गुल्मी: आज बिहान दाङबाट काठमाडौँ आउँदै गरेको बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको छ।
उनीहरूमध्ये १५ जनाको मौलाकालिका अस्पताल भरतपुरमा, १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, ४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा र ६ जनाको जनता केयर अस्पताल मुग्लिनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको रात्रि बस आज बिहान करिब ३ बजेर १० मिनेटमा अनियन्त्रित भई ‘घुमाउने’ भन्ने स्थानमा पल्टिएको थियो।
घाइतेहरूको विस्तृत विवरण:
जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरण अनुसार घाइते हुनेहरूमा दाङ लमही नगरपालिका–१ का ३३ वर्षीय गणेश चौधरी, सोही पालिका–३ की २१ वर्षीया रुपा चौधरी, राप्ती गाउँपालिका–५ की २४ वर्षीया माधुरी चौधरी र बसका सहचालक राप्ती गाउँपालिका मसुरियाका २१ वर्षीय दिनेश चौधरी रहेका छन्।
त्यस्तै, दाङ गढवा गाउँपालिका–३ की ३१ वर्षीया सिमा चौधरी, गढवा–५ का १८ वर्षीय अभिषेक चौधरी, सोही स्थानका २१ वर्षीय सम्राट चौधरी, घोराही–१८ का ३६ वर्षीय शालिग्राम खत्री (क्षेत्री), शान्तिनगर गाउँपालिका–२ का ६९ वर्षीय शालिग्राम शर्मा र सोही स्थानकी ३७ वर्षीया माया चौधरी पनि घाइते भएका छन्। यसैगरी लमही नगरपालिका–२ का ३२ वर्षीय निर्मल चौधरी, ३१ वर्षीया गीता चौधरी, १९ वर्षीय आवास चौधरी, ३२ वर्षीय राजु चौधरी, गढवा गाउँपालिका–२ का ३२ वर्षीय लिखुराम चौधरी, घोराही–१८ का ३१ वर्षीय बाबुराम थापा र ४० वर्षीय शुभराम वाग्ले दुर्घटनामा परेका छन्।
मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइतेहरूको अवस्था:
मौलाकालिका अस्पतालमा उपचार गराइरहेका सल्यान छत्रेश्वरी–५ की १८ वर्षीया लिला कँवर मगरको टाउकोमा चोट लागेको छ भने सोही ठाउँका २१ वर्षीय रमेश कँवर मगरको टाउकोमा चोट लागी अवस्था मध्यम रहेको छ। दाङ गढवा–२ की २७ वर्षीया मिना चौधरीको बायाँ खुट्टा भाँचिएको छ भने गढवा–२ कै ३० वर्षीय विष्णु चौधरीको टाउकोमा चोट लागेको छ। सोही स्थानकी २२ वर्षीया सन्ध्या बफ्रेलको टाउकोमा र लमही नगरपालिका–२ का २१ वर्षीय प्रकाश चौधरीको निधारमा सामान्य चोट लागेको छ।
त्यस्तै, दाङ घोराही–१६ का ६० वर्षीय फणेन्द्र पछाईको हात–खुट्टामा, नारायणपुरकी ६० वर्षीया उमा गौतमको टाउकोमा, घोराहीकी ४१ वर्षीया शान्ती हमाल र उनकी १० वर्षीया छोरी प्रमिसा हमाललाई सामान्य चोट लागेको छ। रोल्पा होलेरीका ५० वर्षीय विष्णु बस्नेतको टाउकोमा चोट लागेको छ। नुवाकोट पञ्चकन्या–६ की ४० वर्षीया सुनिता तामाङको टाउकोमा, सोही स्थानका ४२ वर्षीय सुकमान तामाङको टाउको र कम्मरमा, ४५ वर्षीय बुद्दीबहादुर तामाङको ढाडमा र २० वर्षीय सन्देश तामाङको दायाँ हातमा चोट लागेको छ।
जनता केयर अस्पताल मुग्लिनमा उपचाररत घाइतेहरूको अवस्था:
जनता केयर अस्पतालमा उपचाररत रोल्पा रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष ३५ वर्षीय चेतलाल खत्रीको हातमा चोट लागेको छ। दाङ घोराही–१७ का २४ वर्षीय दिनेश चौधरीको हातमा, घोराही–१० का २९ वर्षीय चक्र सिंहको हात र टाउकोमा तथा गढवा–२ का २६ वर्षीय श्रीराम चौधरीको टाउको र हातमा चोट लागेको छ। साथै, बसका चालक दाङका ३४ वर्षीय सुभाष ओली र दुर्घटना हुँदाको समयमा बस चलाइरहेका लमही नगरपालिका–२ का २६ वर्षीय विपिन चौधरी पनि घाइते भई उपचाररत छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










