमै वृद्धाश्रम निर्माण भएको थियो। किरियापुत्रीको लागि काजकिरिया गर्ने घर बनाइयो। युवाहरूलाई लक्षित गरी कभर्डहल बन्यो। ऋषिकेश मन्दिर क्षेत्रको जिर्णोद्दार गरियो। रूरू कन्याका पौराणिक कथा झल्किने गरि देवदत्त पार्क पनि उनैको कार्यकालमा निर्माण भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया