गुल्मी: गुल्मीमा बिदाको दिन शनिबार एक वडा कार्यालयबाट एमाले नेता तथा जनप्रतिनिधिहरुले जस्तापाता बाँडेको छन्।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयबाट बिदाको दिन एमालेले जस्तापाता बाँडेपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन्।
सोही वडाबाट बराङ टोलका केही घरपरिवारलाई भोटको लोभमा जस्तापाता बाँडेपछि आफूहरुले बरामद गरेको काँग्रेस वडा सभापति गुप्त बहादुर कार्कीले जानकारी दिए। उनका अनुसार एमालेले नियतवश बिदाका दिन भोट किन्नको लागि जस्तापाता बाँडेको हो।
स्थानीय तरुण दलका सभापति दिनेश सिंह ठकुरीले यसरी धमाधम एमालेको स्थानीय सरकारले गत केही दिन यता जस्तापाता लगायतका जिन्सी सामाग्री वितरण गरेर भोट किनिरहेको आरोप लगाए । उनले यो जस्तापाता पनि भोट किन्नको लागि बिदाको दिन वडाकार्यालबाट वितरण गर्न लागेकोले आफूहरुले बरामद गरेको बताएका छन्।
यससम्बन्धमा सोही वडाका वडाध्यक्ष तथा एमाले नेता जुक्त बहादुर छन्तेलसँग सम्पर्क राख्दा उनले जस्तापाता वितरण गरेको स्वीकार गरे। उनले भोट किन्न नभई पहिले नाम टिपाएकाहरुलाई जस्तापाता शुक्रबार बितरण गरिएको बताए । स्थानीय घरपरिवारले जस्तापाता आज लगेकोले काँग्रेसले राजनीतिसँग जोडेर बरामद गरेको उनको भनाई छ ।
त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ३ मा आचारसंहितको धज्जी उडाउँदै योजना नै नपरेका मोटरबाटो तथा खेलमैदानमा डोजर चलाउँदै आएका छन्।
यता गुल्मीका निर्वाचन आचारसंहिता अनुगन समितिका संयोजक छबिन्द्र बेल्वासेले जस्तापाता प्रहरी नियन्त्रणमा लिइसकेको र डोजरको बिषयमा उजूरी आएकोले आचारसंहिता उल्लघंन गर्नेलाई कानुनी कार्वाही हुने बताए। उनले अन्यत्र पनि आचारसंहिताको उल्लघंनको उजूरी परेको पनि बताएका छन्।
उनका अनुसार रुरुक्षेत्र गाउँपालिकाका एक कर्मचारीले एमाले उम्मेदवार प्रदीप कुमार ज्ञवालीको प्रचार सामाग्री सामाजिक संजालमा पोष्ट गरेकोले उनलाई स्पष्टीकरण लिएको छ। यता गुल्मीदरबार गाउँपालिकामा एक सरकारी विद्यालयकी शिक्षिकाले काँग्रेसको चुनावी सभामा कार्यक्रम नै संचालन गरेपछि स्पष्टीकरण सोधिएको छ। -जिटिभी नेपाल
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










