जून तारा संयुक्त गजलसङ्ग्रहमा सङ्ग्रहित गजलहरुका साथमा अन्य केही गजलहरु यहाँ प्रस्तुत गरिएको छ।
हत्याहिंसा बलात्कार भन्नुस् गर्ने कहिलेसम्म
गरिब निमुखा भोक भोकै मर्ने कहिलेसम्म
जिउने सपना बोकेकी थिएँ रहेनछ सोचे जस्तो
यस्तै चलखेल गर्छौ नेता रुनु पर्ने कहिलेसम्म
तिम्रो घरमा सुनको बिस्तारा सुनकै ओढ्ने होला
हाम्रो घरमा पानीको गाग्रो भर्ने कहिलेसम्म
दिनहुँ खुलेआम चेलीबेटीको भएको छ हत्या
हत्यारा लुकाउछौ भन मिति सर्ने कहिलेसम्म
नारीको जिन्दगीमा खेलबाड गर्ने पुरुष हो
आमाको आँखामा आँसु झर्ने कहिलेसम्म
– मन्दिरा खड्का “कान्छु”
रामेछाप
हाम्रो पवित्र माया प्रेम छुटायो छुवाछुतले
जीवनको साथी घाम छायाँ बनायो छुवाछुतले
कति कराउँदै रुनु यो अँधेरी जूनेली रातहरूमा म
बाँच्नै गाह्रो बनायो र झनै रुवायो छुवाछुतले
हाँस्नलाई त हाँसेकै छु मुटुमा चोट व्यथा बोकि
आज प्रेमी जोडीलाई रुवाइ के पायो छुवाछुतले
कहिले सुरु भयो माया प्रेम कहिले हुन्छ ? अन्त्य
कयौँ माया गर्ने जोडीको ज्यान खायो छुवाछुतले
जात जातीय कुरामा काटमार चल्दै गर्दा समाजमा
आजकल धेरै विकृतिहरू फिजायो छुवाछुतले
– श्याम कुमार श्रेष्ठ ‘असफल यात्री’
कमल गा. पा.-४, जीवन चोक, झापा
केही आँखामा केही मनमा बस्यो अन्जान यादहरु
सवाल नगर्नुस् मलाई खुब लाग्यो जवान यादहरु
जवाफ तयार छ सुन्नुस् ताली कसरी बज्दो रहेछ
सधैँभरी ओठमै बोकी हिँडेको छु थकान यादहरु
परेली खुल्छ आधी रातमा अत्यास लागेको बेला
यो दुनियाँ निदाएको बेला आउदैन ध्यान यादहरु
सोची रहें हरेक बिहान सपनाकै शहरमा छु लाग्यो
बेलाबेला आउने गर्छन् यो चिन्तित अडान यादहरु
चित्त बुझ्दैन मनलाई स्थायी छैन तनलाई मेटाउने
बताइ दिनुहोस् त्यो दिलमा बसेको चट्टान यादहरु
– वासुदेव दनुवार
कमलामाई नगरपालिका, सिन्धुली
याद आउँछ जो बित्यो जिन्दगानी घरिघरी,
आँखामै छ सम्झना को राजधानी घरिघरी।
पुग्दापनि शुन्यबाट शुन्य सम्मको सफरमा,
सताईरहन्छ त्यही बिचको कहानी घरिघरी।
जीवन रहेछ आफ्नै जन्मदाताको अफ्सान,
बगाउन लाई यिनै आँखाबाट पानी घरिघरी।
चोट आफ्नै सरिरमा लाग्थ्यो सहन सकिन्छ,
मुटमा बाण लागेको छ छानि छानी घरिघरी।
जसले जन्मायो र हुर्कायो समाजमा दौडायो,
उसैलाई पोल्नु पर्ने रैछ जानि जानी घरिघरी।
यही समाजले पनि नुन चुक लगाउन खोज्छ,
आलो घाउमाथी आफै बनेर नादानी घरिघरी।
– सुरेशकुमार पान्डे
दाङ घोराही-१८
कसैको कसैमा डर भेटिएन कसैमा भर भेटिएन
यहाँ आफ्नै माता पिताको कसैमा कदर भेटिएन
सम्पतिको सम्मुन्ने बारम्बार भरोसाको कुरा गर्नु भो
खै आज सम्म मात्र भरोसाको चलेको घरबार भेटिएन
सानैमा बा आमा र गुरुले सोधेका थे के बन्छौं तिमी
धेरै किताबमा खोजे तर पनि यसको उत्तर भेटिएन
माया र प्रेमको नदीमा डुबेका युवा युवतीहरु डुबी रहे
तेजरुपी माछाले खाएछ उत्रिएको बगर भेटिएन
पत्थर सजिलै टुक्रिन तयार हुन्छ घर बन्न अरूको
त्यही घर भत्काउने मान्छे भन्दा कठोर पत्थर भेटिएन
– सुमन धमला
सिद्धिचरण नगरपालिका-१०, ओखलढुङ्गा
दुनियाँ भित्र म,कसैको आँखा नलागेको
अनि चाहेर पनि परदेश खुट्टा नलागेको।
मित्र जापान जान पाएनौ दुखेसो पोख्यौ
मेरो बर्षौ भयो खाडीमा भिजा नलागेको।
म यति ठूलो भए अझै दुःख कति गर्छौ
यार नाटक गर्छिन भोक आमा नलागेको।
हिजो ! बाउ नजिकै आए अनि कुरा गरे
भन्दै थिए साहुको धेरै भरोसा नलागेको।
दाइ ! तैले घरको ऋण कहिले तिर्छ्स नि
भाइ हुन्छ,कुनै कुनै मुर्ति माला नलागेको।
तिमी ! आफ्नो सफलतामा बेस्सरी रमाउ
छेक्दैमा रुखले कहाँ छ हावा नलागेको।
– प्रदिप नेपाली
बिहादी-५, उराम,पर्वत
मुखमा राम राम बगलीमा छुरा लगाएर ।
के पाउँछौ र पिठ्युँ पछाडि कुरा लगाएर ।।
सफल हुन भनेर नै लागी रहनेछु निरन्तर,
बरु हिँड्न परोस् साथमा टुहुरा लगाएर ।।
धन चाहिन्न मुटुको कञ्चन माया दिनुस्,
अमर को रहेको छ र सारी चुरा लगाएर ।।
ए यवाहरू हो अब देश परिवर्तन गर्नपर्छ,
हिम्मत जुटाऊ एकतामा पाखुरा लगाएर ।।
आखिर एक दिन जानु नै पर्छ साथीभाइ,
केही हुने छैन ‘मनु’ रातदिन सुरा लगाएर ।।
– मनिषा विश्वकर्मा ‘मनु’
टीकापुर, कैलाली
हाल: मुम्बई
धेरै टिक्ने भनेकै बाङ्गो रुख हो सोझो लाइत ढालिहाल्छन्
केहि गर्ला भन्ने मान्छेलाइत आँखाको तारोमै राखिहाल्छन
ए बिरुवाहरुहो किराहरुबाट बच्न जति सकिन्छ नराम्रा हौ
राम्रोलाइ त उम्रीनै दिदैनन् माटो भित्रै जरानै काटिहाल्छन्
तिमी निर्दोष भएर पनि हत्याको आरोप खेपिरहेछौ
घुसकै प्रतीक्षामा छन् न्याय दिनेहरु घुस देउ मानिहाल्छन्
तिमिलाइ पैंसा नभएर हो कस्सैले नपुछेको नटेरेको
टन्न पैसा कमाउ धनी बन सबैले नमस्ते गरिहाल्छ्न्
स्त्री जातकोत पटक्कै बिश्वास अनि भरमा नपर लोग्नेहरुहो
आज मजा लुटेर मजाले भोलि दुख्यो भन्दै फसाइहाल्छन्
– पारस भट्ट (प्यासी)
मेलौली-२, बैतडी
कयौं शहिद भए अल्पआयुमै गए लेखक सर्जकहरु।
वीरगति पाए जीवित रहेन बन्यो कथानक सर्जकहरु।
सृष्टिको सुन्दर रचना उपहार छोडेर जान्छन् शहिद,
बग्दैछ अझैं रक्ताम्य लडाइँमा शुभचिन्तक सर्जकहरु।
समयसँगै कोही झरेर गएँ, कोही मरेर जानेछन् यहाँ,
घट्ना घटाए स्रष्टा गुलाम ठान्ने प्रशंसक सर्जकहरु।
मर्ने रहर कसलाई हुन्छन् र है, प्रकृतिको नियम थियो,
जन्म विवाह र मृत्यु निश्चित हुन्छ पृथक सर्जकहरु।
समयको उपहार तरङ्गमा दिल जोड्दै रङ् बद्लियो,
सिर्जना वाचन गर्ने भेटिए, फरक-फरक सर्जकहरु।।
– अल्का राई
साँगुरीगढी-९, धनकुटा
यहाँ चिन्तन भएन भने हजुर डर भएन भने
नसकिने रहेछ केहि काम गर्न रहर भएन भने
तपाईं मन्दिरको मूर्तिलाई देउता सम्झिनुहुन्छ
अरु कसलाई पुजा गर्नुहुन्थ्यो पत्थर भएन भने
दुःख नगरि कोहि पनि कहिल्यै सफल हुनन्
कडा भन्दा कडा मेहनत निरन्तर भएन भने
आयो दैवीप्रकोप यहाँनेरको सबै लगेर गयो
अब कसको अधीनमा बाचौँ बगर भएन भने
यहाँ आफ्नैको लाग्छ अरुलाई काम पाइदैन
म बसेर के गरुँ नेपालमा अवसर भएन भने
– रत्ना पुन मगर
रुकुम पश्चिम
प्रेम नबुझ्नेलाई सुनाएर कहानीको के काम,
मुटु टुक्रा पारिदिने ति महारानीको के काम ।
झुटको खेती गर्दै हिड्ने तिमी जस्तालाई,
मन देखि बोलेका कुराकानीको के काम ।
कर्ममा विश्वास गर्ने म, म सधै सोच्ने गर्छु ,
सत्यको ठाउँमा ति बेइमानीको के काम ।
धेरै संघर्ष गरे, जीवन सुखी बनाउन भनि,
प्रगति शुन्य भयो जिन्दगानीको के काम ।
तिमी भाउ खोज्दैछौं समयको याद राख,
उमेर ढल्के पछिको जवानीको के काम ।
– अमृत मगर बड्डा (अमृत ब. रोका मगर)
तुलसीपुर, दाङ
हाल: वीरेन्द्रनगर, सुर्खेत
काेही आउछन कति नजरमा पर्छन।
जन्म हुदै गाउँमा काेही सहरमा पर्छन।
मिठा सपनाहरु कस्ले नै पाे देख्दैनर
हन्डर खादै बाध्यताकाे सफरमा पर्छन।
गाह्रो हुन्छ सास धान्न गरिब भएपछि
अगाडि सर्न ठुलाबडाकाे डरमा पर्छन।
नारी पुरुष बराबर भन्दै अगाडि बढ्दा
कतिपय पुरुष नारीको भरमा पर्छन।
बुझकर भन्दै समाजमा कुद्नेहरु पनि
यकिन गर्न नसकि कडा उत्तरमा पर्छन।
चलाख बनी रक्षा गर्दा गर्दै नारी आफ्नाे
राक्षसकाे अनेकौ जबर्जस्ती करमा पर्छन।
– सावित्रा नेपाली सबु पारिजात
बागलुङ
बा ! बाच्ने रहर मर्यो कसरी भनु सफर हरायो ।
स्वर्ग मसानघाटमा बद्लियो अनि घर , हरायो ।
आमा ! तिम्रो साथ छुटेसि प्रेम गर्न जानिन सायद ।
खोज्दैछु ! आफन्तले उपहार दिएको जहर,हरायो ।
फोन आउछ तिमी ठिक छौ? जवाफ उहीँ ठिक छु।
कसरि भनु मानसिक सन्तुलन गुम्यो! असर हरायो ।
बच्चा बन्द कोठामा किन ? एक्लै रुन्छ घरि हास्छ।
अरे मरिसकेको छ उ र पनि भन्छ ठक्कर हरायो।
बाबा मान्छे मरेसि के हुन्छ ? जिवतमा त सबैको हेला।
देखेनौ? स्वार्थ पूरा भएसि खोलिले बिर्सो बगर, हरायो
– प्रिती बस्नेत
दमक, झापा
नबुझ्ने ~मनलाई ~बुझाउॅ ~कहिले सम्म।
मनमा उसको तस्वीर सजाउॅ कहिले सम्म।
एक तर्फ माया लिई बसेको मनले सोच्यो
उनि ~प्रति ~हक ~जताउॅ कहिले सम्म।
न त घर न ठेगाना छ उसको कतै
बैरंग ~चिट्ठी ~पठाउॅ कहिले सम्म।
बग्न छोड़ेनन ऑसुको धारा उसको यादमा,
यसरि ~ नयनलाई ~रसाउॅ ~कहिले सम्म।
जति ~पनि ~लेखे ~उनिलाई ~नै लेखे
उसको यादमा पाना फर्काउॅ कहिले सम्म।
– नीता गुरूंग भाटिया
गुवाहाटी, असम, भारत
बाटो छेकी दियौ तिमिले जादै थिए तिम्रो मन सम्म
मलाई पनि त रहर थियो फेरि फर्किन बचपन सम्म।।
हो यसकारण पनि आज खाडीमा भेडा चराउदै छु
कोहि पुगेन बेरोजगारको समस्या बोकेर सदन सम्म।।
बाबा फलामलाइ सधैं खुकुरीको आकार नदिनुन है
धारिलो भएपछि त फेरि आउँछ आफ्नै गर्धन सम्म।।
परदेशमा गुलामी गरेर दुइचार पैसा कमाउनेहरु पनि
किन आफुलाइ पुर्याए जस्तै ठान्छन् त्यो गगन सम्म
तिमीले म टाढा भएको हेर्न चाहेर संसार छोडेको हुँ
खुसी हुनु अब कहिल्यै सुन्नु पर्दैन मेरो बचन सम्म।।
– उमेश खत्री
केपिलास गढी गा.पा., बाक्सिला, खोटाङ
जून तारा साहित्य समाजद्वारा आयोजित यस कार्यक्रमको ओझेलका खबर डटकम मिडिया पार्टनर रहेको छ।
कार्यक्रमको भिडियो हेर्नुहोस:
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










