Place for ads

Awareness

खुट्टाले लेखेर एसइई दिए गुल्मीका ऋषिरामले



टोपलाल अर्याल
१ महिना अगाडि


Place for ads

गुल्मी: देशभर बिहीबारबाट एसइई सञ्चालन हुँदै छ। गुल्मीमा पनि चार हजार ९७ जनाले एसइई दिँदै छन्। तीमध्येका एक हुन्, छत्रकोट-४, गुल्मीका १९ वर्षीय ऋषिराम कँडेल। उनले खुट्टाले लेखेरै एसइई दिँदै छन्। श्रृंगा जनता माविमा अध्ययनरत कँडेलले रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिन लागेका हुन्। उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष वामदेव ज्ञवालीले जानकारी दिए। कँडेलले आवश्यकताका आधारमा डेढ घण्टासम्म थप समय पाउने उनको भनाइ छ।

ऋषिराम जन्मजात अपांगता भएका व्यक्ति हुन् । दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैनन् । तर, त्यही दुई औँलाले आफ्नो भविष्य कोर्दै छन् । ऋषिराम परीक्षामा सहभागी हुने कुराले उत्साहित छन् । परीक्षाको तयारी पनि राम्रो गरेको उनले बताए । ‘परीक्षाले उत्साहित छु । सकेको मिहिनेत पनि गरेको छु,’ उनले भने, ‘३.२ अंकको आशा छ ।’ उनी घरबाटै केन्द्रमा पुगेर परीक्षा दिने योजनामा छन् । घरबाट केन्द्रसम्म पुग्न करिब ३० मिनेट लाग्छ । बुुबा लक्ष्मण कँडेलले ऋषिरामलाई मोटरसाइकलमा आउ–जाउ गराउने बताए । बाबु–छोराले नै शारीरिक अवस्थाका कारण नजिकै केन्द्र नहुँदा स्वाभाविक सास्ती हुने गुनासो गरे । समाजमा कैयौँ अपांगता भएका व्यक्ति छन् । तर, उनीहरूले कोठा र बिस्ताराबाट आफूलाई बाहिर ल्याउन सकिरहेका छैनन् । ऋषिरामका हातखुट्टा कमजोर छन् । तर, बौद्धिक क्षमता सबलको भन्दा अब्बल छ । दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् । त्यसैले श्रृंगा जनता माविका उत्कृष्टमध्येका विद्यार्थी हुन् कँडेल । उनी सपांगता भएका व्यक्तिका मार्गदर्शक पनि हुन् । उनी सबै विधा र क्रियाकलापमा उत्कृष्ट छन् । उनले कक्षा ४ सम्म घरनजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृंगा जनता माविमा पढ्दै आएका थिए ।

Get Vaccinated

ऋषिराम ‘क’ वर्गको अपांगता भएका व्यक्ति हुन् । अरूको सहाराविना केही गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति गरेनन् । बुबा लक्ष्मणले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पुर्याउँथे । गेटमै आएका साथीहरूले उचालेर कक्षाकोठामा पुर्याएर सहयोग गर्थे । साँझ ठीक ४ बजे बुबा स्कुलको गेटमा पुग्थे । सबैको माया, सदभाव र सहयोग पाएकाले कहिल्यै कमजोर महसुस नगरिएको ऋषिरामले बताए । ‘जन्मलाई पछुतो मानेर होइन, अवसरका रूपमा पढिरहेको छु,’ उनले भने, ‘परिवार र समाजबाट कहिल्यै हीनताबोध भएन ।’ खुट्टाले कलम छोप्न थालेको ऋषिरामलाई सम्झना छैन । बच्चामा हात उठ्दैनथे । खुट्टाका औँलाले पहिले समाउन खोज्थे । परिवारले सिसाकलम र पेन दिन थाले । बिस्तारै अभ्यास हुँदै गएपछि उले सबै काम खुट्टाले गर्न थाले ।

ऋषिराम कँडेल परिवारको एक्लो सन्तान हुन् । पहिलो सन्तान नै पूर्ण अपांगता जन्मिएपछि कँडेलदम्पतीले पाँच वर्षसम्म छोराको उपचारमै दौडधुप गरे, तर अवस्थामा सुधार आएन । त्यसपछि निरन्तर स्याहारसुसार र अध्ययनमा नै परिवारको ध्यान गयो । छोराको अपांगतासँग परिवारलाई कुनै पछुतो छैन । छोराले पनि अहिलेसम्म कुनै कुरामा ग्लानि गर्नुपरेको छैन । शिक्षादीक्षासँगै पूर्ण अपांगता छोरालाई १९ वर्षको बनाउन परिवारले कम चुनौती झेलेको छैन ।

तर, कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम नगरेको बुबा लक्ष्मणले सुनाए । उनले आफ्नो लक्ष्य र सपना नै छोराले पढ्न सकेको पढाउने रहेको बताए । ‘हामीले न अरू सन्तान सोच्यौँ, न फरक दृष्टिकोण राख्यौँ । श्रीमान्–श्रीमती नै उसको सेवामा रातदिन लागेका छौँ,’ लक्ष्मणले भने, ‘यो नजन्मिएको भए बन्द कोठाभित्रै हुन्थ्यो ।’

लक्ष्मणदम्पतीले गाउँमा कृषि कर्म गर्दै आएका छन् । उनले अहिलेसम्म राज्यका सबै निकायबाट सहयोग पाएकाले कुनै गुनासो नभएको प्रतिक्रिया दिए । ऋषिराम कँडेल सबै विधामा विद्यालयमै सबैभन्दा उत्कृष्ट प्रतिभा भएको श्रृंगा जनता माविका प्रध्यानाध्यापक विकासचन्द्र खरेलले बताए । पढाइ, लेखाइ, चित्रकला, गीत, अभिनयलगायत विधामा ऋषिरामले सबैलाई उछिन्दै आएको खरेलको भनाइ छ ।

Awareness by SKF

कँडेल परिवार र ऋषिराम उदाहरणीय पात्र भएको सबै अपांगता भएका परिवारले सिक्नुपर्ने बताए । ‘चेतना र घरपरिवारको सहयोगविना अपांगता बालबालिकाको आत्मविश्वास राम्रो हुँदैन । ऋषिराम अपांगसँगै सग्ला हात-खुट्टा भएका व्यक्तिहरूको पनि उदाहरण हुन्,’ उनले भने, ‘घरपरिवार, समुदाय र परिवारबाट राम्रो सहयोग भएको छ ।’ विद्यालयमा अपांगता विद्यार्थीका लागि आवासीय अध्ययनको सुविधा छ । तर, ऋषिराम सहयोगी चाहिने भएकाले घरमै जान्छन् । यो समाचार गुल्मीबाट टाेपलाल अर्यालले नयाँ पत्रिकामा लेख्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →