Smoking Causes Cancer

Awareness Campaign

केही मुक्तककारहरुका मुक्तकहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजद्वारा संकलित केही स्रष्टाहरूका मुक्तकहरु यहाँ दिइएको छ। यि मुक्तकहरु अध्ययन पश्चात प्रतिक्रिया वा सल्लाह सुझावको अपेक्षा गरेका छौँ:

***

म भन्दा धेरै राम्रो सम्पन्न प्रेमी हेर्छौ भने केही भन्दिनँ
मेरो नाम लेखिएको मुटुमा नाम फेर्छौ भने केही भन्दिनँ
म आफ्नो जिन्दगी संग थाकेको एक लाचार मान्छे हुँ
तिम्रो खुसीको निम्ति मेरो गर्दन सेर्छौ भने केही भन्दिनँ
– श्याम कुमार श्रेष्ठ
कमल-४, झापस, दमक

सिंचाई
Forest
Ad.

बाँच्ने आश टुटि जाला मन दुखाएपछि
एकाएक सम्बन्ध फुटि जाला मन दुखाएपछि
कहिलेकाहीं त बुझ्ने कोसिस गर न यार,
हितैको माया छुटि जाला मन दुखाएपछि
– आरुष्का तामाङ
ओखलढुंगा

न त कोही आफ्नो छ यहाँ न कोही अर्को
एक्लै आउने एक्लै जाने भइरहन्छ जमर्को
थाहा हुँदाहुँदै तछाडमछाड गर्न नछोडीकन
दुई दिन बाँचुन्जेल पनि मान्छौ किन झर्को।
– रिता खराल
रुपन्देही

उपहार छ बिहानीकाे शीत तिमीलाई
दिन्छु जनम जनमकाे प्रीत तिमीलाई
तिम्रा लागि हारेरै पनि त बाँच्न सक्छु
हार जति मेरै भागमा जीत तिमीलाई
– हिमरत्न तिमल्सिना
महांकाल-४, कालेश्वर, ललितपुर

उ आफू अगाडी बढ्न खोज्दैछ कसैलाई डर देखाएर
थोत्रा आश्वासन धन , सम्पत्तिको आडम्बर देखाएर
ओहो आफ्नो जालमा पारी सकेछ कयौँ युवाहरूलाई
चिल्ला गाडी सहरमा महल , सपनाका घर देखाएर।
– पारस भट्ट प्यासी
सुदुर पश्चिम (बैतडी)

Awareness by SKF

डाक्टर चाहिने रहेछ धामी चाहिने रहेछ
कसै कसैलाई फेरि हामी चाहिने रहेछ
आफैसँग दिक्क भएर कहाँ जान्छौ तिमी
चितासम्म पुग्न पनि मलामी चाहिने रहेछ
– रत्ना पुन मगर
रुकुम पश्चिम

हिडेर, कहिले वारि, कहिले पारी खोला तर्नुपर्छ।
जुत्ता खोलेर, पाईन्ट माथि सारी खोला तर्नुपर्छ।
गाउँ घरमा,कोही पनि मान्छेहरू,बिरामी भए भने।
अझै डोको,पिठ्युमा,बोकेर भारी खोला तर्नुपर्छ।
– राम रावल सागर
अत्तरिया, कैलाली

सुख दिने अनि दु:ख लिने, को छ र
यहाँ अरूको लागि उभिने, को छ र
महलमा ढुक्क निदाएका छन् मान्छे
परदेशीको दु:ख बुझिदिने, को छ र
– जगत थापा
बझाङ

दुख के हाे खास कस्तो कस्तो पिर जस्तो लाग्छ।
छैन खान गुन्द्रुक डिढाे पनि खिर जस्तो लाग्छ।
धर्तीलाई ओछ्याएर आकाश मैले ओढिरहदा खेरि
यति धेरै गरिब हुनु त मेराे तक्दिर जस्तो लाग्छ।
– सावित्रा नेपाली
बागलुङ

बारम्बार सम्झन उसको~ नाम छोडिएको हुँ,
सोचेको थिएँ गर्छु मुटुमा विश्राम छोडिएको हुँ,
थोरै घमण्ड थोरै सुन्दरताले महान बन्न खोज्ने,
किन गर्नु मैले पनि खुट्टाको सलाम छोडिएको हुँ ।
– नविन बिष्ट
डडेल्धुरा

गीतसँगीत हजुरकाे भएनी, लय मेराे पनि हाे
हजुरकाे जय हुनु भनेकाे विजय मेराे पनि हाे
धनीमानी हुँदैमा सबै चीजबीज अाफ्नाे हुँदैन
घडी हजुरकाे हातमा हुँदा,समय मेराे पनि हाे ।
– सूर्य गिरी
कास्की

कहाँ सम्म पुग्नु छ र निकै हतार,जस्तो लाग्छ।
रित्तो जिन्दगी अनि रित्तो संसार,जस्तो लाग्छ।
यो बौलाएको दुनियाँमा जोडिएका सम्बन्धहरू
एक प्रतिस्पर्धी बजारको व्यापार,जस्तो लाग्छ।
– जनक बिसी बिन्दास
अछाम

म जून बन्छु तिमी घाम बनिदेऊ
कर्मठ जीवनको आराम बनिदेऊ
कोरुँला मायाको हरफ चिट्ठीमा,
यस चिट्ठीको तिमी खाम बनिदेऊ।
– नीता गुरूंग भाटिया
गुवाहाटी, असम, भारत

सधैंभरि त्यहीँ दिन त्यहिँ रात हुने भ‌ए
नफेरिने त्यही एउटै ~~ बात हुने भ‌ए
दुःख पीडा सहनशीलता सबै भ‌इहाल्थे
केटा जस्तै केटि को नि जात हुने भ‌ए।
– अनुप जोशी
बैतडी पञ्चेश्वर

तिम्रै यादमा त्यहाँ हरबखत तड्पिरहेको हुन्छु
सुकेको पात झैं भएर भुइँमा झरिरहेको हुन्छु
म गए तिमी पछ्याउँदै चाडैं आउनु है प्रिया
त्यो बादल पारिको देशमा म पर्खिरहेको हुन्छु।
– उमेश खत्री
खोटाङ

पवित्र छ यो मेरो हृदय अनि यो मन ठिकै छ
जस्तालाई त्यस्तै जवाफ दिने वचन ठिकै छ
म त तिमी सँग प्रेम गर्छु भन्न मात्र खोजेको हुँ
मैले माया गर्दा घृणा गर्छौ भने झन् ठिकै छ
– खगिन रिदम लामा
खोटाङ ईन्द्रेणी पोखरी

खराब छ समय खराब छन् यहाँ मान्छेहरू
दु:खको बेला साथ दिँदैनन् यहाँ मान्छेहरू
पाइला पिच्छे स्वार्थ लुट्ने अभ्यास गर्छन्
गर्दैनन् सत्यको कार्यान्वयन यहाँ मान्छेहरू
– विक्रम तिरूवा सलिन
जुम्ला

देश चलाउने दलालहरूले देश बेचेर खाइसके।
र आफ्नो देशको सीमाना पनि अरुकै बनाइसके
सायद यिनका झोली कहिल्यै भरिएनन् होला त,
पैसामा सिङ्गो देश बेचेर अहिले टन्न अघाइसके।
– मनिषा विश्वकर्मा

गएर पसल, गएर गोदाम काम गर्नपर्छ
नमानी दु:ख, नगरी आराम काम गर्नपर्छ
परदेशमा सुख भन्ने चिज केही छैन आमा
उचाली ईट्टा,उचाली फलाम काम गर्नपर्छ।
– प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत

आमाको थैली भरी होस् या खाली हतार पठाउँछ
चर्को स्वर गरेरै भए पनि बुवासँग बेकार पठाउँछ
यता छोरो पठाउन कै लागि नाकको फुली नै बेचिन आमाले
त्यहा त्यही पैसाले छोरोले प्रेमिकालाई उपहार पठाउँछ।
– सुमन धमला
सिद्धिचरण नगरपालिका-१०, ओखलढुङ्गा

यो मन मुटुमा तिम्रो तस्वीर कहिल्यै टाँस्ने छैन
स्वार्थीको लागि आफ्नो खुसी कहिल्यै माँस्ने छैन
बरु एकान्तमा एक्लै रमाउँछु चाहिँदैन मलाई कोही
मतलबी मान्छेसँग सम्बन्ध कहिल्यै गाँस्ने छैन ।
– प्रयासी प्रविना पौडेल
ओखलढुङ्गा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया