Salime Malika Krishi Farm

Awareness Campaign

संघर्षको मैदानबाट उदाएका सर्जक खिमानन्द खरेल र उनको नयाँ कोसेली ‘सिन्दुर शिरैमा’



ओझेलका खबर संवाददाता
५ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: लामो समयदेखि सिंगापुरलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका मेधावी गीतकार तथा लोक सर्जक खिमानन्द खरेलले भर्खरै ‘सिन्दुर शिरैमा’ नामक पन्चेबाजा गीत सार्वजनिक गर्नुभएको छ। यतिबेला बजारमा विभिन्न पन्चेबाजा गीतहरू आउने क्रम जारी रहे पनि खरेलको यो सिर्जनाले छुट्टै मौलिकपन बोकेको छ।

जीवन संघर्ष र पृष्ठभूमि
खिमानन्द खरेलको जीवनको कथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन। एक सामान्य परिवारमा जन्मिएका खरेलले बाल्यकालमै पिताको छत्रछाया गुमाउन पुगे। कलिलै उमेरमा पितृशोक परेका उनलाई एक्ली आमाले अनेकौं हन्डर र ठक्कर सहँदै दु:खजिलो गरेर हुर्काइन्। बाल्यकालदेखि नै अभाव र संघर्षलाई नजिकबाट नियालेका खरेल एक भद्र र सालिन व्यक्तित्वका धनी छन्। जीवनका थुप्रै उतारचढावहरू पार गर्दै रोजगारीको सिलसिलामा सिंगापुर पुगेका उनले परदेशमा रगत र पसिना बगाए पनि आफ्नो कला र गलाको मोहलाई कहिल्यै मर्न दिएनन्।

सांगीतिक यात्रा र सिर्जनाहरू
बाल्यकालदेखि नै लोकसंगीतमा गहिरो रुचि राख्ने खरेलका सिर्जनाहरूमा गाउँघरको माटोको सुगन्ध र आफ्नै जीवनको प्रतिविम्ब पाइन्छ। उनले आफ्नो सांगीतिक यात्राको सुरुवात नै आफ्नै घरको कथाव्यथामा आधारित ‘अभागी आमा’ बोलको गीतबाट गरेका थिए। उनका गीतहरूमा संयोगभन्दा बढी वियोग र जीवनको वास्तविकता झल्किन्छ।

सिंचाई
Forest
Ad.

उनका चर्चित सिर्जनाहरूमा मेची महाकाली, प्यारो मुसिकोट, मगर मेला, कैलाशपति शिवजी आदि पर्दछन्। यी गीतहरूमा नेपालको भौगोलिक विशेषता, धार्मिक आस्था र विछोडका मर्मस्पर्शी भावहरू मौलिक लोकलयमा सुन्न सकिन्छ। पछिल्लो समय उहाँको लोपोन्मुख कौडा भाकाको गीतले दर्शक तथा श्रोताको अत्यधिक माया पाइरहेको छ।

नयाँ कोसेली: सिन्दुर शिरैमा
आफूलाई पूर्ण व्यावसायिक कलाकार भन्न नरुचाउने भए पनि, खरेलले व्यावसायिक कलाकारहरूले भन्दा उत्कृष्ट शैलीमा गीतहरू बजारमा ल्याउने गरेका छन्। यसअघि ‘करङ खोलीमा’ र ‘पारिजातको बोट’ जस्ता पन्चेबाजा गीतहरू निर्माण गरिसकेका खरेलले पन्चेबाजाप्रतिको आफ्नो धित अझै नमरेको भन्दै यसपटक ‘सिन्दुर शिरैमा’ ल्याएका हुन्।

माया पिरतीमा आधारित यो मौलिक पन्चेबाजा गीतमा शब्द सिर्जना स्वयं खिमानन्द खरेलको रहेको छ भने संगीत संयोजन कुशल सहनाईवादक शिशिर परियारले गरेका छन्। उक्त गीत सुमधुर स्वरका धनी लिल सुगम छन्त्याल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सजिएको छ। सुप्रसिद्ध कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको म्युजिक भिडियोमा विमल अधिकारी र सारिका केसीको मुख्य अभिनय रहेको छ।

विगतका सिर्जनाहरू जस्तै यो गीतले पनि दर्शक तथा श्रोताको मन जित्ने र राम्रै माया पाउने कुरामा निर्माण टोली विश्वस्त देखिन्छ।

Awareness by SKF

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो