गुल्मी: आज सवा १ बजेको समयमा गुल्मीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ ज १५४४ नम्बरको सफारी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ३५१८ नम्बरको पिकअप गाडी इस्मा गाउँपालिका–१ को रालेमा एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीले पठाएको विवरणअनुसार मालिका गाउँपालिका–६ फुलबारी बस्ने ६६ वर्षीया कृष्णकुमारी अर्यालको अवस्था गम्भीर छ।
त्यस्तै, सोही पालिका–८ किसानटारी बस्ने ७२ वर्षीय डल्ले कुमालको अवस्था मध्यम छ। सोही पालिका–५ छापहिले बस्ने २५ वर्षीय विष्णु थापा र सोही स्थानका २४ वर्षीय सुनिल आचार्यको अवस्था सामान्य छ।
सोही पालिका–६ पोखराबारी बस्ने ४८ वर्षीया कमला घिमिरे र पोखराबारीकै ४४ वर्षीया बालकुमारी सुनारको अवस्था पनि सामान्य छ। अर्घाखाँची छत्रदेव गाउँपालिका–१ चिदिका घर भई हाल गुल्मी मालिका गाउँपालिका–८ बस्ने ३३ वर्षीया हथिना खातुनको अवस्था मध्यम छ। सिमलटारी बस्ने ३३ वर्षीय हरिबहादुर पौडेलको अवस्था सामान्य छ।
तम्घासबाट जाँदै गरेको गाडी मालिका गाउँपालिका–८ मर्भुङका विष्णु मुखियाले चलाएका थिए। त्यस्तै, विपरीत दिशाबाट आउँदै गरेको गाडी इस्मा गाउँपालिका–५ हुलाके बस्ने १९ वर्षीय चन्द्रबहादुर मुखियाले चलाएका थिए।
घाइते सबैलाई गुल्मी अस्पताल ल्याइएको र गम्भीर घाइते कृष्णकुमारी अर्याललाई पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










