ओझेलका खबर, गुल्मी। गुल्मीको मदाने गाउँपालिकामा जंगली बदेल धपाउन मकै बारीमा छाडिएको बिजुलीको नाङ्गो तारमा परी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डाल कुमारी खत्री रहेकी छन्।
प्रहरीका अनुसार गत भाद्र २२ गते अपरान्ह करिब ४:३० बजे खत्री आफ्ना ८ वर्षीय नाति अनमोल केसीसँग वडा नं. १ ओख्लेदहस्थित भतिजी बाल कुमारी रावतको घरमा जान भनी हिँडेकी थिइन्। बाटोमा पर्ने ठूलाचौर भन्ने स्थानमा पुगेपछि नातिलाई घर जाउ भनी फर्काइदिएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।
श्रीमती घर नफर्किएपछि श्रीमान् पिम बहादुर खत्रीले भाद्र २४ गते इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए।
खोजतलासका क्रममा भाद्र २६ गते दिउँसो २:५५ बजे मदाने–१ ठूलाचौरस्थित सन्तोष विष्टको कोदो बारीमा उनी मृत अवस्थामा फेला परेकी हुन्।
घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का गर्दा मदाने–१ ओख्ले बस्ने ३० वर्षीय सन्त बहादुर विष्टले मकै बारीमा जंगली बदेल धपाउनका लागि नाङ्गो जि.आई. तारमा बिजुलीको करेन्ट छाडेको र सोही तारमा परेर खत्रीको मृत्यु भएको खुलेको छ।
घटनापछि प्रहरीले करेन्ट छाड्ने सन्त बहादुर विष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ।
घटनाको कानुनी प्रक्रिया र स्थलगत मुचुल्का पश्चात मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी डिएसपी बिरेन्द्रवीर बिश्वकर्माले हामीलाई पठाएको समाचार विवरणमा उल्लेख छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









