गलकोट, २९ बैशाख २०८३: गलकोट नगरपालिका वडा नं. ४ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ। १६ महिनादेखि ५९ महिनासम्मका ११२ जना बालबालिकामध्ये सबैले पूर्ण खोप प्राप्त गरेपछि उक्त वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
उक्त अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पूर्ण खोप सुनिश्चितता अभियानले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो। उहाँले यस्तो अभियानलाई दिगो रूपमा अगाडि बढाउन सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै उत्कृष्ट विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीको सम्मानले समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा शिक्षा समितिका सदस्य सचिव धनबहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख गणेश सुनारले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी गतिविधि, असल अभ्यास र भावी योजनाबारे जानकारी गराउनुभयो।
कार्यक्रमकै अवसरमा ९ जना महिला स्वास्थ्य स्वयंसेविका, ३ जना स्वास्थ्यकर्मी, १५ देखि २३ महिनाभित्रका ३ जना बालबालिका, कक्षा ८ मा ३.२ भन्दा बढी जीपीए ल्याउने २७ जना विद्यार्थी तथा कक्षा ५ मा ३.६ भन्दा बढी जीपीए ल्याउने १३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। त्यसैगरी विभिन्न विषयगत उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।
सार्वजनिक सेवा प्रदायक संस्थामा हुने बुलिङ न्यूनीकरणका लागि ‘म प्रतिज्ञा गर्छु’ अभियान अन्तर्गत विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयमा प्रतिबद्धता फ्लेक्स वितरण गरिएको थियो। साथै वडा शिक्षा समितिको तर्फबाट ५ वटा विद्यालयलाई स्टेशनरी सामग्री समेत प्रदान गरिएको थियो।
कार्यक्रममा इन्द्रेणी युवा क्लबले पनि विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गरेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, टोल विकास संस्था, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले जनचेतनामूलक सांगीतिक प्रस्तुति समेत दिएका थिए।
कार्यक्रम वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता, वडा सदस्य कृष्ण भण्डारीको स्वागत मन्तव्य तथा वडा सचिव रामबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










