Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा एम्बुलेन्स नै अलपत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: एम्बुलेन्सको काम के हो? उत्तर सजिलै आउछ, बिरामी बोक्ने। हुन पनि हो, एम्बुलेन्सले बिरामी नै बोक्छ। तत्काल अस्पताल लैजानुपर्ने बिरामीहरुका लागि एम्बुलेन्स हाम्रो लागि निर्विकल्प यातायातको साधन हो। तर गुल्मीमा बिरामी बोक्ने एम्बुलेन्स आफै बिरामी पर्दा समस्या भएको छ । गुल्मीमा गुल्मी अस्पताल, रेडक्रस सोसाइटी, आशा अपाङ्ग केन्द्र लगायत विभिन्न पालिकाहरुमा एम्बुलेन्स बिरामी अवस्थामा छन् तर तीनको उचित संरक्षण एवम् व्यवस्थापनमा कसैको चासो गएको छैन।

गुल्मी जिल्ला अस्पतालमा दुई एम्बलेन्स अत्यन्तै जिर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै बिग्रिएका एम्बुलेन्स भएपनि अहिले नयाँ भवन बन्दै गरेकोले झाडीमा फालिएको छ । झ्याप्प हेर्दा एम्बुलेन्स जस्तो पनि नदेखिने दुई एम्बुलेन्सलाई झाडीले घरेको छ। अस्पतालका व्यवस्थापक असिम चौधरीका अनुसार एम्बुलेन्स कहिलेदेखि प्रयोगबिहीन भए भन्ने कुनै आधिकारीक जानकारी छैन । एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन बर्षअघिबाट नयाँ एम्बुलेन्स संचालनमा ल्याएको छ । तर अस्पतालमै बिरामी एम्बलेन्स हुँदा न त तीनको उपचार हुन सकेको छ, न त उचित व्यवस्थापन नै ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले बा १७ च ७६८ नम्बरको एम्बुलेन्स करिब १२ बर्ष पहिले खरिद गर्यो। पछिल्लो छ बर्षदेखि बिग्रिएर कार्यालयमै थन्किएको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताए । तत्कालिन अवस्थामा रेडक्रसले आफ्नै रकमबाट खरिद गरेको एम्बुलेन्स बिग्रिएपछि संस्थाले नयाँ एम्बुलेन्सबाट सेवा दिएको छ । तर पुरानो एम्बुलेन्सको व्यवस्थापन भएको छैन।

सिंचाई
Forest
Ad.

गुल्मी अस्पताल र रेडक्रसमा भएका बिग्रिएका तर व्यवस्थापन नभएका एम्बुलेन्सका केही उदाहरण मात्रै हुन् । पालिकाहरुका सूचना अधिकारी एवम् स्वास्य संयोजकहरुका अनुसार अहिले जिल्लाभरमा कुल १४ एम्बुलेन्स प्रयोगबिहीन छन् । तिमध्ये विदेशमा बस्ने नेपालीले आफ्नो गास कटाएर सासको लागि दिएका एम्बुलेन्स धेरै छन् । तर अहिलेसम्म कुनै पनि एम्बुलेन्सको मर्मत र व्यवस्थापन भएको छैन । भने कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा दुईवटा एम्बुलेन्सको चालक एकजना मात्रै छन् ।

रुरुक्षेत्र गाउँपालिकामा विगत चार बर्षदेखि एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । वडा नम्बर ६ रिमुवामा भुपु सैनिकले सात बर्षअघि किनेको एम्बुलेन्स तीन बर्ष चलेर चार बर्षदेखि बिग्रिएको अवस्थामा छ । पालिकाले मर्मत गरेर चलाउन प्रयास गरेपनि खर्च धेरै आउने भएकोले सम्भव नभएको स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । अहिले रुरुक्षेत्रले नयाँ एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको छ ।

मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैमा एउटा एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स विगत दुई बर्षदेखि उचित व्यवस्थापनको पर्खाईमा छ । मदाने गाउँपालिका-३, सिर्सेनीमा पालिकाले अढाई लाख खर्च गरेर एम्बुलेन्स बनाएपनि संचालन हुन सकेको छैन । दुई बर्षदेखि ठप्प रहेको एम्बुलेन्स चालु आर्थिक बर्षमा दुई लाख खर्चेर मर्मत गरेपनि चालक अभावको कारण देखाउदै पालिकाले एम्बुलेन्स संचालन गर्न सकेको छैन।

इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक पदमलाल अधिकारीका अनुसार वडा नम्बर ४ दोहोलीको एम्बुलेन्स विगत चार महिनादेखि बिग्रिएको अवस्थामा छ । भुपु आर्मीमार्फत भारतीय राजदुतावासले दिएको एम्बुलेन्स चलाउँदा चलाउँदै बिग्रिएको पालिकाले जनाएको छ । मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै तीनओटा एम्बुलेन्स बिग्रिएर बन्द अवस्थामा छन्।

Awareness by SKF

अर्लाङ्गकोट सेवा समाज, जापानले दिएको एम्बुलेन्स एक बर्ष, रेडक्रस सोसाइटीको एम्बुलेन्स चार बर्ष र निस्ती बडिगाढ सेवा समाजले दिएको एम्बुलेन्स चार बर्षदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संयोजक ढाल बहादुर जिसीले बताए । बिग्रेका एम्बुलेन्स सबै पुराना भएको र पटक–पटक बनाउँदा पनि इन्जिनले काम नगरेकोले थन्किएको जिसीको भनाई छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्गमा पनि एउटा एम्बुलेन्स विगत एक महिनादेखि प्रयोगबिहीन अवस्थामा छ।

धुर्कोट गाउँपालिकामा दुईवटा एम्बुलेन्स बिग्रिएर चल्नै नसक्ने अवस्थामा छन् । गाउँपालिकाको वडा नम्बर ७ वाग्ला र वडा नम्बर १ नयाँगाउँमा रहेका एम्बुलेन्स प्रयोगबिहीन भएका हुन्। गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार पालिका गठन हुनुभन्दा अगाडी नै ल्याइएका दुवै एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने अवस्थामा छैनन् । भएका एम्बुलेन्स चल्न नसक्ने भएपछि पालिकाले दुई एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको छ।

सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घामा एउटा एम्बुलेन्स बिग्रिएको छ । मर्मत गरेर पनि चल्न सक्ने अवस्था नभएपछि अलपत्र अवस्थामा छ । एम्बुलेन्स किनेको मिति, लागत लगायतका बिषयमा पालिकासँग नै जानकारी छैन । आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज युकेले १० बर्षअघि दिएको एम्बुलेन्स आठ बर्ष चलेर दुई बर्षदेखि ठप्प छ । इन्जिनमा समस्या देखिएको एम्बुलेन्सलाई अहिले बनाएर चलाउदा पनि खर्च नै नउठ्ने भएपछि केन्द्रले संचालन गर्न सकेको छैन।

आशा अपाङ्ग केन्द्रका कोषाध्यक्ष तारा प्रसाद भुसालले एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया भएकोले समस्या भएको बताए। रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले एम्बुलेन्स चल्नै नसक्ने अवस्था भएको बताए । ‘पुरानो बिग्रेर नयाँ खरिद गर्यौँ।’ उनले भने, ‘तर एम्बुलेन्सले संचालन खर्च उठाउन नसकेर घाटामै छ ।’ प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एम्बुलेन्सको उचित व्यवस्थापनका लागि सक्दो पहल गर्ने बताए। ‘उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ ।’ उनले भने।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया