Salime Malika Krishi Farm

Awareness Campaign

भुजिखोला पहिरोले २ वर्ष अघिको त्रासदीपूर्ण घटना सम्झाई दियो खोला किनाराका बासिन्दालाई



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: गए राति ढोरपाटन नगरपालिका-५, साहुथोकमा खसेको पहिराले भुजिखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो । भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए। कुनै विपद् आइनलागोस् भने कामना गरिरहे।

भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो । कुनैखाले क्षति निम्तिएन । खोला थुनिँदा बनेको ताल एक्कासि फुटेर बाढीको रुप लिने खतरा टर्यो । खोला बग्न लागेको थाहा पाएपछि गाउँलेले शान्तिको सास फेरे ।

भुजीखोला त्यही खोला हो जसले २०७७ भदौ १७ गते मध्यरातमा बितण्डा मच्चाएको थियो । बाइस जनाको मृत्यु र १५ जना बेपत्ता हुने गरी भएको बाढीको घटनालाई स्थानीयले ‘कालो दिन’का रुपमा सम्झन्छन् । सालिन्दा बर्खा याम आउँदा त्यही अप्रिय घटना बल्झेर आउँछ ।

सिंचाई
Forest
Ad.

ढोरपाटन–९ लाकुँरीबोटका भीमबहादुर सुनारले अहिले पनि ठूलो वर्षा हुँदा घर छाडेर विद्यालयमा आश्रय लिने गरेको बताए । ‘अहिले पनि बेलाबेला खोलाले त्रसाउँछ, घरछेउमै भल आउँछ’, उनले भने, ‘सुरक्षित बसोबासका लागि कसैले पनि पहल गरेनन्, हामी अझै पीडामा छौँ ।’

दुई वर्षअघिको बाढीले सुनारको पसलसहित घर बगाएको थियो । अहिले लाकुँरीबोटमै अस्थायी टहरा बनाएर बसेको उनले सुनाए । खोलाछेउ जोखिम भए पनि जीविकाका लागि बस्नुपरेको उनको भनाइ छ । ‘अन्त कहाँ जाने जग्गा, सम्पत्ति केही छैन, यहीँ छाप्रो हालेर सानो पसल गरेको छु’, सुनारले भने ।

उक्त बाढीको घटनामा प्रियजन गुमाउनेको पीडा त झन् गहिरो छ । थातथलो, जायजेथा बाढीमा बगेर कतिको त उठिबास नै भएको थियो । ढोरपाटन–५ का अध्यक्ष दीपेन्द्र पुनमगरले गएराति भुजीखोला थुनिँदा आफूहरु घटनास्थलमै रहेको बताए ।

‘साहुथोक भन्नेमा पहिरो जाँदा खोला थुनिएको हो, आधा घण्टामै खोला बग्न सुरु गर्यो,’ उनले भने, ‘तटीय क्षेत्रका बासिन्दा दुई वर्षअघिको घटना सम्झेर त्रसित बनेका थिए, धन्न कुनै क्षति हुन पाएन ।’ उनले बाढीपहिराको रोकथाम र खोला नियन्त्रणमा कसैले चासो नदिएकाले कुनै पनि बेला विपद् निम्तन सक्ने बताए।

Awareness by SKF

ठाडो खोला र कमसल भू–बनोटका कारण खोला किनार छेउछाउका बस्तीमा बाढीपहिराको जोखिम छ । उनले खोला नियन्त्रण र बस्ती विकासको दीर्घकालीन योजना ल्याउनुपर्ने धारणा राखे । स्थानीय शिक्षक जुनकुमार विकले बर्सातका बेला भुजीखोला आसपासका बासिन्दा भयमा बाँच्नुपर्ने अवस्था रहेको बताए।

‘पानी पर्दा ढुक्कले निदाउन सकिन्न, कहाँ के हुने हो भन्ने त्रास भइरहन्छ’, उनले भने, ‘यहाँ बाढी प्रभावितलाई पनि आश्वासन मात्र देखाउने काम भयो, उनीहरूको पुनःस्थापनामा राज्यका निकायले पनि बेवास्ता गरे ।’ त्यसबेला बाढी प्रभावित ठाउँमै पुगेर स्थानीयदेखि सङ्घ सरकारसम्मका पदाधिकारीले पीडितको घर पुनःनिर्माण गरिदिने बताएका थिए।

सङ्घ र प्रदेश सरकारबाट बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सहयोग नआएको स्थानीयको गुनासो छ । देश विदेशबाट ढोरपाटन नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसाबाट भने राहत सामग्री वितरण गरिएको थियो । राहत मात्र दिएर नहुने भन्दै बाढीपीडितको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवाज उठ्ने गरेको छ।

विसं २०७७ असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनःनिर्माणको काम थाल्ने भनी जनाएको प्रतिबद्धता पनि लागू हुन सकेन ।

बाढीले क्षति पुर्याएका सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायतका भौतिक संरचना पुनःनिर्माणका लागि नगरपालिकाको केन्द्र बुर्तिबाङमा त्यस्तो कार्यालय स्थापना गर्ने जनाइएको थियो । दुई वर्ष बित्न लाग्दासमेत न कार्यालय नै राखियो, न त पुनःनिर्माणको काम नै अघि बढ्यो ।

भुजीखोलाको बाढीपछि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम थाल्ने सरकारी घोषणा पनि अलपत्र परेको छ । बाढी प्रभावित भने अझै पनि तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता पूरा हुनेमा आशावादी छन् । बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पुर्याएको थियो।

त्यहाँका मात्र एक सय तीन घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै वडा नं ८ का ८ घर पूर्ण र ९ घरमा आंशिक क्षति पुगेको थियो। बाढीबाट वडा नं. ७, ६ र ५ सम्मै प्रभावित भएको थियो। लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा बढी क्षति पुगेको थियो। रासस

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया