अनिल खत्री, गुल्मी: गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन्।
एमाले निकट अखिल र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)को गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन्।
सोमबार राति सम्पन्न मतगणनाको परिणम अनुसार घिमिरेले ३९५ मत ल्याएर विजयी भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले बताए।
सभापतिका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत ल्याएर पराजित भएका छन्।
सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भइन्।
खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।
क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए । रेसुङ्गा क्याम्पसमा ८८ प्रतिशत मतदान भएको थियो।
क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच तालमेल भएको थियो। नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धामा गरेको थियो।
०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापतिसहित जितेको थियो। तर, यसपटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |