Salime Malika Krishi Farm

Awareness Campaign

असहमतिको साझा खुलापत्र



ओझेलका खबर संवाददाता
२ घण्टा अगाडि


Awareness

Place for ads

आदरणीय नेताज्यूहरू
श्री प्रदिप ज्ञवाली,
श्री चन्द्र भण्डारी,
श्री गोकर्ण विष्ट,

सर्वप्रथम गुल्मी जिल्लालाई आजको अवस्थामा पुऱ्याउन तपाईंहरूले निर्वाह गर्नुभएको राजनीतिक, वैचारिक र नेतृत्वदायी भूमिका प्रति सम्मान व्यक्त गर्दै, तपाईंहरू तीनैजना राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्छ र गुल्मीले गर्व गर्न सक्ने नामहरू हुनुभएकोमा एक सचेत गुल्मेली नागरिकको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु।

तर २०५६ सालदेखिको निर्वाचन मार्फत निर्वाचित तपाईंहरू पटकपटक सांसद भइसकेर पनि २६ वर्ष बितिसक्दा फेरी २०८२ सालको परिवर्तनकारी निर्वाचनमा पुन उम्मेदवारी दिँदै गर्दा, गुल्मेली जनताले आफ्नो प्रतिनिधि परिवर्तन गर्न अरु कति समय पर्खनुपर्ने हो? भन्ने प्रश्नसँगै मेरा अन्य केही प्रश्न र असहमतिहरू यस पत्रमार्फत तपाईंहरू समक्ष राख्न चाहन्छु।

सिंचाई
Forest
Ad.

गुल्मी जिल्ला काङ्ग्रेस र एमालेको पकड जिल्ला भएकोले उक्त पार्टीबाट उम्मेदवारी दिने उम्मेदवार नै निर्वाचित हुनु स्वभाविक हो। तर तीन दशकदेखि निर्विकल्प तपाईहरु नै उम्मेदवार भएर प्रस्तुत हुँदै गर्दा गुल्मेली जनताले आफ्नो प्रतिनिधि परिवर्तन गर्न सकिरहेका छैनन्। उक्त कुरालाई तपाईंहरू तीनैजना नेताले आजसम्म पनि मनन नगर्नुले, कतै भविष्यमा गलत अभ्यासको सुरुवात त हुँदैन? भन्ने प्रश्न हामी सबै माझ तेर्सिएको मैले महसुस गरिरहेको छु।

तपाईंहरू आफ्नो पार्टीलाई हेर्नुहोस् त, तपाईंहरू पटकपटक सांसद भइराख्दा तपाईंको पार्टीका नेताहरु कतिपटक परिवर्तन भए? कति आए, कति गए ? त्यस्तैगरी गुल्मेली जनताले पनि आफ्नो प्रतिनिधि परिवर्तन गर्ने समय आउनुपर्ने होइन र? प्रतिनिधि परिवर्तन लोकतन्त्र भित्रको कुरा भएकोले यो कुरामा तपाईंहरूको ध्यान किन गएन?

हरेक सार्वजनिक नेतृत्वमा दुई कार्यकालको समयसीमा आवश्यक छ भन्ने बहस चलिरहँदा, तपाईंहरू भने पटक-पटक सांसद बन्नु कस्तो लोकतान्त्रिक मूल्य र अभ्यासको प्रतिनिधित्व हुन्छ? यो प्रश्नको जवाफ मुखले भन्दा व्यवहारमा झल्किनुपर्ने हो। त्यसैले पनि म तपाईंहरूको यसपटकको उम्मेदवारीमा असहमति प्रकट गर्दछु ।

पटक-पटक नेतृत्व परिवर्तन हुँदा समाजले नयाँ विचार, मूल्य र चेतनाको अभ्यास गर्ने अवसर पाउँछ, जसले सामाजिक रूपान्तरणलाई गति दिन्छ। जेम्स म्याकग्रेगर बर्न्स (James MacGregor Burns) अमेरिकी राजनीतिक वैज्ञानिक तथा इतिहासकार जसले सन् १९७८ मा प्रकाशित आफ्नो प्रसिद्ध पुस्तक Leadership मार्फत् यदि नेतृत्व परिवर्तन भयो भने नयाँ सोच जन्मिन्छ, पुराना मूल्यहरू पुनरावलोकन हुन्छन्, समाजको चेतनास्तर उकासिन्छ भन्ने कुरा उल्लेख गरेका छन्। तर तपाईहरुले आफ्नो प्रतिनिधित्व कहिलेसम्म निरन्तर कायम गरेर समाजलाई कुण्ठित गरिराख्ने हो?

Awareness by SKF

हाम्रो गुल्मी जिल्ला, लोकसेवा मार्फत देशभरि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने सबै जिल्लाहरू मध्ये धेरै जनशक्ति उत्पादन गर्ने जिल्लाहरूको सूचीमा अग्रपंक्तिमा पर्दछ। यसमा पनि तपाईंहरूले राजनीतिक रङ्ग मिसाएर तर्क गर्नुहोला कि, हामीले गुणस्तरीय शिक्षा विस्तार गरेर नै यो सम्भव भएको हो। तर यसरी देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न सक्षम जिल्लाले, आफ्नो प्रतिनिधि किन परिवर्तन गर्न सकिरहेको छैन?

विकास एक नियमित प्रक्रिया हो। नेतृत्वमा जोसुकै रहे पनि विकासको गतिशीलता रोकिँदैन। तर तपाईंहरुले त गुल्मीमा भएका नियमित विकासका योजनाहरूलाई राजनीतिक भागबण्डा गरेर जनताको आँखामा छारो हाल्दै आफ्नो भोट सुनिश्चित गर्ने साधन बनाउँदै हुनुहुन्छ। होइन भने, भनिदिनुहोस्, अरु जिल्लामा भन्दा गुल्मीमा कुनै एउटा क्षेत्रमा पृथक विकास भएको छ। माफ गर्नुहोला, त्यस्तो कुनै उदाहरण देख्न सकिँदैन।

गुल्मीसँगै गुल्मी वरपरका अरु जिल्लाहरूको विकासलाई तुलना गरेर हेर्दै गर्दा सबैजसो जिल्लाको विकासको स्तर समान छ। के ती जिल्लाहरूमा पनि प्रानै सांसदहरू दोहोरिरहेका छन् त ? तपाईहरु जस्तै? पक्कै पनि वरपरका सबै जिल्लामा थुप्रै सांसदहरु फेरिएका छन्। विकासका गतिविधिहरू गुल्मीमा जसरी नै निरन्तर अगाडि बढिरहेका छन्। तर तपाईंहरूले भने आफ्नो राजनीतिक स्वार्थको लागि गुल्मीको विकासलाई सोझा जनताहरू माझ बढाईचढाई गर्नुभएको छ। जुन विकास वास्तवमा, वर्तमान समयमा सन्तोषजनक पनि मान्न सकिँदैन । त्यसैले पनि मलाई तपाईहरु पुन सासदमा दोहोरिन उपयुक्त लागिरहेको छैन।

२०७४ सालको निर्वाचन जितेपछि आदरणीय प्रदिप ज्ञवालीज्यूले दिनुभएको भाषण भन्दै अहिले एउटा भिडियो सामग्री सामाजिक सञ्जालमा उपलब्ध छ। जसमा भनिएको छ “पाँच वर्षभित्र अब नेपाल अल्पविकसित मुलुकको कलड्ङ्कबाट मुक्त हुनेछ, विकासशील बन्नेछ। वृद्धबाआमालाई रुवाउँदै रुवाउँदै युवाहरू विदेश जानुपर्ने बाध्यता रहने छैन”। तर आठ वर्षपछि अहिलेको अवस्था आफै नियाल्नुहोस्। कुनै बदलाव देखिँदैन। उक्त भाषण निर्वाचन जितको एक भावनात्मक उत्तेजना साबित भएको छ। त्यसैले पनि अब तपाईंले गुल्मेली जनताप्रति भोटको अपेक्षा गर्नु आफैमा लज्जाबोधको विषय भएन र?

आदरणीय प्रदिप ज्ञवालीज्यू, गोकर्ण बिष्टज्यू, तपाईं र तपाईंको पार्टीको महत्वकांक्षी भिजन भाषणमा सीमित भएको छन्। आजसम्म नेपाली जनता माझ महत्वाकांक्षी आश्वासन बाँडेर प्राप्त भोटले थुप्रैपटक तपाईंहरु सत्तामा पुग्नुभयो। पटकपटक असफल पनि हुनुभयो। तर सन्तोषजनक लक्ष्य हासिल गर्न नसक्दा परिवर्तनका आवाजहरू उठिरहँदा तपाईंहरू भने त्यसलाई नजरअन्दाज गर्दै कमी कमजोरीहरू सच्याउनुको सट्टा समाजलाई विभाजनको दिशातर्फ लैजान अग्रसर हुनुहुन्छ। यसमा मेरो गम्भीर असहमति प्रकट गर्न चाहन्छु।

अहिले देशभर परिवर्तनको आवाज गुञ्जिरहेको समयमा विदेशमा रहेका छोराछोरीहरुले आफुले मतदान गर्न नपाउदा आफ्नो बाबुआमा मार्फत परिवर्तनको आवाज उजागर गर्न खोज्दा प्रगतिशील चेतनाको सञ्चार हुन्छ कि, आफ्नो भोट खोसिने डरले देख्नुभएको ब्ल्याकमेलिङ हुन्छ? विगतदेखि नै तपाईहरुले जिल्लालाई कब्जा गरेर राख्नुभयो तर अब आफ्ना शिक्षित छोराछोरीले बाबुऑमालाई भोट परिवर्तन गर्न भन्दै गर्दा गलत कसरी हुन्छ? पटकपटक असफल हुँदा पनि जनताले तपाईहरूलाई विश्वास गरिरहनुपर्ने तपाईहरु कस्तो लोकतन्त्रको पक्षमा हो?

आदरणीय चन्द्र भण्डारीज्यू, तपाईंको परिकल्पना अनुसारको परियोजनाबाट प्रतिफल प्राप्त गर्नको लागि गुल्मेली जनताले तपाईंलाई कहिलेसम्म मतदान गर्नुपर्ने हो? अहिले भाषणले होइन स्पष्ट दृष्टिकोण र परिणाम दिने समय आएको छ, तर तपाईंमा जुन विचार र चिन्तन छ सोहीअनुरूप कार्यान्वयन पक्ष निकै ढिला र कमजोर भइसकेको होइन र? तपाईंले एक टेलिभिजन अन्तर्वार्तामा जिल्लाका विकास आयोजनाहरूमा ठेकेदारहरूको कब्जा छ भनिसकेपछि अब तपाईंले कुन नैतिकतामा बसेर गुल्मीको विकासलाई अगाडि बढाउनको लागि फेरि भोट माग्दै हुनुहुन्छ?

आदरणीय गोकर्ण बिष्टज्यू, विगत २६ वर्षदेखि सांसद बनिरहँदा भएका नियमित विकासको आडमा अझ अरु कति पटक तपाईंलाई गुल्मेली जनताले जिताइरहनुपर्ने हो? होइन भने, श्रम मन्त्री समेत भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेको तपाईंले बेरोजगारी र युवा पलायन रोक्नको लागि अहिलेसम्म कुनै ठोस पहलकदमी लिनुभयो त?

आदरणीय नेताज्यूहरू, तपाईंहरूले गुल्मी र गुल्मीबासीको पक्षमा देखेका सपना र महत्त्वकाङ्‌क्षा कार्यान्वयन गर्न पटकपटक सांसद भएर आफ्नो कार्यक्षमता प्रस्तुत गरिसक्दा वर्तमान समयमा तपाईहरूको क्षमता संगै उर्जा पनि कमजोर भैसकेको महसुस मैले गरेको छु। अब नयाँ अनुहारले नै तपाईंहरूका बाँकी सपना र योजनासँगै नयाँ धारबाट प्रतिनिधित्व ग्रहण गर्दै समय सापेक्ष विकासमा योगदान दिन सक्ने छन्। गुल्मीमा नयाँ नेताहरू पनि सक्षम छन् भन्ने आवाज देशभर सञ्चार गर्नुपर्ने समय आइसकेकोले पनि, तपाईंहरूप्रति मेरो विनम्र असहमति राख्न चाहन्छु।

यसो भन्दै गर्दा, तपाईंहरू अब राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने मेरो मनसाय होइन। आ-आफ्नो पार्टीको नेतृत्वदायी पदमा रहनुभएका तपाईंहरूबाट देशभर थुप्रै नेपालीहरू आज पनि तपाईंहरूमा दृष्टि, इमानदारी र साहसपूर्ण राजनीति खोजिरहेको छन्। त्यसैले केन्द्रमा बसेर पार्टीगत राजनीतिलाई सही दिशामा रुपान्तरण गर्दै अगाडि बढाउन तपाईंहरूको आवश्यकता रहन्छ। जसले तपाईंहरू सँगै हरेक गुल्मेलीहरूको शिर उचो पारिरहनेछ।

अन्त्यमा, आशा छ, तपाईंहरूले यी मेरा असहमति र प्रश्नहरूलाई आलोचनाको रूपमा होइन, आत्मसमीक्षाको अवसरका रूपमा लिनुहुनेछ। गुल्मी र देशको भविष्य अझ उज्यालो बनाउने जिम्मेवारी आज पनि तपाईंहरूकै काँधमा छ। त्यसैले जिल्लामा अभिभावकीय भूमिका निर्वाह गर्दै राष्ट्रिय राजनीतिसँगै समसामयिक सामाजिक-आर्थिक मुद्दाहरू व्यवस्थापन गर्नमा तपाईंहरूको अबको राजनीतिक भूमिका महत्वपूर्ण हुनेछ भन्ने सुझाव सहित मेरा यी शब्दहरू टुंग्याउन चाहन्छु।

भवदीय
गुल्मीदरबार-२ बाट विकासप्रेमी गुल्मेली नागरिक
प्रकाश थापा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो