कवि: अविचल आस्था मणि
छन्द: मन्दाक्रान्ता छन्द
१.
आहा आहा सरल कविता साथमा विश्व भाइ
काव्या गोरी प्रकट प्रतिभा चिन्न पाएँ बधाई
होली खेल्ने चलन रङको पर्व फागुन मास
हाँसो उस्तै कविश मनको झल्ल देखेँ सुवास।
२.
शिक्षा दीक्षा सकुशल सफा जिन्दगी नाचगान
आएको याे समय रथ हो मोक्ष पुग्ने विमान
छुट्टै शोभा विकसित बनोस् ताज हो याे इमान
आहा आभा पुलकित प्रभा देखियो स्वाभिमान।
३.
होली खेल्ने अवसर जुट्यो फाल्न टाढा निराशा
आएकी छिन् समुचित कला बन्न चाहेर आशा
ल्याएकी छिन् लय कुशलता मग्न बोकेर डोली
आँखा भन्छन् सफल कवि छन् कल्पनाले टटोली।
४.
मैला जम्मै पर हुन गए, जिन्दगी बज्छ बाजा
डोली चढ्छिन् कुसुम युवती सौम्य मायाँ छ चासो
छैनन् ईर्ष्या कपट कटुता, शिष्ट झन् देख्छु हाँसो
साट्यौं आत्मा विमल मन जो भाग्छ टाढा गुनासो।
५.
रङ्गीचङ्गी भुवन सुकिलो साथ सद्भाव ऊर्जा
ओर्लेका छन् तरुण वयमा देहका पार्टपूर्जा
टाढा शङ्का सब हुन गए आत्मविश्वास चोखो
सङ्लो अग्लो मणिमय छटा ज्ञानको ज्योति भोको।
६.
पाएँ, लाएँ विविध रङ यी मग्न मस्ती फिँजाई
आएको हो ललित कविता छन्द आफैं रिझाई
काला मैला हवन गरियो दिव्य आलोक पाई
होली खेल्ने रहर थपियो लिन्छु आफैं बधाई।
७.
सारा बाधा अब पर हटे, वैर ढिक्का फुटाएँ
साथी सङ्गी अवतरित छन् साथ सज्जा जुटाएँ
श्रद्धा जागा सुमन मनमा भावना पूर्ण केस्रा
छर्दा छर्दै मन अचमको गर्छ साहित्य खेस्रा।
८.
आहा रत्ना ! प्रकट रङमा साथ खेल्ने छु होली
ल्याए हुन्थ्यो मगन लयमा काव्य सङ्गी बटोली
आत्मा सिङ्गै चरणतलमा अर्पिएँ बन्न शान्त
आएकी छौ सकरुण कथा भावनामा प्रशान्त।
९.
इन्द्रेणीका रङ रङ चुनी एक माला उनाऊँ
नासो पासो सरह सुकिलो कण्ठको होस् चुनाऊ
सोझो बन्ने उपक्रम बढ्यो प्रेमको आज भाउ
ह्वात्तै केले यस विषयमा के छ रत्ना ! सुझाउ?
१०.
बोली होली सरह सुकिलो पाइएको विवेक
खेल्ने साथी वरपर बसे दङ्ग पर्छन् छिमेक
पाएका छन् उचित सुविधा काम गर्दा निमेक
इच्छा जागा समुचित बनून् सम्झनामा हरेक।
११.
आहा चेष्टा कुशल प्रतिभा काव्यको गर्न खेती
सोध्दा थाहा सगुन सुकिलो मथ्न साहित्य नेती
पाएकाले अचम कवि यो मान्छ उम्दा कमाई
होली खेल्ने अवसर जुट्यो जित्छ पक्कै मलाई।
१२.
आरामै छौं सकल जनता खेल्न होली बसेका
देखेकाे हो उचित पलमा रङ्ग भित्रै पसेका
हाँस्ने नाच्ने छलफल गरी हुन्छ उत्साह वर्षा
आएको हो अचम अहिले गर्न साहित्य चर्चा।
१३.
सीता साध्वी जनक पुरमा जन्मिएकी हुनाले
रङ्गी चङ्गी नगर गरियो चेतनामा मुनाले
बास्ना आयो मगमग अहा फूल बेली चमेली
फुल्दा जस्तै सुरभित बने, हेर अग्ला हवेली।
१४.
आएका चाहना छन् रङ विरङमा आजको चाड होली
सारा मैलो पखाल्ने युग युग सबका साथ उत्साह लोली
साख्खै ठान्ने मजा होस् मुखरित कविता स्वच्छता रङ्ग घोली
आँखा आँखा जुधेका मनसुब नयाँ दिव्य ल्याएँ बटोली।
१५.
लागेको कुत्कुती हो, हरफ हरफमा सार सौन्दर्य सङ्लो
देखेँ इच्छा उदाए अनुपम उपमा कामना सत्य अग्लो
वारी पारी सवारी समय रथ चढी गर्न थालोस् कथाले
हाँक्ने हो विश्व सिङ्गै धवलित महिमा मुग्ध छन् मान्यताले।
१६.
पाएँ श्रद्धा सुमन मनको सुम्पिएँ सामु आज
स्वप्ना जागा उदित विपना मान्न चाहन्न लाज़
जो जे भन्ला उकुच ननिको हेर फोरिन्छ घाउ
होली हो यो अवसर खुला पस्न मिल्ने तलाउ।
१७.
डाकेको आज होली हवन छ गरिने पीर चिन्ता डढाई
पाएँ आनन्द बेग्लै पुलकित म बनें आजको याे पढाई
सेवा गर्ने सबैको सुअवसर खुला खोजको याे तहल्का
उद्योगी कार्य शैली विकसित गरिमा ज्यान यो पार्छ हल्का।
२०७९/११/२२, बिहान
अविचल आस्था मणि
तनहुँ, नेपाल
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










