पाल्पा: पाल्पा जिल्लाका १० स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको सम्मिलित उपमेयर्स फोरम पाल्पा गठन गरिएको छ। हिजो तानसेन नगरपालिकामा भएको न्यायिक समितिको प्रथम जिल्ला सम्मेलनले तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजाली गाहाको संयोजकत्वमा १० सदस्यीय फोरम गठन गरेको हो।
फोरमको उपाध्यक्षमा बगनासकाली गाउँपालिकाका हरि प्रसाद पाठकलाई तोकिएको छ। सदस्यहरुमा रामपुर नगरपालिकाका बालकुमारी थापा, तिनाउ गाउँपालिकाका लाल बहादुर थापा,रैनादेवी छहरा गाउँपालिका युवराज थापा,निस्दी गाउँपालिकाका तिरण कुमारी श्रेष्ठ,रम्भा गाउँपालिकाका राधा कुमारी श्रेष्ठ,माथागढी गाउँपालिकाका विष्णुमाया लुङ्चे, रिब्दीकोट गाउँपालिका कान्ता अधिकारी र पूर्वखोला गाउँपालिकाका भागिरथी भट्टराई रहेका छन्।
कानुनी प्रक्रिया र कार्यसम्पादनको भुमिकाहरूमा जिल्लाका स्थानीय तहहरूमा एकरूपता, आपसी समन्वय र सिकाइ आदानप्रदानको संयन्त्र निर्माण गरि एकआपसमा उपप्रमुख/उपाध्यक्षलाई परेका समस्या तथा अप्ठ्याराहरूलाई कम गर्नका लागि खुल्ला प्रकृतिको साझा फोरम निर्माण गरिएको नवगठित फोरमका संयोजक प्रतिक्षा गाहा सिंजालीले बताउनु भयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले यस्ता खालका फोरमले आपसी सिकाइ आदानप्रदान र रचनात्मक कार्यमा सहयोग हुने बताउनु भयो। श्रेष्ठले उपमेयर्स फोरमले कार्यविधि नै बनाएर आफ्ना गतिविधि अगाडी बढाउन समेत सुझाव दिनु भयो।
कार्यक्रममा द एसिया फाउण्डेसनका प्रदेश संयोजक चुरामणी पोखरेलले स्थानीय सरकार सवलिकरणमा उपप्रमुखहरुको भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो।
फोरमको नियमित बैठक अलग अलग पालिकामा निरन्तर रुपमा बस्ने बताइएको छ । हरेक बैठकमा विभिन्न सवालमा छलफल, साझा धारणा निर्माण तथा बिज्ञहरुसंगको छलफल तथा अन्तरक्रिया गर्ने फोरमका संयोजक सिंजालीले बताउनुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |