बागलुङ: आगामी आसर मसान्तमा तोकिएको समयसिमा सकिने बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो ।
लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा छ । बागलुङ नगरपालिकाले पटक पटक ताकेता गर्दा समेत निर्माण व्यवसायीले कामको गति नबढाएको स्थानीयको गुनासो छ । निर्माण सम्झौताको २१ महिना बितिसक्दा कप्पनीले पहिलो तला मात्रै ढलान गरेको छ । दोस्रो तलाका लागि पिल्लरहरु बनाउने काम सुस्त छ ।
१५ शैयाको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसंग २०७८ असार २३ गते ठेक्का सम्झौता गरेको थियो । १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले बताए । भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्टसहितको अस्पताल निर्माण गर्ने स्टमेट छ ।
‘यस्तो गतिले समयमा काम सकिँदैन्, निर्माण समयमा सक्न समयमा नै निर्माण व्यवसायी जिम्मेबार हुनुपर्छ’ अनुगमनका लागि अस्पताल भवन निर्माण स्थल पुगेका जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले भने ‘अस्पताल भवन जस्तो महत्वपूर्ण भवन निर्माणमा ढिलाई हुनु दुःखद हो ।’ लामो समयको प्रयास र पहल पछि बागलुङ नगरपालिकाको नगर अस्पताल पैयुपाटामा निर्माण सुरु भएको थियो । अस्पताल भवन निर्माण अघि बढेपनि निर्माण व्यवसायीले लापरवाही गर्दा काम सम्पन्न हुनेमा स्थानीय सशंकित छन् ।
भवनको काम छिट्टै सकाउन नगरको तर्फबाट सबै प्रयास भैरहेको नगर उपप्रमुख राजु खड्काले बताए । ‘व्यवसायीलाई ताकेता गरिरहेका छौं, अस्पतालको सेवा थप गर्न डाक्टरको माग गरी पदपूर्ती गरेपनि डाक्टर बस्नुभएन, अरु प्रयास भैरहेका छन्’ खड्काले भने ।
बागलुङ नगरपालिका–१३ पैयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालको रुपमा नामाकरण गरिएको थियो । सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भएपनि अस्पताल भवन निर्माणमा ढिलाई हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ ।
बागलुङ नगरपालिकाको रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थनका स्थानीयलाई अस्पताल निर्माण संगै स्वास्थ्य सेवा लिन सहज हुने छ । अस्पतालमा एमडिजिपीसहित तीन जना चिकित्सक आवश्यक रहेपनि अहिले मेडिकल अधिकृत राख्न नसकिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो । निर्माण कम्पनीले भने सडकको असुविधाका कारण समयमा काम गर्न नसकेको बताउने गरेको छ। -ढोरपाटन न्यूज
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |