जून तारा संयुक्त गजल संग्रहको संक्षिप्त जानकारी गराउन चाहन्छौँ। यस संग्रह जून तारा साहित्य समाजले प्रकाशनमा औपचारिक भव्य कार्यक्रम गरी २०७८ कात्तिक २७ गते कुञ्ज थिएटर काठमाडौंमा विमोचन गरिएको हो।
यसमा १८ सर्जकको गजल रहेको छ भने यस संग्रहमा विभिन्न अग्रज व्यक्ति डा. घनश्याम न्यौपाने परिश्रमी, डियर कल्याण साहित्य प्रतिष्ठानका विनोद विवश र साहित्यक चौतारी नेपाल केन्द्रीय अध्यक्ष गीता अधिकारी ज्यूले शुभकामना दिनु भएको छ। साथै रचना सम्पादक संस्थाका अध्यक्ष गणेश विष्ट बर्सात, उपाध्यक्ष रचिता दाहाल र वरिष्ठ साहित्यकार दुर्गा क्षेत्रीले गर्नु भएको छ। रचना शुद्धीकरणमा केशव सञ्जेल ज्यूले गर्नु भएको यसै संस्थाका महासचिव श्याम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
भने यसै संग्रह बाट १० गजल लिइएको छ। वरिष्ठ साहित्यकार डा. घनश्याम परिश्रमी, अध्यक्ष गणेश विष्ट बर्सात, उपाध्यक्ष रचिता दाहाल, विशाल सुवेदी अनुरागी राम जी, हरिमाया पराजुली, केशव किरण, पवित्रा घिमिरे, दिपकिशोर भट्टराई, नानीमाया सुनुवार र बाँकी रहनुभएको छ।
जूनतारा साहित्य समाजद्वारा सञ्चालित कार्यक्रम मनभित्र गुम्सिएका भावनाहरूमा सहभागी गजलकारहरुका केही गजलहरु यहाँ प्रस्तुत गरिएको छ:
१.
मन धाेएर मान्छेले बगर बनाउँछन्।
स्वार्थ बेचेर आफ्नै अधर बनाउँछन्।
साेझा जनताहरूलाई सपना बाँडेर
भविष्यकाे लागि नै सफर् बनाउँछन्।
आफन्तकाे सहुलियत् हुने गरि
राज्यमा करकाे दर बनाउँछन्।
आफ्नाे देशकाे खाेलानाला बेचेर
विदेशी भूमिमा घर बनाउँछन्।
लगाउँछन् अपराध गर्न मान्छेले
अपराधी लुक्न शहर बनाउँछन्।
– सूर्य गिरी ‘चिन्तित’
माछापुच्छ्रे-५, रिभान, कास्की (पाेखरा)
२.
मलाई तिम्रो तिमीलाई मेरो अधिकार नहोला।
म चाहन्छु म बाँचुन्जेल कसैसँग प्यार नहोला।
अक्सर धोकेबाज भनेको यहाँ आफ्नै हुने गर्छन्,
यो जमाना चाहिँ भलै बरू बफादार नहोला।
एकपटक तिमी मैले जसरी जीवन बाँचेर त हेर,
थाहा पाउँनेछौ मेरो जस्तै दुःखको भार नहोला।
बिना गल्तीकै दोषी बनायौ कस्तो सजाय दियौ?
ए गद्दार! मैले प्यार गरेकी हुँ अत्याचार नहोला
यो दुनियाँमा मेरो लागि सबथोक भनेकै तिमी हौ,
तिमी नभए त मेरो कुनैपनि बाँच्ने आधार नहोला।
– हिउँ खतिवडा
कमलबजार-७, अछाम
३.
शरीरभरी रोगैरोग, अझै दम छ बाबाको चिन्ता लाग्छ।
औषधि चिन्नु हुन्छ कि नाई आँखाको चिन्ता लाग्छ।
अब म परदेश पसेँ पछि के गर्छिन् होला प्यारी आमा
मलाई त एउटै कुरा बहुत आमाको चिन्ता लाग्छ।
घरमा न राम्रो कपडा ओढ्ने छन, न राम्रो ओछ्याउने
पाहुना आउँदा के सोच्लान् पाहुनाको चिन्ता लाग्छ।
बरु, घाम लाग्दा झरी पर्दा बेस्सरी ख्याल गरे प्यारी
टाढा छ, पानी लिन जाँदा बालबच्चाको चिन्ता लाग्छ।
अचेल साहू पनि घरमा आएर थर्काएर जान्छन रे
कठै के होला हाल गाईवस्तु,भाँडाकुँडाको चिन्ता लाग्छ।
यता परदेश मै ज्यान जाला जस्तो लागिरहन्छ मलाई
आमा, बाबा सकभर भर नपरे है छोराको चिन्ता लाग्छ।
– प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत
४.
गुनासो सारा म माथि तिमी पोखाउन त आऊ
रिसाए पनि एक चोटी मलाई फकाउन त आऊ।
धेरै भयो मुख फेरी बसेको के दिन के रात
भुलेर रीस-राग रमाईलो साँझमा रमाउन त आऊ।
मेरो मनको सुन्ने नसुन्ने सबै इच्छा तिम्रो
तिम्रो मनभित्रको हलचल बताउन त आऊ।
प्रेमको ज्वाला धपधपि बलेको छ मनभित्र
मायाको शीतल जलले यसलाई निभाउन त आऊ।
मनले अ अ मुखले नाई-नाई भनि बस्छौ किन
मनको सुनेर एक चोटी धोको मेटाउन त आऊ।
– नीता गुरुङ भाटिया
असम, भारत
५.
जित्छु भन्नेहरूले नै हारेको देखेको छु
प्रायःधेरैलाई भाग्यले ठगेको देखेको छु
हामीहरू मेहनत गरेर पो सफल हुने हौं
तर यहाँ अवसरलाई पर्खेको देखेको छु
कहाँसम्म होला यो हावाको गन्तव्य पनि
म जहाँ पुग्छु त्यहीँ बगिरहेको देखेको छु
जसले तिरस्कार गरेर छोडेर जान्छन् यहाँ
उसलाई पागल प्रेमीले सम्झेको देखेको छु
सबैलाई म गलत भनेर म सम्बोधन गर्दिनँ
थोरै भन्दा पनि धेरैलाई मात्तेको देखेको छु
– विक्रम तिरूवा सलिन
जुम्ला
६.
मुस्कुराऊ मिठो व्यवहार भए पुग्छ,
बाँचुञ्जेल राम्रो विचार भए पुग्छ।
डुब्नदेऊ उसैलाई त्यही दलदलमा,
जसलाई धनी साहूकार भए पुग्छ।
चाहिदैन मलाई धन र सम्पत्ती त्यो,
गाँस बास बाँच्ने आधार भए पुग्छ।
अन्धकार चिर्नुछ समाजभित्र मलाई,
यो जलेको दियो औजार भए पुग्छ।
चाहिदैन बन्दुक,तरबार समाज फेर्ने,
आट गरौँ कलम हथियार भए पुग्छ।
– सुरेश कुमार पान्डे
घोराही-१८, दाङ
७.
उनै पुराना पार्टी पुराना दलको सरकार हुन्छ
अब भन्नुहोस् कसरी यो देशको सुधार हुन्छ
देश गरिबीले डुबिनुको कारण यो पनि हो
हाम्रो देशमा सबभन्दा बढी भ्रष्टाचार हुन्छ
चुनाव जितेर एकचोटि गाउँ फर्किनु भएन
नेता ज्यू तपाईलाई कुर्सीको हतार हुन्छ
गर्नुहुन्छ करोडौको खर्च बसेर राजधानीमा
गाउँमा जनतालाई भोकमरीको बिमार हुन्छ
नेपाल न्याय हराएको देश हो भनेर चिनिन्छन्
जहाँ निर्दोष कारागार र अपराधी फरार हुन्छ
– खेमराज धामी अविरल
अछाम
९.
शिरमा परेसि सिन्दूर घातक हुँदोरहेछ
यो जिन्दगी उसैको बन्धक हुँदोरहेछ ।।
स्वार्थीहरूको स्वार्थ पूरा भएको पलमा
साँचो गरे नि माया नाटक हुँदोरहेछ ।।
भुल्नै सकेन मनले घाती भएर के भो ?
मनमा बसेको मान्छे नायक हुँदोरहेछ।।
बेचेर तन मलाई , पैसा कमाउँ लाग्यो
धनबाट प्रेमको खुद मापक हुँदोरहेछ ।।
छोडेर जान्छ जाने, बाँच्ने रहर हुनेले
बोकेर घाउ दिलमा सर्जक हुँदोरहेछ ।।
-हरि कंडेल
नवलपरासी
१०.
पूर्व मेची महाकाली शरीर हाम्रो गोर्खालीको आमा।
जति हेरौं-हेरौं लाग्ने तस्बिर हाम्रो गोर्खालीको आमा।
जन्मभूमि नेपाल हाम्रो स्वर्ग जस्तो सुन्दर छ देश,
हिमाल जस्तो नझुक्ने शिर हाम्रो गोर्खालीको आमा।
हिमाल पहाड तराई,कोहो आफ्नो कोहो पराई यहाँ,
आस्था र विश्वासको मन्दिर हाम्रो गोर्खालीको आमा।
धनी गरीब सबको माटो, टेक्ने बाटो एउटै हुन्छ ,
छाँगा छहरा पाखा भिर हाम्रो गोर्खालीको आमा।
राम्रो मान्छे असल हुन्छ लेख्ने पढ्ने बानी हुन्छ ,
बेग्लै पहिचान हुन्छ आखिर हाम्रो गोर्खालीको आमा।
सगरमाथाको देश हो यो हामी नेपालीको शान चल्छ,
नलिनुस् चिन्ता नगर्नुस् पिर हाम्रो गोर्खालीको आमा।।
– गजल सहयात्री अल्का
साँगुरीगढी-९, धनकुटा
११.
च्यातियो मन आज फाटेर गएपछि
माया लाउँछु भन्नेले ढाटेर गएपछि
हिजोको वाचा जति सबै झुटाभए
विना अर्थ दिमाग चाटेर गएपछि
हरियालीले भरिपूर्ण माया हाम्रो
बैंशले मायालाई छाटेर गएपछि
बजारमा सजिएको खेलौना जस्तो
पैसा सँग मायालाई साटेर गएपछि
के थियो स्वार्थ उस्को बुझ्न सकिनँ
नजरले मुटुलाई नै काटेर गएपछि।
– शरद प्रधानाङ्ग
विराटनगर-७
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










