Salime Malika Krishi Farm

Awareness Campaign

‘मुटु स्वदेशमा, पसिना परदेशमा’



गोविन्द कंडेल
२ हप्ता अगाडि


Awareness

Place for ads

वर्तमान समयको सबैभन्दा परिचित दृश्य भनेको एयरपोर्टको भीडमा देखिने सुटकेस बोकेका, आँखाभरि सुन्दर सपना र मनभित्र अनगिन्ती डर सहित उभिएका युवाका अनुहारहरू हुन्। कसैको आँखाबाट आँसु झर्दै गरेको देखिन्छ त कसैको ओठमा जबर्जस्ती मुस्कान टाँसिएको हुन्छ। बिदाइको त्यो क्षणमा आमाबुबाको काँपेको स्वर, श्रिमतिको सम्हालिन नसकेको मन, र नबोलिएको पीडा हावाको साथमा मिसिएर उडिरहेको हुन्छ।

परदेश जाने निर्णय गर्न त्यती सजिलो हुँदैन, तर बाध्यता र भविष्यको खोजले युवालाई घरको आँगन छोड्न बाध्य बनाउँछ। शरीर त जहाज चढेर टाढा पुग्छ, तर मनले भने गाउँकै चौतारी, पाखापखेरा, आफन्त अनी साथिभाइकै आवाज खोजिरहन्छ। “शरीर परदेश पुग्छ, तर मन अझै गाउँकै चौतारीमा अड्किएको हुन्छ।” यही पीडादायी यथार्थ भित्र लुकेको हुन्छ मुटु स्वदेशमै राखी सुन्दर भविष्यको कल्पना सहित परदेशमा पसिना बगाइहेको एउटा पुस्ताको कथा।

आम नेपाली युवाहरुको विदेशिने निर्णय रहरका कारण भन्दापनि बाध्यता र परिस्थितिले थोपरेको कदम हो। देशमै उच्च शिक्षा प्राप्त गरिसकेसकेपछि रोजगारी खोज्दा बेरोजगारीको सामना गर्नु सामान्य कुरा बनिसकेको छ। दक्षता र मेहनत भएपनि योग्यताको मूल्य नपाउने, सिफारिस र पहुँचलाई प्राथमिकता दिइने अवस्थाले युवा पुस्तामा निराशा वढ्दो छ ।
रोजगारिको अवसर प्राप्त गरिहाले पनि कमाएको आम्दानीले सामान्य जीवन धान्न पनि कठिन हुन्छ। महँगी बढ्दो छ, तर आम्दानी स्थिर छ। खानपिन, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत खर्च धान्न कठिनाइ हुँदा, युवाले भविष्य सुरक्षित गर्ने उपायका रूपमा विदेश जाने सोच अपनाउँछन्।

सिंचाई
Forest
Ad.

सीप र क्षमताभन्दा समाज र नीति प्रणालीले दिँदै आएको मूल्य कम भएको कारण पनि बाध्यता थपिन्छ। मेहनत र योग्यता छ, तर त्यसको कदर नहुने वातावरणले आत्मविश्वासमा असर पार्छ। सपनालाई देशले ठाउँ नदिँदा, युवाले आफ्नो क्षमताको उचित मूल्य पाउने आशामा परदेशमै अवसर खोज्न बाध्य हुन्छ।

आफ्नै देशमा जन्मिएर, आफ्नै माटोमा पसिना बगाउन चाहँदा–चाहँदै पनि अवसरको अभावले युवालाई परदेशी भूमितर्फ धकेलिरहेको छ ।

यसरी, धेरै युवाको परदेशिने निर्णय व्यक्तिगत इच्छा नभएर परिस्थिति र बाध्यताको परिणाम हो। रहरभन्दा बढी, यो जीवन र भविष्य सुरक्षित राख्ने विवशता हो ।

परदेशमा बसेर आम्दानिको दर बढे पनि, मन भने सधैं स्वदेशमै अड्किएको हुन्छ। त्यहाँ छोडेर आएको परिवार, आमाको माया, बाबाको सल्लाह, दाजुभाइ–दिदीबहिनीको हाँसो यी सबै सम्झनाले मन दिनदिनै भारी बनाइरहन्छ। चाडपर्व आउँदा त्यो अभाव अझ गहिरो हुन्छ। घरको आँगनमा बालिएको दियो, पकाइँदै गरेको सेलरोटीको बास्ना, टीका लगाउँदा आमाको काँपेको हात यी र यस्तै सम्झनाले परदेशको कोठा झन् सुनसान लाग्छ।

Awareness by SKF

आज सम्बन्धहरू फोनको स्क्रिनभित्र सीमित भएका छन्। भिडियो कलमा देखिने मुस्कानले वास्तविक स्पर्शको कमी मेट्न सक्दैन। “ठिक छ है” भनेर राखिएको फोनभित्र लुकेको पीडा दुवै पक्षले महसुस गरिरहेका हुन्छन्। दूरीले सम्बन्ध तोड्दैन, तर त्यो मनलाइ शान्तपार्ने न्यानोपन खोसिदिन्छ ।

परदेशमा कमाएको पैसाले धेरै कुरा किन्न सकिन्छ, तर आफ्नै माटोको गन्ध, आमाको काख, बाबुको आशीर्वाद, श्रीमतिको साथ, दाजुभाइको कांध किन्न सकिँदैन। यसैले त शरीर जहाँ भए पनि, मन भने सधैं स्वदेशमै फर्किरहन्छ किनकि मुटु पैसाले होइन, आफ्नोपनले धड्किन्छ।

देशको सबभन्दा ऊर्जाशील यूवाहरुको पुस्तानै परदेशिनु केवल व्यक्तिगत निर्णय मात्र नभइ राज्यको असफलतासँग पनि गहिरो रूपमा जोडिएको विषय हो। राज्यले युवालाई देशमै टिकाइराख्ने वातावरण बनाउन नसक्दा, उनीहरू भविष्य खोज्दै सीमापारि जान बाध्य भएका हुन भन्दा अस्वभाविक नहोला ।

यसमा राज्यको भूमिका अत्यन्तै कमजोर देखिन्छ। शिक्षा, रोजगारी र उद्यमशीलताका क्षेत्रमा स्पष्ट र दीर्घकालीन नीति नहुंदा राज्य स्वयंले युवालाई बाहिरिन अप्रत्यक्ष रूपमा धकेलिरहेको अनुभूति दिलाउँछ। नीति र अवसरको अभावसँगै विश्वासको संकट गहिरिँदै गएको छ। परिश्रम गरे फल पाइन्छ भन्ने भरोसा युवामा बाँकी छैन। योग्यताभन्दा पहुँच, सिफारिस र चिनजान हाबी हुँदा मेहनत गर्ने युवाको आत्मविश्वास टुट्छ। यस्तो अवस्थामा विदेश मात्र त्यस्तो ठाउँ जस्तो देखिन्छ, जहाँ श्रमको मूल्य तौलिन्छ।

अर्कोतर्फ, समाजमै “विदेशमा सफल युवा” भन्ने सोचले पनि यो प्रवृत्ति बढाएको छ। गाउँमा बसेर संघर्ष गर्नेभन्दा विदेश गएर फोटो पठाउनेलाई सफल मान्ने मानसिकताले युवालाई मनोवैज्ञानिक दबाब दिन्छ। आफ्नै देशमा केही गर्न चाहनेहरू पनि ‘पछाडि परेको’ ठानिन थालेपछि, उनीहरू पनि अन्ततः परदेशकै बाटो रोज्न बाध्य हुन्छन्।

यसरी हेर्दा, युवाको पलायन व्यक्तिगत रहर होइन राज्य, नीति र समाजको संयुक्त असफलताबाट जन्मिएको बाध्यता हो। जबसम्म देशभित्रै सपना देख्न र पूरा गर्न सक्ने वातावरण बन्दैन, तबसम्म युवा फर्किने होइन, झन् टाढिँदै जानेछन्।

सबै निराशाबीच पनि एउटा उज्यालो किरण अझै बाँकी छ। यदि देशमै पर्याप्त अवसर सिर्जना गरिए, युवाले परदेशको सपना होइन, आफ्नै माटोमा भविष्य खोज्न थाल्नेछन्।
सीप भएका धेरै कर्मठ हातहरू आज पनि देश फर्कन आतुर छन्। उनीहरूलाई चाहिएको केवल विश्वास हो, सीपको कदर हो, मेहनतको उचित मूल्य र सुरक्षित कार्य वातावरण हो । जब राज्यले युवाको क्षमतालाई चिन्ने र प्रयोग गर्ने वातावरण बनाउँछ, तब विदेशमा कमाएको अनुभव देशकै विकासको मेरुदण्ड बन्न सक्छ।

परदेशमा रहेका धेरै युवाको मन आज पनि स्वदेश फर्किने सपनाले भरिएको छ। उनीहरू फर्किन चाहन्छन्, आमाको काखमा टाउको राख्न, आफ्नै माटोमा भविष्य रोप्न, र आफ्नै देशको विकासमा हातेमालो गर्न। निराशाबीच पनि आशा बाँचेको छ, किनकि जहाँ चाहना बाँकी छ, त्यहाँ परिवर्तनको सम्भावना सधैं जीवित रहन्छ।

धेरै यूवाहरुको बाध्यताको कथा भित्रबाट आज देशको अर्थतन्त्र चलायमान हुनुमा विदेशिएका युवाको पसिना मिसिएको छ, रेमिट्यान्सले घर चल्छ, बजार चल्छ, राज्यको चक्र घुम्छ। तर विडम्बना यही हो कि देश चलाउने ती हातहरू देशमै छैनन्।

– गोविन्द कंडेल
मुसिकोट -७, गुल्मी
हाल: लिस्वन, पोर्चुगल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो