सूर्य सुनार, गुल्मी: तिहार नजिकिंदै जाँदा गुल्मीका बजारमा चहलपहल बढ्दै गएको छ। बजारमा विशेष गरी तेल, मैदा लगायतका खाद्यवस्तुको बिक्री वितरण बढेको छ। चाडपर्वको मुखैमा बजारमा सरोकारवाला निकायले अनुगमनलाई तीव्रता दिएका हुन्।
बजार अनुगमनको क्रममा पसलमा साइनबोर्ड नभएको, मूल्यसूची नभएको, बिक्री गर्दा बिल नदिएको, खरिद बिल नभएको, र दर्ता नगरिकन व्यवसाय सञ्चालन गरेको लगायतका त्रृटिहरुमा मात्र भेटिएको अनुगमन टोलीले जनाएको छ।
तम्घासका विभिन्न दैनिक उपभोग्य वस्तुका पसलमा अनुगमन गरिएको थियो । ती पसलमा म्याद गुज्रिएका वस्तु झन्डै ९ हजार सम्मका खाद्यवस्तु फेला परेका छन् । केही पसलहरु बिना दर्ता सञ्चालन भएको रेसुङ्गा नगरपालिकाका प्रशासन शाखा प्रमुख शेर बहादुर कुवँरले बताए। पसलमा म्याद गुज्रिएका वस्तुलाई जफत गरिएको कुवँरले बताए।
सरकारले प्रतिबन्ध लगाएको कृत्रिम फूलका मालाहरु बजारमा बिक्री नगर्न अनुगमन टोलीले सुझाव दिएको छ। बिक्री वितरण गरेको पाइएमा आवश्यक कारबाही गर्ने चेतवानी समेत दिएको छ।
आइतबार रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय गुल्मी, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, पत्रकार लगायतले बजार अनुगमन गरेको हो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |