बागलुङ: काठेखोला गाउँपालिका-५ स्थित रामकोट मन्दिरमा ‘बिहुँकोट धार्मिक महोत्सव २०७९’ शुरु भएको छ। बिहिवार भव्य कार्यक्रमका बीच देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधिश्वर महामण्डलेश्वर आत्मानन्द गिरीले महोत्सव उद्घाटन गरे।
कार्यक्रममा देवघाटधाम स्थित हरिहर आश्रम, महेशसन्यास आश्रम र गलेश्वर आश्रमका पिठाधिश् सहितका संचालकहरु बिहुँकोटमा उपस्थित थिए। उनीहरुले १००८ परमानन्द स्वामीको जन्मस्थलमा आएर धार्मिक यज्ञ शुभारम्भ गर्न पाएको भन्दै सौभाग्यको रुपमा लिएको बताए। उनीहरुले धार्मिक रुपमा बिहुँकोटलाई विकास गरेर देशविदेशका भक्तजनको गन्तव्य बनाउने अभियानमा पनि पहल गर्ने बताए ।
यहाँ संस्कृत छात्रावास सहितको पाठशाला बनाउने लक्षका साथ महायज्ञ संचालन गरिएको हो। पहिलो दिन शुभारम्भको कार्यक्रममा उद्घाटन सत्र राखिएको थियो। उक्त अवसरमा जनप्रतिनिधि र राजनीतिक नेतृत्व समेतले बिहुँकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गरेर बसाइ सराइ रोक्ने लगायतका काम गर्ने धारणा समेत राखे।
गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले बिहुँकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्षमा पहल हुने बताए। उनले शिक्षाको बिकास भएको र परमानन्द गुरुको जन्मस्थललाई अझै धेरै विकास गर्न बाँकी रहेको भन्दै उनले राज्यको साधन श्रोतबाट पनि सम्बोधन हुनुपर्ने धारणा राखे।
कार्यक्रममा पूर्व सांसद टंकप्रसाद कंडेल, गोविन्द प्रसाद शर्मा कंडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बिहुँकोट समाज चितवन, बिहुँकोट समाज जापान लगायतका संस्थाका पदाधिकारीलेपनि धार्मिक गन्तव्य बनाउने लक्षमा सहयोग गर्ने बताएका थिए । २०३२ सालमा खुलेको बिहुँकोठ गुरुकुल सशष्त्र द्वन्द्वको क्रममा बन्द भएको थियो। २०५६ पछि देवघाटमा सरेको गुरुकुलको प्राथमिक तह भने यहाँ संचालन गर्ने लक्षले काम थालिएको हो।
बिहुँकोट धार्मिक महोत्सव मुल समारोहका अध्यक्ष देवीलाल सुवेदीको अध्यक्षता, हरिप्रसाद शर्माको संचालन र गोबिन्दप्रसाद शर्मा कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, आमा समूह, युवा तथा सबै क्षेत्रका प्रतिनिधिले कलस यात्रा समेत गरेका थिए। बिहुँकोटबाट बसाइ सरेर चितवन, पोखरा र काठमाण्डौ तथा बागलुङ बजार बसेकाहरुलाई सम्मान गर्ने, बिदेशमा गएकाहरुबाट भएको सहयोगले धेरै संरचना बनेकोले उनीहरुलाई समेत सम्मान र पुरस्कृत गर्ने कार्यक्रम रहेको बताइएको छ । मंसिर २८ गते सम्म महोत्सव रहने छ।
पञ्चेवाजा र भजन किर्तन सहित बिहिवार शुरु भएको महोत्सवमा हेलिकोप्टरबाट पुष्पवृटिपनि गरिएको थियो । यो क्रम सँगै वाचनालय, हवनालय, उद्घाटन समेत भएको छ । लक्ष्यबर्ती होम, पूर्णाहुती, कथाबाचन, पुराण पाठ परायण, भक्ती संगीत, पञ्चदेवोपासना, सप्तसती गीता विष्णु सहश्रनाम पाठपरायण लगायतका महारुद्रीभिसेक सम्मका क्रियाकलाप संचालन हुनेछन्। यहाँ पाठशाला संचालनकालागि कम्तिमा ३ करोड देखि ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष समेत छ । महायज्ञ शुरु हुनु अघिनै झण्डै ७० लाखबढी रकम संकलन भैसकेको सुवेदीले जानकारी दिए। -ढोरपाटन न्यूज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










