सागर भण्डारी, गुल्मीः नेपाली मौलिक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित गुल्मीको मुसिकोटमा तेश्रो नौमती सांस्कृतिक महोत्सव हुने भएको छ। नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा बिस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला वामीमा नौमती बाजा महोत्सव गर्न लागिएको हो।
वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गर्न लागेको हो। समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ३ वर्षपछि हुँदैछ। यही असौज २५ र २६ गते वामीमा महोत्सव आयोजना गर्न लागिएको वामी विश्व सम्पर्क मञ्च सांस्कृतिक समितिका संयोजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो। नौमती बाजाको संरक्षण सगैं स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव आयोजना गरिएको उहाँको भनाई छ।
दमै समुदायले विभिन्न शुभकार्यमा परम्परागत रुपमा बजाउने गरेको नौमति बाजाको संरक्षण र उत्थान गरी व्यवसायिक रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको समितिका महासविच हेमनाथ खरालले बताउनुभयो। ‘नौमती नेपालको प्राचिन र परम्परागत मौलिक बाजा हो।’ उहाँले भन्नुभयो, ‘समय अनुसार नौमती बजाएर जिविकोपार्जन गर्नसक्ने अवस्था छैन, त्यसैले पनि नयाँ पुस्तामा सिप हस्तान्त्रण हुन नसकेर लोपोन्मुख अवस्था छ।’ वामी विश्व सम्पर्क मञ्चले नेपालको पुरानो मौलिक नौमती बाजाको महत्व दर्शाएर नयाँ पुस्तामा सिप हस्तान्तरण गराउन महोत्सव आयोजना गरिएको उहाँको भनाई छ। यसलाई मेलाकै रुपमा विकास गर्ने तैयारी भईरहेको उहाँले बताउनुभयो।
नौमतीबाजा प्रतियोगीता
पञ्चधातुबाट बनेको पञ्चेबाजा र नौग्रहको प्रतीकका रुपमा रहेको नौमती बाजा नेपाली संस्कृति र संस्कारमा मंगल कार्यका लागि उपयोग हुने गर्दछ । नौमती बाजाको संरक्षणकै लागि आयोजकले नौमति बाजा प्रतियोगीता समेत सञ्चालन गर्दैछ।
नौमती बाजा मुल समारोह समिति सयोंजक नारायण सापकोटाले नौमती बाजालाई उत्कृष्ट बाजाका रुपमा विकास गर्न प्रतिस्पर्धात्मक रुपमा परिस्कृत गर्दै लैजानुपर्ने भएकाले महोत्सवको महत्व रहेको बताउनुभयो । उहाँले महोत्सवमा जुनसुकै ठाउँबाट पनि नौमती बाजाका समुह सहभागी हुन मिल्ने गरी नौमती बाजा प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
प्रतियोगीतामा प्रथम हुनेले नगद रु ५५ हजार ५ सय ५५, द्धितिय हुनेले नगद रु ४४ हजार ४ सय ४४ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छन्। त्यस्तै सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही बादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ।
मुसिकोटका स्थानीय झाँकी प्रदर्शन
महोत्सवमा नौमती बाजा प्रतियोगीतासंगै मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई समेत प्रवद्र्धन गर्ने उद्धेश्य आयोजकले राखेको छ। यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवर्द्धन गर्ने उद्धेश्य सहित स्थानीय विभिन्न झाँकीहरु पनि प्रस्तुत हुँदैछन्।
जसमध्ये मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको सयुंक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, वामीबजारको लाखे नाच, मुसिकोटको सरायँ नाच र भेंडुवाको कालि नाच समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको मुल आयोजक समिति सयोंजक नारायण सापकोटाले जानकारी दिनुभयो। कार्यक्रम सम्पन्न गर्न सापकोटाको संयोजकत्वमा २७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ।
महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकार सहित स्थानीय कलाकार र अन्य विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
महोत्सवको रकम सामाजिक काममा
वामी विश्व सम्पर्क मञ्च सांस्कृतिक समितिले आयोजना गरेको यो तेश्रो नौमती महोत्सव हो। यस भन्दा अगाडी २०७२ साल र २०७५ सालमा महोत्सवको आयोजना गरिएको थियो।
मञ्चले प्रथम महोत्सवबाट सकंलित रकम भुकम्पबाट क्षतिग्रस्त विद्यालयको पुननिर्माणका लागि आर्थिक सहयोग गरेको थियो। महासचिव खरेलका अनुसार २०७२ सालमा सम्पन्न प्रथम महोत्सवबाट सकंलित रकम मुसिकोट नगरपालिका अन्तर्गत रहेका ४ वटा विद्यालयलाई नगद ११ लाख रुपैया सहयोग गरेको थियो।
अहिलेको महोत्सवमा त्यस्तो कुनै सहयोग अभियान नभएपनि महोत्सवकै प्रवर्द्धनका लागि खर्च गर्ने तैयारी भईरहेको उनले बताए। महोत्सव निरन्तर सञ्चालन गर्न अहिले समितिले अक्षय कोषको स्थापना गरेको छ। हालसम्म १२ लाख रुपैयाँ सकंलन भएको उनले जानकारी दिए। अहिलेको कार्यक्रम भने विभिन्न व्यक्ति तथा सघंसंस्थाहरुबाट सहयोग उठाएर गर्न लागिएको छ। उक्त कार्यक्रममा अक्षय कोषका संरक्षकहरुलाई समेत सम्मान गरिने बताईएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










